coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजार खुले पनि बढेन व्यापार

निषेधाज्ञा खुकुलो बनेपछि चहलपहल बढेको नेपालगन्जस्थित रामलिला मैदान रोड। तस्बिर: गणेश/नागरिक

कोभिड–१९ (कोरोना भाइरस) को जोखिम कम भएपछि बेलाबेला लगाइएको निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा पहलपहल बढ्दो छ। कोरोना भाइरसको प्रभाव नराम्री थेगेको व्यापार भने अझ उकालो लाग्न सकेको छैन। जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ।

कोरोना भाइरसको जोखिम अझै रहेकाले व्यापार हुन नसकेको नेपालगन्ज सेतुबिक लाइनमा व्यापार गर्ने रफिक अहमदले जनाए। उनले मासिक २० हजार रूपैयाँ भाडा तिर्नुपर्छ। तर दैनिक उनको व्यापार एकदेखि दुई हजारसम्म मात्र हुन्छ। उनको उक्त व्यापारबाट हुने आम्दानीले घर खर्च लगाउन त परको कुरो कोठा भाडा तिर्नै मुस्किल छ। ‘दैनिक ५/७ सय आम्दानी हुन्छ,’ उनले भने, ‘उक्त रुपैयाँले भाडा तिर्नै मुस्किल छ।’ 

पहिलाको तुलनामा २५ प्रतिशत व्यापार नभएको भन्दै उनी भन्छन्, ‘सरकारले उचित कार्यक्रम नल्याउँदा व्यापारी ठूलो मारमा परेका छन्।’ सब्नम खातुर पनि दिनभरि पसलमा ग्राहकको प्रतीक्षामा हुन्छिन्। कुनै दिन त ग्राहक नै नआउँदा खाली हात घर फर्किनुपर्छ। ‘बजार खुला छ तर व्यापार बढेको छैन,’ उनले भनिन्, ‘कोरोनाको जोखिमले मान्छे किनमेल गर्न सकेका छैनन्।’ व्यापार नभए पनि लाजले पसल खोल्नु परेको उनी बताउँछिन्। ‘वरिपरिका पसल खुला हुन्छन्,’ उनी भन्छिन्, ‘बीचमा आफ्नो पसल बन्द गर्नु भएन। व्यापारै नभए पनि बाध्यताले खोल्नु परेको छ।’

कोरोना जोखिम कम हुँदै गएपछि स्थानीय प्रशासनले यहाँको निषेधाज्ञा खुकुलो बनाएपछि बजार खुलेका छन्। स्थानीयस्तरमा यातायातका साधन पनि सञ्चालनमा आएका छन्, जसले गर्दा नेपालगन्जमा पहलपहल बढाएको छ। तर व्यापार नहुँदा पनि यहाँका व्यापारीहरु ठूलो मारमा परेका छन्। घरधनीले कोठा भाडा मिनाह तथा सहुलीयत नदिँदा भाडा तिर्न गाह्रो भएको कुस्मान खानले बताए। उनले दैनिकरुपमा १०/२० वटा मोबाइल बिक्री गथ्र्ये। तर अहिले एउटा/दुइटा मोबाइल मात्र बिक्री हुन्छ। लामो समयसम्म पसल बन्द हुँदा ठूलो मारमा परेको उनी बताउँछन्। ‘धेरैपछि पसल खुल्दा व्यापार हुने आशा थियो,’ उनी भन्छन्, ‘तर व्यापार भएन।’ सरकारले सबैलाई खोपको व्यवस्था गरेर कोरोनाको त्रास कम गरे व्यापार वृद्धि हुने उनको भनाइ छ।

बजारमा चहलपहल देखिए पनि व्यवसायमा परेको असर कायमै छ। बाह्य यातायात सञ्चालन नहुँदा पनि व्यापार हुन नसकेको व्यापारीहरु बताउँछन्। ‘बाहिरका मान्छे आउन पाएका छैनन्,’ जामिया खातुरले भनिन्, ‘यहाँका मान्छेले मात्र कति किनमेल गर्नु।’ दैनिक बाह्य व्यक्तिको आवतजावत भयो भने व्यापार चलायमान हुने उनी बताउँछिन्। मान्छे दैनिक उपभोग्य सामान किने पनि अन्य सामग्री भने किनमेल गर्न सकेका छैनन्। अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा फर्किन होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने उनले बताइन्।

प्रकाशित: २७ असार २०७८ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App