coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः तोकिएको समय सकियो, विमानस्थल पूरा भएन

एक वर्ष म्याद थप्ने तयारी

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिरः उमेश पुन/नागरिक

निर्माण अवधिमा कुनैखाले अवरोध नआउँदो हो त शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । तर, कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनीले एक वर्ष म्याद थप्नका लागि माग गरेको छ । काममा अवरोध नआएको भए यो विमानस्थल ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य थियो ।  

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म ८१ प्रतिशत काम सकिएको छ । अबको ६ महिनाका काम पूरा हुने र बाँकी तीन महिनामा अरु परीक्षण सकिने हुँदा नौ महिना पर्याप्त हुने भएपनि निर्माण कम्पनीले एक वर्षका लागि म्याद थप्न माग गरेको मुनकर्मीले जानकारी दिए । ‘तोकिएको समयमा विमानस्थल पूरा हुन सकेन । पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्याद थप हुँदैछ,’ उनले भने ।

मुनकर्मीको अनुमानमा अबको ६ महिनामा विमानस्थल निर्माणको सबै काम सकिन्छ । त्यसपछि बाँकी तीन महिनामा परीक्षणका काम हुनेछन् । ‘अबको नौ महिनामा विमानस्थल तयार पार्ने योजना हो । तर निर्माण कम्पनीले एक वर्षका समय माग गरेको छ,’ मुनकर्मीले भने, ‘थोरै समय म्याद थपेर त्यो अवधिमा काम नसकिएमा पुनः थप्नु पर्ने भएकोले अहिले नै एक वर्षका लागि म्याद थप्न कम्पनीले आग्रह गरेको छ ।’ विमानस्थल निर्माण कम्पनीले एक वर्षका लागि म्याद थप्न भनेपनि अहिलेसम्म थपिएको भने छैन । तर म्याद थपको प्रक्रिया अघि बढीसकेको छ ।

उनका अनुसार कोरोनाको तेश्रो लहरको सम्भावना रहेको र फेरि पनि काम रोकिने सम्भावना भएकोले केही बढी समय आवश्यक परेको हो । ‘कोरोना संक्रमणको तेश्रो लहर सुरु भयो भने फेरि काम अवरुद्ध हुने त्रास छ । विमानस्थल निर्माण सुरु भएपछि सोच्दै नसोचेको अवरोध सिर्जना भयो,’ उनले भने, ‘त्यसले गर्दा कामले गति लिन पाएन । अझै पनि काममा अवरोध आउने होकी भन्ने त्रास छ ।’ अवरोध नआएमा अबको नौ महिनाभित्र काम सक्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।  

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो ।

म्याद थपिए पनि २०२२ को सुरुका केही महिनाभित्रै व्यवसायिक उडानमा संचालनमा ल्याउने लक्ष्य पनि रहेको उनले बताए ।  उनका अनुसार अहिलेसम्म विमानस्थल निर्माणको धेरै काम सकिएको छ । भौतिक पूर्वाधार सम्पन्न भईसकेको र अब उपकरण जडान र फिनिसिङको काम मात्र बाँकी छ । त्यसले गर्दा कुनै अप्ठेरो नआएमा ६ महिनाभित्रै काम सकिने अनुमान गरिएको हो । ‘यो बीचमा प्राविधिक आउन सकेनन् । अझैपनि विदेशी प्राविधिकहरु आउन सकेका छैनन्,’ मुनकर्मीले भने, ‘कपितय उपकरण ल्याउन पनि सकिएको छैन । ती उपकरण र प्राविधिक आउन नपाउँदा काम ढिलिएको हो ।’  

उनका अनुसार विमानस्थलका लागि चाहिने उपकरणहरु अमेरिका, अष्ट्रेलिया, चीन लगायतका मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक पनि विदेशी नै हुने र उनीहरु आउन ढिलाई भएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उनले बताए । यो विमानस्थलको निर्माण गति हेर्दा तोकिएको समय भन्दा ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य थियो । तर, कोरोना संक्रमणका कारण एक वर्षदेखि काममा अवरोध हुँदा ढिलाई भएको पदाधिकारीको भनाइ छ । ‘धेरै उपकरण आउनै बाँकी छन् । ती उपकरण जडानका लागि विदेशी प्राविधिक पनि आउनुपर्छ,’ मुनकर्मीले भने, ‘भौतिक पूर्वाधारको अधिकांश काम सकिएको मात्र हो । अरु त बाँकी नै छ ।’  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ । विमानस्थलको अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठुला र ८ आन्तरिक उडानका गरि ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ ।  

वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बन्दैछ । प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।  

विमानस्थल निर्माण सम्पन्न भईसक्दा पनि मुख्य दुईवटा समस्या भने अझै समाधान नभएको आयोजनाका पदाधिकारीको भनाइ छ । अहिले पनि विमानस्थल क्षेत्र हुँदै सिँचाइको पानी बग्ने गरेकोले समस्या थपिनएको मुनकर्मीको भनाइ छ । सिँचाइको पानीका कारण विमानस्थल क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेको छ । सिँचाइ विभागले नहर व्यवस्थापन नगरेको मुनकर्मीको भनाइ छ । त्यस्तै अर्काे समस्या ल्याण्डफिल साइटको छ । विमानस्थल नजिकै अहिले पोखराको फोहर फ्याक्ने ल्याण्डफिल साइट छ । त्यो ल्याण्डफिल साइट अन्यत्रै सार्ने भनेपनि पोखरा महानगरपालिकाले ढिलाई गरेको मुनकर्मीको भनाइ छ । ‘हामीले विमानस्थल निर्माण सक्न थाल्यौ, तर, अरु निकायले असहयोग गर्दा अप्ठेरो परेको छ,’ उनले भने ।

चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।

प्रकाशित: २६ असार २०७८ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App