७ वैशाख २०८१ शुक्रबार
अर्थ

चाँडो वर्षाले धानको बिउ गल्यो,पर्सामा मात्र २५ प्रतिशत रोपाई

पर्साको धोबिनीमा रोपाईको लागि खेत तयार गर्दै किसान। तस्बिर: रितेश /नागरिक

विगतमा धान रोपाइँका लागि आकाशबाट कहिले पानी पर्ला भनेर पर्खने किसान यसपटक भने चाँडै पानी परेर हैरान भएका छन्। धान रोपाइँका लागि पर्याप्त पानी छ, तर बिउ तयार छैन। साबिकभन्दा पहिले नै पानी परेर बिउ तयार हुनमा समस्या भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताए। बढी मात्रामा पानी परेपछि बिउको विकासमा असर परेको र रोपाइँको बेला परेको पानीको सदुपयोग हुन नसकेको उनले बताए।  

तराईका अरू जिल्ला जस्तै धान पर्साको मुख्य बाली हो। जिल्ला कृषि ज्ञान केन्द्रको रेकर्ड अनुसार पर्सा जिल्लामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ। समान्यतया यसको लागि जेठमा ब्याड तयार गरेर किसानले बिउ राख्छन्। आसारको पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ । जिल्लामा सरकारी योजनाका सिँचाइका कार्यक्रमहरू भए पनि ती सबै प्रभावकारी नहुँदा किसान आकाशे पानीको भरमै मुख्य रूपमा खेती गर्ने गर्छन्। यसपालि आकाशे पानी अगाडि नै परेर अवस्था फेरिएको कृषिविज्ञ र किसानको भनाइ छ।

मौसमचक्रमा बदलाव

किसानको अनुभव र कृषि ज्ञान केन्द्र कार्यालयको रेकर्ड अनुसार मौसम चक्र अलि बदलिएको छ। यहाँका किसानले वैशाखमा खेत जोतेर त्यसका झारपात घामले सुकोस् भनेर छाड्ने गर्छन्। जेठमा घाम लागेर खेतको माटो डढ्नु पर्छ भन्ने मान्यता छ। सुकेका माटोका डल्लामाथि पर्ने चिसो पानीले उक्त माटो गलाएर मुलायम बनाउछ। आधा जेठपछि एकातिर बिडमा बिउ हालेर स्याहार्न सुरु हुन्छ भने अर्कोतिर खेतको आली दुरुस्त पार्ने, जोताइ र सम्याइ लगायत तयारीमा किसान ब्यस्त हुन्छन्। असारे पानी परेपछि रोपाइँ गर्ने चलन छ । यसपालि त्यसो हुन सकेन।  

‘पानी सुरुमा चाहिएजस्तै पर्‍यो। तर बिउ राखेपछि जरामा हल्का चिसो माटो हुनुपर्छ माथिबाट घाम पनि लाग्नु पर्छ, माटो बढी गिलो भयो भने बिउ उम्रिदैन,’ पर्सा, बेल्वाका अगुवा किसान नवलकिशोर झाले भने, ‘यसपालि अहिले मज्जाले पानी परेको छ। तर बिउ नै तयार छैन। कारण के हो भने बिउ राखेलगत्तै पानी परिदियो, ब्याडमा बिउ राम्ररी हुर्किन सकेन। मेरो धान रोपाइँ अरू वर्ष यतिखेर धुमधाम हुन्थ्यो, यसपालि सुरु पनि भएको छैन । दुई–तीन दिनभित्र रोपाइँ सुरु गर्ने सुरसारमा छु।’  

यसपालि धानको बिउको विकास राम्ररी हुन नपाएर किसानलाई बिउ अपुग हुने उनले ठोकुवा गरे। ‘अलि अगाडि नै बिउ राखेका किसानले यसपालि बाजी जितेको र मौसमको फाइदा लिन सकेको’ उनले टिप्पणी गरे।  

कृषि ज्ञान केन्द्र पर्साका बालीविज्ञ अधिकृत सुरेन्द्रप्रसाद चौरसियाका अनुसार पर्सामा अहिले करिब २५ प्रतिशत मात्र रोपाइँ भएको छ। यसमा जिल्लाको उत्तरी भेगमा रोपाइँ प्रतिशत बढी भएको र असारको मध्यमा दुई–तीन दिनभित्र दक्षिणी भेगमा पनि रोपाइँले गति लिने उनले बताए। ‘पानी अलि चाँडो परेको हो भनेर भन्नुपर्छ रोपाइँ ढिलो भएको चाहिँ होइन,’ चौरसियाले भने, ‘बिउमा पानीको मार नपरेको भए, यतिखेर रोपाइँमा किसानलाई भ्याइनभ्याई हुन्थ्यो।’ चौरसियाका अनुसार केही दिनभित्र बिउ पनि तयार हुन्छ। उनले भने, ‘पानी परेकै छ, समस्या नहोला।’  

प्राविधिकका अनुसार अधिकतर धान रोपाइँ असारभित्र सकिन्छ । होचो सतहका खेतमा भने हरेक वर्ष किसानले बर्षात एकदमै ठप्प भएपछि मात्र रोपाइँ गर्छन्। नभए रोपाइँ भएको धानबाली पानीले गल्ने जोखिम हुन्छ। त्यस्ता खेतमा स्वाभाविक रूपमा ढिलो गरी अर्थात असारपछि रोपाइँ हुने प्राविधिकले बताए।

प्रकाशित: १५ असार २०७८ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App