coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट कुम्ल्याउन एउटै सडकमा वर्षेपिच्छे कालोपत्रे

बजेट सिध्याउन रातीमा गर्दै आएको कामलाई स्थानीयले रोके

स्थानीय र राजनीतिक दलहरुले रातीको समयमा रोकिएको भरतचौक–राजदेबी मन्दिर सडक निर्माणको कार्य।

कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको सडकको निर्माण कार्यलाई स्थानीय र राजनीतिक दलहरुले रोकेका छन्।

वर्षैपिच्छे लाखौं रुपैयाँ खर्च गरे पनि सडक राम्रो नबनाइएको र अहिले पनि सडक निर्माणको नाममा खर्च गर्न लागिएको ९५ लाख रुपैयाँ कमिशनमै भाग बण्डा गर्न लागिएको आरोप लगाउँदै सडकको निर्माण कार्य सोमबार राती रोकिएको हो।

कलैया उपमहानगरपालिकाले कलैयाको मुख्य बजार क्षेत्रमा रहेको भरतचौकदेखि राजदेबी मन्दिर जाने सडकको निर्माणको नाममा वर्षेपिछे सडक बोडको लाखौ बजेट रकम खर्च गर्दै आएको आरोप सविधान सभा सदस्य प्रमोद गुप्ताले लगाए।

३०० मिटर लामो सो सडक निर्माणको नाममा सडक बोर्डको वर्षेनि रकमलाई त्यसमा खर्च गरिँदै आए पनि सडक राम्रो बनाउनुको साटो बजेट रकमलाई कमिशनमै सिध्याउने गरेकोले राम्रो सडक बनाउनको लागि विरोध गरिएको गुप्ताले बताए।

'अहिले पनि त्यही सडकमा सडक बोर्डको ५० लाख र प्रदेश सरकारले दिएको ४५ लाख गरेर ९५ लाख खर्च गरिन लागिएको छ,' गुप्ताले भने।

एकैपटक एउटै सडकमा गुणस्तरकाम गरेर अर्को वर्ष अर्को सडकलाई पनि राम्रो बनाउनुको साटो कलैया उपमहानगरपालिकाले एउटै सडक निर्माणको नाममा बजेट रकमलाई कमिशनको भरमा भागबन्डा गरि रहेको आरोप गुप्ताले लगाए।

राजु दासको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष समेत रहेका शेषनाथ साहलाई कमिशनमा काम गर्न दिएको देखेर नै सडक छेउमा घर भएका स्थानीयहरु त्यसको विरोधमा उत्रेको गुप्ताले बताए।

सडक छेउमा घर भएकाहरुलाई उपभोक्ता समितिमा राख्नुको साटो सडकमा घर नभएकाहरुलाई उपभोक्ता समिति बनाएर ठेकेदार साहलाई काम बेचिएकाे आरोप स्थानीयहरुले लगाएका छन्।

डेढ वर्ष पहिले ठेकेदार शेषनाथ साहले रातीको समयमा राजदेबी मन्दिर अगाडिको सडकमा सडक बोर्डको बजेटको गुणस्तहिन काम गरिरहेको भन्दै वडाध्यक्ष जट्टा शंकर सहनीले सामाजिक संजालमा भाइरल बनाएका थिए।

पहिलाकै जस्तै यस वर्ष पनि ठेकेदार साहले ९५ लाख रुपैयाँ मध्ये ३० लाखको काम गर्ने र बाँकी ६५ लाख कलैया उपमहानगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र प्रदेश सरकार मातहतमा रहेका कार्यालयहरुको कर्मचारीहरुलाई ३० लाख कमिशन दिने र बाँकी रकम आफै राख्ने उदेश्यले उपभोक्त समितिबाट काम कमिशनमा किनेको आरोप स्थानीयहरुले लगाएका छन्।

सडकमा गुणस्तरहिन काम गरेर ९५ लाख रुपैयाँ अनियमिता गर्न लागेको भन्दै गुप्तासँग नेकपाका नेता विनोद साह, माओवादीका नेता मुकेश साह, काँग्रेसका नेता संजय गुप्ता लगाएत स्थानीयहरुले सडकको निर्माण कार्य रोकेका थिए।

कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह सोनारले सोमबार राती सडक निर्माणको विरोध गर्ने समूहहरुलाई मिलाईएको र अब उनीहरुले विरोध नगर्ने बताएका छन्।

पहिला पनि त्यही सडक निर्माणमा लाखौ खर्च गरिए पनि सडक राम्रो किन बन्न नसकेको भन्ने प्रश्नमा अध्यक्ष सोनारले यस बारेमा आफूले धेरै कुरा गर्न नसकिने बताए।

ठेकेदार शेषनाथ साहले उपभोक्त समितिहरुबाट बिकास योजनाहरु किन्ने र त्यस योजनाहरुकाे काम गुणस्तरहिन रूपले गर्दै आएको बारे बारामा चर्चाकै विषय बनेको छ।

प्रकाशित: २२ असार २०७८ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App