६ वैशाख २०८१ बिहीबार
अर्थ

मेचीपहाडका ९३ सडक र पुललाई बजेट

तस्बिर: भीम/नागरिक

आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि सदरमुकामस्थित डिभिजन सडक कार्यालयमार्फत् इलाम, पाँचथर र ताप्लेजुङमा ९३ सडक–पुलको निर्माण कार्य हुने भएको छ। संघीय सरकारले विनियोजन गरेको बजेटले कुनै नयाँ निर्माण हुनेछन् भने केही पुराना आयोजनालाई निरन्तरता दिइएको छ। तर, केही महत्वपूर्ण आयोजनालाई भने बजेट नै छुट्टिएको छैन।  

सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, स्थानीय सडक–पुलअन्तर्गत २१, वैकल्पिक सहायक राजमार्ग विकासअन्तर्गत ८, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका ७, राजमार्ग स्तरोन्नति र पुन: स्थापनाका ७ तथा निर्वाचन क्षेत्र रणनीतिक सडकका ३ आयोजनालाई बजेट विनियोजित छ। कार्यालयका अनुसार प्रतिसडक र पुल निर्माण/मर्मतलाई १३ लाखदेखि १४ करोड रुपैयाँसम्म बजेट विनियोजित छ।  

यी जिल्लामा निर्माण भइरहेका केही महत्वपूर्ण सडकलाई बजेट छुट्टिएपनि पर्याप्त छैन। झापाबाट इलाम सदरमुकाम जोडिएको द्रुतमार्गलाई आउँदो वर्षका लागि बजेट विनियोजित छैन। यो सडकले झापाको दुर्गापुरबाट ४७ किलोमिटरमा इलामको गोलाखर्क छुन्छ। मेची राजमार्ग भएर त्यही गन्तव्य पुग्न करिब १ सय किलोमिटर पार गर्नुपर्छ। तर, यो अत्यन्त आवश्यक र महत्वपूर्ण द्रुतमार्गलाई नै बजेट नभएपछि स्थानीयको प्राथमिकताको आयोजना अन्योलमा पर्दैछ। इलाम सदरमुकाम–माइपोखरी–सन्दकपुर सडकलाई पनि २ करोड रुपैयाँमात्रै छुट्टिएको छ। निकै महत्वाकांक्षी मानिएको केचना–कञ्चनजंघा रुटमा यी सडक पर्ने भएपनि बजेट नभएको, छुट्टिएको बजेट पनि पर्याप्त नरहेको कार्यालयले जनाएको छ।    

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँचथरको अमरपुर बजार–हिलिहाङ चोक–मेची राजमार्ग हुँदै जोरपोखरी–पञ्चमुखी लाङलेपा–भारत सीमा सडकलाई १४ करोड र उत्तरे यासोक–लुम्बुघाट–म्याङलुङ सडकलाई १३ करोड रूपैयाँ विनियोजित छ। नवमीडाँडा–फात्तेप–घुर्बिसेपञ्चमी इलाम सडकलाई ८ करोड, पवित्राहाङ्मा मार्ग–थलाचेप्पा–माङमालुङ–गजुरमुखी सडकलाई ५ करोड, सुकिलुम्बा विमानस्थल–गोलाखर्क–सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई–मार्चेबुङ र पाँचथरको मगरचेपा औशीभञ्ज्याङ लुवाफु तीनसिमाना फालोट सडकलाई ४÷४ करोड रुपैयाँ छ। यस्तै, फिक्कल–पशुपतिनगरलाई डेढ करोड तथा मौवा हिलीटार तमोर करिडोर सडकलाई १ करोड रुपैयाँ विनियोजित छ।  

निर्माणाधीन ५५ किलोमिटरको सुकिलुम्बा विमानस्थल–गोलाखर्क–सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई–मार्चेबुङ सडक दमकसँग इलाम सदरमुकाम जोड्ने सबैभन्दा नजिकको मार्ग हो। इलाम गोलाखर्कबाट ६१ किलोमिटरमै दमक पुग्न सकिने यो मार्गमा निर्माणको काम भइरहेपनि बजेट अभावकै कारण सम्पन्न गर्न वर्षाैं लाग्ने देखिएको छ। यो सडकले दक्षिणी इलामका निकै दुर्गम गाउँ र उब्जाउ जमिन छोएको छ।

निर्वाचन क्षेत्र रणनीतिक सडकमा भालुखोप–लक्ष्मीपुर–थाक्ले हुँदै खुदुनाबारी सडक, दशमी–आरुबोटे–सार्केदोभान पुल गुम्बाडाँडा, आत्मानन्द मार्ग–बिहीबारे–गुरुआश्रममार्ग भञ्ज्याङ र बिहिबारेबाट पलासे फुलुंगी गरी ३ सडकलाई १ करोड २० लाख रुपैयाँका दरले बजेट विनियोजित छ। राजमार्ग स्तरोन्नति तथा पुन: स्थापना कार्यक्रममा मेची राजमार्गको फिदिम खण्डलाई ६ करोड, फिक्कल–श्रीअन्तु–बौद्धधाम, इलाम–माइपोखरी–सन्दकपुर, चिहानेडाँडा–ताप्लेजुङ र शुभवखोला अमरपुर डाँडाबाट गणेश चोक सडकलाई २/२ करोड रुपैयाँ छ।  

सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका सबै सडकलाई २४/२४ लाख विनियोजित छ। इन्जिनियर वीरेन्द्रकुमार यादवले भालुखोप–लक्ष्मीपुर–थाक्ले हुँदै खुदुनाबारी पुग्ने सडक निकै महत्वपूर्ण मानिएपनि विनियोजित बजेट अपुग भएको बताए। ‘इलामका केही महत्वपूर्ण मानिएका सडक यो वर्ष पनि पूरा नहुने देखिएको छ,’ उनले भने, ‘बजेट अभावकै कारण महत्वपूर्ण सडक सम्पन्न गर्न समय लागिरहेको छ।’  

रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणमा इलामको सानोमाई–माइपोखरी–सन्दकपुर, काबेली खोला र ताप्लेजुङ जोड्ने सडकलाई १/१ करोड रुपैयाँ छ। यसअन्तर्गतका सडकमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म विनियोजित छ। स्थानीय सडक र पुल निर्माणअन्तर्गत २० लाखदेखि १ करोड रुपैयाँसम्मका योजनामा बजेट छुट्टिएको डिभिजनले जनाएको छ।  

कार्यालय प्रमुख अविमन मुल्मीले इलामको माइखोलादेखि गोलाखर्क भञ्याङ जोड्ने मेची राजमार्गको वैकल्पिक सडकलाई रकम माग गरिएपनि विनियोजित नभएको बताए। मेची राजमार्गको यो खण्ड मर्मतमा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ। तर, सडक धस्सिने र पहिरो जानेक्रम रोकिएको छैन। ३ वर्षअघि ५ करोड रुपैयाँभन्दा बढी खर्चेर ‘रक एंकरिङ’समेत गरी मर्मत भएको यो सडक सुध्रिन नसकेपछि डिभिजनले यसको वैकल्पिक मार्ग बनाउन प्रस्ताव गरेको थियो। ‘डिभिजनले यो खण्डको वैकल्पिक मार्ग बनाउन विभागमा प्रस्ताव पठाएको थियो,’ मुल्मीले भने, ‘तर, बजेटमा त्यो सडक नै परेनछ।’ उनले यो खण्डमा मर्मत सुधार हुन नसक्दा मेची राजमार्गमा सवारी साधन चलाउन समस्या हुनेगरेको बताए।  

प्रमुख मुल्मीले मेची राजमार्गको पर्यटकीय क्षेत्र फिक्कलदेखि हर्कटे खण्ड मर्मत गर्न ५ करोड रुपैयाँको ठेक्का लागेको बताए। ‘जिल्लाभित्रका महत्वपूर्ण सडकलाई सधैं बजेट अपुग हुनेगरेको छ,’ उनले भने, ‘पर्याप्त बजेट आउने हो भने सडक व्यवस्थित बन्छ, बाह्रैमास सवारी साधन चल्नसक्ने अवस्था रहन्छ।’ इलाम सदरमुकामबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सबैभन्दा नजिकको निर्माणाधीन द्रुतमार्ग। केचना–कञ्चनजंघा रुटमा पर्ने यो महत्वपूर्ण द्रुतमार्गलाई आउँदो वर्ष सरकारले बजेट नै छुट्याइएको छैन।  

प्रकाशित: २५ असार २०७८ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App