१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँ योजना र कार्यक्रम नगन्य

कोभिड–१९ को महामारी चलिरहेका बेला स्थानीय सरकारले नयाँभन्दा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याएका छन्। केही स्थानीय तहले चाहिँ चुनौती झेलेर नयाँ कार्यक्रम ल्याएका छन्। तर ज्यादै थोरै संख्यामा।  

स्थानीय तह गठन भएको करिब ३ वर्ष नयाँ कार्यक्रम र योजना ल्याउन स्थानीय सरकारबीच प्रतिस्पर्धा नै चलेको थियो। तर आउँदो वर्षका लागि ल्याइएको बजेटमा नयाँ योजना र कार्यक्रम नगन्य छन्। सबै स्थानीय तहले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्।  

असार ५ मै साढे ८५ करोड रूपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको देउमाई नगरपालिकालाई नगरसभाले ‘अपांगमैत्री’ घोषणा गर्‍यो। अपांगता भएर पनि भत्ता नपाउने पहेंलो कार्ड भएका व्यक्तिलाई नगरले मासिक ५ सय रूपयाँ भत्ता व्यवस्था गरेको छ। नगरले तेस्रोलिंगी र ४५ वर्षभन्दा माथिका अविवाहित व्यक्तिलाई मासिक १ हजार रूपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको छ। कोभिड संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई ५० हजार रूपैयाँ राहत दिने र सिद्धिथुम्काको खान्द्रुङ माध्यमिक विद्यालयमा विज्ञान पठनपाठनको कार्यक्रम ल्याएको नगरले जनाएको छ।  

मेयर सूर्य पोख्रेलले आउँदो वर्षलाई नयाँ कार्यक्रमको संख्या बढाउनेभन्दा पुरानैलाई निरन्तरता दिएको बताए। ‘एकातिर कोभिड–१९ को महामारी छ, अर्कातिर नगरमा निरन्तरता दिनुपर्ने धेरै योजना छन्,’ उनले भने, ‘त्यसैले आउँदो वर्षलाई नयाँ योजना थोरै छन्, पुराना धेरैलाई निरन्तरता दिइएको छ।’

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले आउँदो वर्षका लागि १ अर्ब २१ करोड ३५ लाख रूपैयाँको बजेट पारित गरेको छ। नगरले आउँदो वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने भएको छ। स्नातक तह (बिएस्सी) एग्रिकल्चर पढाइ हुने क्याम्पसका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिने प्रक्रिया सुरु भएको नगरले जनाएको छ। पर्यटन प्रवद्र्धनका लागि पुवाखोलामा बञ्जी जम्प निर्माण गर्ने नयाँ योजना ल्याइएको छ। कृषि क्षेत्रको उन्नति र विकासका लागि नगरले ‘१ वडा १० कृषि स्नातक’ कार्यक्रम पनि ल्याएको छ।  

मेयर महेश बस्नेतले नगरको दायित्व धेरै भए पनि स्रोत कम भएको बताए। ‘तर, कोभिड महामारी जारी नै रहेपनि नागरिकमा आशा सञ्चार गर्ने खालको नीति, कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘नयाँ कार्यक्रम थोरै भए पनि पुरानाकै निरन्तरताले इलाम नगरलाई आउँदो वर्ष एउटा खुट्किलो माथि पु¥याउने आशा छ।’  

पूर्वी पहाडकै ठूलो सूर्योदय नगरपालिकाले १ अर्ब २९ करोड ९१ लाख रूपैयाँको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ। मेयर रणबहादुर राईले कृषि, पर्यटन र पूर्वाधार बजेट केन्द्रित रहेको बताए। ‘ऐतिहासिक करफोक विद्यामन्दिरलाई नगरको शान बनाउने लक्ष्यअनुसार आउँदो वर्षमै ४ करोड रूपैयाँभन्दा बढी लगानी गरिनेछ,’ उनले भने, ‘भौतिक र शैक्षिक सुधार गरी करफोकलाई नगरका सबै विद्यार्थीको आकर्षणको केन्द्र बनाइनेछ।’ आउँदो आर्थिक वर्षमा गुरुयोजनाअनुसार नगरका १ सय ५८ वडास्तरीय र नगरस्तरीय सडक स्तरोन्नति/कालोपत्रे गर्ने योजना रहेको उनले जनाए। नगरले यसअघि सुरु भएका ठूलो लगानीका महत्वपूर्ण योजनालाई निरन्तरता दिएको जनाएको छ।  

माई नगरपालिकाले आउँदो वर्ष स्नातक तहसम्मको शिक्षा नै निःशुल्क गरेको छ। स्थानीय गरुवा बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउँदै यहाँ अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क शिक्षा दिने नगरले जनाएको हो। वार्षिक २ सय मन (प्रतिमन ४० किलो) धान तथा १ सय मन मकै उत्पादन गर्ने किसानलाई २० हजार नगदसहित पुरस्कृत गर्ने र सजिवनलाई पकेट क्षेत्र बनाएर खेती प्रवद्र्धन गर्ने कार्यक्रम पनि नगरको छ। मेयर दीपक थेबेले पशु र बाली बिमाको कार्यक्रम पनि ल्याएको जनाए। नगरले आउँदो वर्षका लागि ६७ करोड ३४ लाख रूपैयाँको बजेट ल्याएको छ।  

सन्दकपुर गाउँपालिकाले ४० करोड ४६ लाख रूपैयाँको बजेट ल्याउँदा खासै नयाँ योजना र कार्यक्रम नराखेको अध्यक्ष उदय राईले बताए। ‘यो वर्ष नयाँ योजना र कार्यक्रमको प्रस्ताव नै आएन,’ उनले भने, ‘पुराना योजना नै सञ्चालन गरी अघि बढ्छौं।’  

चुलाचुली गाउँपालिकाले ४८ करोड ५१ लाख रूपैयाँको बजेट ल्याउँदा कृषिलाई प्राथमिकता दिएको छ। अध्यक्ष प्रदीपचन्द्र राईले किसानलाई सहयोग गरी खाद्यान्न उत्पादन बढाउने कार्यक्रममा जोड दिएको बताए। माङसेबुङ गाउँपालिकाकाले ४० करोड ५१ लाख र माइजोगमाई गाउँपालिकाले ४६ करोड ८ लाख रूपैयाँको बजेट, नीति तथा कार्यक्रम ल्याएका छन्। यो वर्ष कोरोना महामारीको चपेटामा परेका कारण नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको जनप्रतिनिधि बताउँछन्। चालू वर्षमा कोरोनाका कारण दर्जनौं योजना र कार्यक्रम स्थगित गरेका स्थानीय तहले तिनै योजना कार्यान्वयनमा आउँदो सालको बजेट लगानी गर्दैछन्।

प्रकाशित: १४ असार २०७८ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App