coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हेटौंडामा २८ करोड बढी लागतमा अन्तर्राष्ट्रिस्तरको कृषि थोक बजार निर्माण सुरु

वाग्मती प्रदेशको राजधानी हेटौंडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु गरिएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण थालिएको हो।

दुई विगाहा चार धुर जग्गामा निर्माण गर्न लागिएको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहने छ। हेटौंडा ११, थानाभर्‍याङमा निर्माण गरिने कृषि थोक बजारको शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरे।

मुख्यमन्त्री पौडेलले कृषि थोक बजार हेटौंडावासीका लागि गौरवको काम भएको बताए। ‘यहाँ प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र विदेशमा समेत पठाउन सकिन्छ,’ उनले भने, ‘कोल्ड स्टोर्ससहित कृषि सुपरमार्केट निर्माण हुँदा किसानसहित सबैलाई फाईदा हुनेछ।’ उनले कुनैपनि बहानामा कृषि थोक बजार निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले कृषि थोक बजार निर्माणमा मन्त्रालयको तर्फबाट कुनैपनि बाधा हुन नदिने भन्दै समय अगावै निर्माण सकेर पुरस्कार लिन निर्माण कम्पनीलाई आग्रह गरे। कृषि थोक बजार संचालन भएपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाको अपर्याप्तता र अभावको अन्त्य हुने बताईएको छ। साथै, निर्माण भएपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने थोक बजारबाट कृषकहरुले उचित मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय कृषि उपज पाउने पनि दाबी गरिएको छ।

यसैबीच, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले प्रदेशका उत्कृष्ट पाँच किसान छनौट गरी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको छ। नोबेल एग्रिकल्चर फार्म चितवनका कृष्णप्रसाद न्यौपाने पहिलो, एसएस कटफ्लावर नर्सरी काठमाडाैंका अञ्जना आचार्य दोस्रो, लालिगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर चितवनका कृष्ण भण्डारी तेस्रो, एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा चौथो र मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ पाँचौ घोषणा गरिएको थियो। उत्कृष्ट कृषकहरुलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले पुरस्कृत गरेका थिए।

प्रकाशित: १८ असार २०७८ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App