६ वैशाख २०८१ बिहीबार
अर्थ

पोखरामा वर्षमा २ लाख ९१ हजार घनमिटर नदीजन्य वस्तु उत्खनन

पोखरा महानगरपालिकाभित्र ठूला र साना ३३ वटा घाट छन्।ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन्। खानी तथा घाट उत्खननको टेन्डरमार्फत महानगरपालिकाले राजस्व उठाउँदै आएको छ। घाटहरूबाट महानगरले वार्षिक २० करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ।  

पोखराका साना तथा ठूला नदी, खोला खोल्सा आम्दानीका स्रोत हुन्। बर्सेनि खोलानाला एवं नदीजन्य वस्तु उत्खननको ठेक्का लगाएर महानगरपालिकाले आन्तरिक स्रोत परिचालन गर्दैै आएको छ। वर्षायामको केही महिना खानी तथा घाट बन्द हुन्छन्। वर्षा कम हुनेबित्तिकै महानगरपालिकाले उत्खननको लागि टेन्डर आह्वान गर्दै आएको छ।  

‘महानगरपालिकाभित्र ३३ वटा साना ठूला घाट छन्,’ पोखरा महानगरपालिकाका वरिष्ठ कर अधिकृत गणेश पाण्डेले भने, ‘घाटहरू नै महानगरको आन्तरिक स्रोत हुन्।’ प्रत्येक दुई वर्षमा प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार गरिन्छ। प्रतिवेदनकै आधारमा महानगरपालिकाले टेन्डर आह्वान गरेर प्रतिवेदनले तोके अनुसार उत्खनन गर्न दिन्छ। ठेकेदार कम्पनीले भने तोकिएको मापदण्डभन्दा बढी नै उत्खनन गर्ने गरेका छन्। नदीजन्य वस्तुको मुख्य स्रोत सेती नदी हो। नदीमा मिसिने साना खोलाबाट पनि नदीजन्य वस्तु उत्खनन हुँदै आएको छ।  

महागनरपालिकाको तथ्यांक अनुसार एक वर्षमा २ लाख ९१ हजार घनमिटर ढुंगा, बालुवा तथा गिटी उत्खनन गर्न सकिन्छ। क्षेत्रगत आधारमा सेती नदीले बनाएको सबैभन्दा ठूलो घाट रामघाट हो। रामघाटबाट वार्षिक ७७ हजार २८० घटमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिने महानगरको भनाइ छ। सबैभन्दा कम उत्खनन गर्न सकिने सेती नदीकै रातोपहिरो घाट हो। रातोपहिरो घाटबाट ६ सय २५ घनमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिन्छ।  

लेखनाथ क्षेत्रमा १२ वटा घाट छन्। पशुपति घाट, पशुपति घुमाउरे घाट, मुसेटुडो सैनिक घाट, सिसौघारी घाट, लामगादी घाट, चमेरे घाट, गढी घाट, तल्लोपुडी घाट, उपल्लोपुडी घाट, रातोपहिरो खोरी घाट छन्। ती घाटहरूबाट ९३ हजार ६ सय ९५ घनमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिने तथ्यांक छ। पोखरा १९ र २५ वडाको सीमा ९ वटा घाट छन्। दुवै वडामा सीमा पर्ने ढाव घाट, मर्दीलस्ती दोभान घाट, दसखेत घाट, तुलसीतारा घाट, पुरन्चौर ढोडिनी घाट, रुद्रमहादेव घाट, सहस्रधारा घाट, गोस्ते लामाचौर घाट छन्। ती घाटहरूबाट ९९ हजार ८८७ घटमिटर उत्खनन गर्न सकिने तथ्यांक महानगरले देखाएको छ।

प्रकाशित: २७ असार २०७८ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App