७ वैशाख २०८१ शुक्रबार
अर्थ

भटमासको तेल निर्यात चार गुणा बढ्यो

नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ।  पोहोरको जेठसम्म १० अर्ब १३ करोड रूपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएकोमा चालु आवको जेठसम्म ४२ अर्ब ३४ करोड रूपैयाँको भटमास तेल निर्यात भएको हो। स्वदेशमा कच्चा पदार्थ उत्पादन नभए पनि विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँका उद्योगले प्रशोधन गरी निर्यात गरेका हुन्।  

यहाँका तेल उद्योगीले ब्राजिल, अर्जेन्टिना, सिंगापुर, मलेसिया लगायत मुलुकबाट भटमासको कच्चा तेल आयात गरेर प्रशोधन गरी निर्यात गरेका हुन्। मुलुकबाट निर्यात हुने प्रमुख हिस्सा भटमासको तेलले ओगटेको छ। चालु आवमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा सबैभन्दा ठूलो हिस्सा (४२ अर्ब ३४ करोड) भटमास तेलको रहेको छ।

विगतमा नेपालबाट निर्यात हुने प्रमुख वस्तु प्रशोधित पाम आयलमा भारतले प्रतिबन्ध लगाएपछि भटमास तेल निर्यात ह्वात्तै बढेको हो। विदेशबाट कच्चा पदार्थ आयात गरेर निर्यात गर्ने भएकाले त्यसको धेरै लाभ नेपालले लिन सक्दैन।नेपालबाट भटमासको तेल निर्यात भए पनि यहाँका उपभोक्ताले प्रयोग गर्न तेल विदेशबाट आयात हुन्छ। यहाँका उद्योगले विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने गरेका हुन्। कच्चा पदार्थबाट प्रशोधन गरेर बिक्री गर्दा केही मूल्य थप भए पनि यसमा नेपालले धेरै लाभ लिन भने सकेको छैन।  

भटमास खेतीको नेपालमा प्रचूर सम्भावना भएकाले स्वदेशमै कच्चा पदार्थ उत्पादनमा ध्यान दिनुपर्ने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। यहाँको उत्पादनले स्वदेशमा खाने तेलको माग पनि धान्दैन। स्वदेशी कच्चा पदार्थ उत्पादन गरेर निर्यात गर्न सके व्यापार घाटा घटाउन मदत सरोकारवाला बताउँछन्। कच्चा पदार्थ स्वदेशकै प्रयोग गर्न सके मुलुकले धेरै लाभ लिने कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। ‘स्वदेशमा भटमासको उत्पादन वृद्धि गरेर तेल निर्यात गरे व्यापार घाटा कम गर्न सकिन्छ,’ कार्कीले भने, ‘तेलजन्य बालीको उत्पादनमा प्रोत्साहन गरे पनि अपेक्षित रूपमा खेती विस्तार हुन सकेको छैन।’

खाने तेलको मूल्य घट्न थाल्यो 

अन्तर्राष्ट्रिय बजारको प्रभावले निरन्तर बढेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेपछि यहाँ उद्योगीले मूल्य घटाउन सुरु गरेका छन्। तेल उत्पादकले तेलको मूल्य प्रतिलिटर १५ देखि ३५ रूपैयाँ घटाएर प्याकेजिङ सुरु गरेका छन्।  

उद्योगीले मूल्य घटाएको बताए पनि उपभोक्ताले सस्तोमा किन्न पाएका छैनन्। बजारमा पुरानो स्टक भएकाले मूल्य घट्न केही समय लाग्ने वाणिज्य विभागले जनाएको छ। ‘तेल उद्योगले अधिकतम खुद्रा मूल्य घटाएको जानकारी दिएका छन्,’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘केही दिनमा त्यसको प्रभाव बजारमा पनि देखिन्छ।’ मूल्य घटाउने जानकारी विभागलाई गराएको उनले बताए। उद्योगदेखि बजार हुँदै उपभोक्तासम्म पुग्ने बजार चक्र छ। उद्योगले मूल्य घटाएको उत्पादनको बिक्रेतासम्म पुग्न केही समय लाग्ने भएकाले बजारमा प्रभाव नदेखिएको विभागको तर्क छ। उद्योगबाट होलसेर हुँदै बिक्रेताको पुग्दा करिब दुई साता लाग्ने बताइन्छ। पुरानो स्टक भने पुरानै मूल्यमा बिक्री हुन्छ।  

किराना व्यवसायी प्रमोद न्यौपानले मूल्य घटेको जानकारी आएको तर घटेको मूल्यको तेल आफूकहाँ नआएको जानकारी दिए। ‘लिटरमा पाँच रूपैयाँ मूल्य घटेको जानकारी आएको छ,’ न्यौपानेले भने, ‘पुरानो खरिद भएकाले पुरानै मूल्य अनुसार बिक्री गरेका छौं।’ कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खानेतेलको मूल्य अचाक्ली बढाएका थिए। एक वर्षमा खानेतेल लिटरमा सय रूपैयाँभन्दा धेरैले महँगिएको थियो। भटमास तेलको मूल्य बढेर लिटरको दुई सय २० देखि दुई सय ३० रूपैयाँसम्म पुगेको छ। तोरी तेलको मूल्य लिटरको तीन सय २५ देखि ३० रूपैयाँसम्म छ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघले खानेतेल उद्योगका लागि चाहिने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले खरिद मूल्य बढ्दा तेलको भाउ बढाउने र घट्दा घटाउने जनाएको छ। तेलको मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आयात हुन्छ। कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारवाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालले मूल्य निर्धारण हुने संघको दाबी छ। कोरोना महामारीका कारण तेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि भएको थियो।

प्रकाशित: १३ असार २०७८ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App