७ वैशाख २०८१ शुक्रबार
अर्थ

आजबाट आन्तरिक हवाई उडान पुनः सञ्चालन

कोरोनाको दोस्रो लहर रोक्ने उद्देश्यको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः सञ्चालनमा आएको छ। निषेधाज्ञाको करिब दुई महिनापछि बिहीबार (आज) देखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदैछ। घरेलुतर्फका नियमित उडान वैशाख २० देखि ठप्प थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेअनुसार देशका विभिन्न गन्तव्यमा हवाई सेवा पुनः सुरु हुन लागेको हो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फ दैनिक ६४ उडान गर्ने निर्णय भएको छ। प्राधिकरणले आन्तरिक उडानका लागि यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एअरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एअरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको हो। सरकारले कुल उडानको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडानको बाटो खोलेको हो। हालको उडान तयारी ट्रंक रुट लक्षित छ।

सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो। कोरोना संक्रमण राजधानीसहित प्रमुख सहरमा अझै रहेकाले हाललाई दैनिक ६४ उडान मात्रै सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सरकारको पछिल्लो निर्णय अनुरूप उडानका लागि देशभरका विमानस्थल तयारी अवस्थामा छन्। सुरक्षित हवाई उडानका लागि विमानस्थल क्षेत्रभित्र भीडभाड कम गरिनेछ भने यात्रु छोड्न जानेले समेत अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै, विमानस्थलमा भौतिक दुरी कायम राख्न, टिकट काउन्टरको व्यवस्थापनमा ध्यान दिन तथा जहाजसम्म पुग्दा र जहाजबाट बाहिरिएपछि ब्यागेज ह्यान्डलिङ क्षेत्रसम्म अपनाउनुपर्ने मापदण्डबारे सचेत रहन विमानस्थल कार्यालयको आग्रह छ।

स्वास्थ्यलाई नै प्रमुख आधार बनाएर सेवा सञ्चालनमा आउने भएकाले विमानस्थल र विमान कम्पनीले उडान निर्देशिका अनुसार यात्रुलाई मापदण्डको आधारमा मात्र सेवा दिनुपर्ने कार्यालयले जनाएको छ। संक्रमणको जोखिम कम गर्न देशभरका विमानस्थलमा सामाजिक दुरी कायम राख्न मार्किङ, सरसफाइ तथा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तयार पारेको मापदण्ड अनुसारको संरचना तयार भइसकेको प्राधिकरणकोे भनाइ छ। यात्रु मात्रै नभई विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षा कर्मचारीले समेत संक्रमणरहित उडानको लागि सजग रहनुपर्नेमा प्राधिकरणले जोड दिएको छ।  

हवाई यातायात सञ्चालनका लागि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका चेक–इन काउन्टर, स्टेराइल हल, अध्यागमन हल, काउन्टर, यात्रु ओसार्न प्रयोग हुने सवारी लगायत क्षेत्रमा विशेष सतर्कता अपनाइएको उसको दाबी छ।

अन्तर्राष्ट्रितर्फ सातामा २१ उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रियतर्फ सातामा २१ वटा नियमित उडानको अनुमति दिएको छ। प्राधिकरणले सार्वजनिक गरेको जुलाई महिनाको स्वीकृत तालिका अनुसार बिहीदेखि अन्तर्राष्ट्रितर्फ प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडानले अनुमति पाएका हुन्।

मन्त्रिपरिषद्ले दिएको स्वीकृति अनुसार भारत, कतार, युएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि उडान अनुमति दिइएको हो। नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको नेपाल एअरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालम्पुर र जापानको नारितामा उडान गर्नेछ। त्यस्तै, हिमालय एअरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालम्पुरमा उडान अनुमति पाएको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एअरवेज, सलाम एअर, एअर इन्डिया, फ्लाइ दुबई, जजिरा एअरवेज, टर्किस एअर र मालिन्दो एअर छन्।

प्रकाशित: १७ असार २०७८ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App