coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसी आयोजना पूरा आजदेखि बिजुली उत्पादन

निर्धारित लागतभन्दा ३६ अर्ब बढी र तोकिएको समयभन्दा ६ वर्ष ढिलागरी स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा भएको छ। २०७२ असारभित्र सम्पन्न गर्ने लक्ष्यसाथ दोलखाको लामाबगरमा ११ वर्षअघि सुरु भएको ४ सय ५६ मेगावाटको उक्त आयोजनाले विद्युत् गृहका ६ वटा टर्बाइनमध्ये पहिलो घुमाएर सोमबारदेखि ७६ मेगावाट बिजुली उत्पादन गर्नेछ। उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट सोमबार दिउँसो ४ बजे भर्चुअल माध्यमबाट कम्प्युटरमा माउसको बटम थिचेर दोलखाको लामाबगरस्थित गोंगरमा रहेको भूमिगत विद्युत् गृहभित्रको जेनेरेटर चलाएपछि उत्पादन कार्य प्रारम्भ भएको घोषणा गरिनेछ।

आयोजनाका अधिकारीहरूका अनुसार ६ मध्ये पहिलो टर्बाइन अर्थात् पहिलो युनिटबाट बिजुली निकालिएपछि त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर खिम्ती सबस्टेसन हुँदै धनुषाको ढल्केबर जोड्न सबै संरचना तयारी हालतमा राखिएको छ। बाँकी ५ वटा टर्बाइनसमेत परीक्षण गर्दै क्रमशः विद्युत् उत्पादन गर्दै लगिने र साउन अन्तिम वा भदौ पहिलो सातासम्म ४ सय ५६ मेगावाट उत्पादन गरिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए।

२०६७ सालमा आयोजना निर्माण ठेक्का लागेपछि सिभिल निर्माणतर्फको काम थाल्न सोही वर्षको भदौदेखि सिभिल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो साइटमा खटिएको थियो। तर सरकारले विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा सुरुमै ९ महिना ढिला भएको थियो। २०६७ भदौमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेपछि मात्र आयोजनाको सिभिल निर्माणको काम थालनी भएको थियो।

सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन गरेर ४ भागमा ठेक्का लगाइएको आयोजना सुरुमा २०७२ असारभित्र सक्ने लक्ष्य राखिएको थियो। तर भूकम्प, नाकाबन्दी, मधेस आन्दोलनले ढुवानीलगायत समस्याका कारण देखाउँदै निर्माण सक्ने अवधि २०७५ मा पु¥याइयो। हाइड्रोमेकानिकलतर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्स म्याकोले सामान ढुवानी गर्न नसकेको कारण देखाएर उक्त समयावधिमा समेत कामको गति अघि बढ्न सकेन। 

२०७६ मा भारतीय ठेकेदारको ठेक्का तोड्ने प्रयास सरकारले गरे पनि कूटनीतिक दबाबका कारण ठेक्का नतोडी उसले गर्न नसकेको काम इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार कम्पनी एण्ड्रिज हाइड्रोलाई समेत बाँडेर तत्कालीन ऊर्जा मन्त्रालय नेतृत्वले तामाकोसीमा कामको अवरोध खुलाउन निर्णायक पहल गरेको थियो। निकै जटिल मानिएको र लामो समयदेखि रोकिएको पेनस्टक पाइप जडानको काम सकिएलगत्तै आयोजनाले गति लिएको थियो। २०५६ सालमा अस्ट्रियन नागरिक भूर्गर्भविद् क्रिश्चन उलरले यो आयोजना पत्ता लगाएका थिए। प्राकृतिक बाँध रहेको आयोजनाको समग्र भौगर्भिक अवस्था अत्यन्त राम्रो रहेकाले विद्युत् प्राधिकरणले यसको अध्ययन अघि बढाएको थियो। २०५७ पुसमा विद्युत् प्राधिकरणले आफ्नै स्रोत र लगानीमा यो आयोजनाको सम्भाव्यता अध्ययन थालेको थियो। सोही वर्षको चैतमा प्राधिकरणले विद्युत् विकास विभागमार्फत विस्तृत सम्भाव्यता अध्ययनका लाति अनुमति लिएको थियो।

अध्ययनका सबै प्रक्रिया सकेलगत्तै नर्वे सरकारको १४ करोड लगानीमा २०५९ माघदेखि आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको थियो। नर्वेजियन कम्पनी नरकन्सलटलाई परामर्शदाता नियुक्त गरेपछि उक्त कम्पनीले आयोजनाबाट सुरुमा ३ सय ९ र पछि दुइवटा युनिट थप गरेर ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन सरकारलाई दिएको थियो। प्राधिकरणको तत्कालीन नेतृत्वले यो आयोजना स्वदेशी पुँजीबाटै बनाउने प्रस्ताव अघि सार्दै कार्यदल गठन गरेको थियो।

स्वदेशी लगानीमा यति ठूलो आयोजना बनाउने प्रस्तावलाई तत्कालीन शासकहरूले सुरुमा खिल्ली उडाए। यो आयोजना विदेशी कम्पनीलाई सुम्पिन पटकपटक प्रयास भएको थियो। तर आयोजना निर्माणमा निरन्तर लागेकाहरूको पहलकदमी पछि कर्मचारी सञ्चय कोषले १० अर्ब ऋण र २ अर्ब सेयर गरेर १२ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएसँगै स्वदेशी लगानीको वातावरणको ढोका खुलेको थियो।

आयोजनाको सुरुको लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो। त्यसमा १४ अर्ब ब्याज लाग्ने प्रारम्भिक अनुमान थियो।स्वदेशी लगानीमा आयोजना बनाउन सकिने वातावरण तयार भएपछि प्राधिकरण आफंैले यो आयोजना निर्माणका लागि अपर तामाकोसी हाइड्रोपावर कम्पनी दर्ता गरेर काम अगाडि बढाएको थियो। कर्मचारी सञ्चय कोषसँगै नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानलगायतले आयोजनामा लगानी गर्न सहमति जनाए। सरकारले पनि ११ अर्ब रुपैयाँ आयोजनामा लगानी ग¥यो। ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको आयोजनाको खर्च बढेर दोस्रो पटक संशोधित लागत ५२.५ अर्ब पुग्यो। उक्त लागत ऋणको रकम भएकाले ३२ अर्ब ब्याज लाग्ने र आयोजना सम्पन्न हुने मितिसम्म सबै भुक्तानी सकिँदा ८५ अर्ब रुपैयाँ लाग्ने अनुमान अधिकारीहरूले गरेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको दोलखाको लामाबगर गाउँमा बाँध बाँधेर तामाकोसी नदीको पानीलाई ८ किलोमिटर लामो सुरुङ मार्गबाट लामाबगरकै गोंगरमा निर्मित भूमिगत विद्युत् गृहभित्र खसालेपछि त्यहाँ जडान भएका ६ वटा टर्बाइन घुमाएर ४ सय ५६ मेगावाट बिजुली निकालिनेछ।

‘अर्को युनिट बढीमा दुई सातामै’

सोमबारदेखि पहिलो युनिटबाट बिजुली निकाल्न सुरु गर्ने आयोजनाले ६ दोस्रो युनिट बढीमा दुई साताभित्र सञ्चालन गर्ने तयारी थालेको छ। प्रवक्ता न्यौपानेका अनुसार दुईवटा युनिटको यसअघि नै परीक्षण सकिएकाले बढीमा दुई साताभित्र दुवै युनिटका टर्बाइन घुमाउने लक्ष्य आयोजनाको छ। ‘दोस्रो युनिटको पनि परीक्षण सकिएकाले लगत्तै उत्पादन सुरु गर्नेतिर लागेका छौं’, उनले भने। न्यौपानेले बाँकी ४ वटा युनिटबाट भदौ पहिलो सातासम्म बिजुली निकालिने बताए। त्यसपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ।

प्रकाशित: २१ असार २०७८ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App