७ वैशाख २०८१ शुक्रबार
अर्थ

उदयपुरका ८ मध्ये ७ स्थानीयतहले बजेट ल्याए

त्रियुगाको १ अर्ब १८ करोड, ताप्लीको ३३ करोड

लिमचुङुङको गाउँसभा उद्घाटन गर्दै अध्यक्ष मेजरकुमार राई।

असार १० भित्र स्थानीयतहहरुले अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी प्रावधान अनुसार यहाँका ८ मध्ये ७ वटा स्थानीयतहले आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रम बिहीबार प्रस्तुत गरेका छन्। कटारी नगरपालिकाले भने विशेष कारण देखाएर बजेट प्रस्तुत गरेन।

उदयपुरका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी, रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकाले निर्धारित समयमा आर्थिकवर्ष ०७८/७९ को बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। केही स्थनीयतहको बजेट बजेट बिहीबारकै गाउँ/नगर सभाबाट पारित भएको छ भने केहीको निरन्तरता दिनेगरी स्थगत भएको छ।  

जिल्लाका ३ नगर र ४ गाउँपालिकाले कुल ४ अर्ब ५७ करोड १६ लाख ३२ हजार ४० रुपैंयाको बजेट ल्याएका छन्। सबभन्दा बढी बजेट त्रियुगा नगरपालिकाले १ अर्ब १७ करोड हाराहारी ल्याएको छ। त्यस्तै चौदण्डीगढीले ७५ करोड हाराहारी र बेलकाले ७० लाख हाराहारी ल्याएको छ।  त्यस्तै उदयपुरगढी गाउँपालिकाले ६६ करोड, रौतामाईले ५२ करोड, लिमचुङबुङले ४२ करोड र ताप्लीले ३३ करोडको बजेट ल्याएका छन्।  

सबैजसो स्थानीयतहले संघबाट प्रापत हुने राजश्व बाँडफाट, बित्तीय समानीकरण, विशेष अनुदान र सम्पूरक बजेटलाई मुख्य आयस्रोत मानेका छन्। त्यसैगरी प्रदेश अनुदानलाई पनि आम्दानी मानेका स्थानीयतहहरुले आन्तरिक आयतर्फलाई पनि स्रोतको प्रक्षेपण गरेका छन्। नगरपालकाहरुको आन्तरिक आयस्रोत मुख्यगरी ढुंगा, गिटी बालुवाजस्ता नदीजन्य पदार्थको अपेक्षा गरेका छन् भने गाउँपालिकाहरुको आन्नरिक आय लगभग नगन्य छ।  

त्रियुगाले नदीजन्य पदार्थ, एकीकृत सम्पत्ति कर, घरनक्शा पास, जग्गा रजिस्ट्रेसन, वन पैदावार, घर बहाल कर, विज्ञापन करलगायत आन्तरिक आय ९ करोड अनुमान गरेको छ। चौदण्डीगढी र बेलकाले पनि त्यही शीर्षकलाई आन्तरिक आय मानेका छन्। तर, उदयपुरगढी र रौतामाईले नदीजन्य पदार्थलाई सामान्य आयस्रोत मानेका छन् भने गाउँपालिकाहरुको सामान्य आन्तरिक आय मालपोतलाई मान्नुबाहेक अन्य भरलाग्दो स्रोत केही देखिदैन।  

त्रियुगाको १ अर्ब १८ करोड

सबभन्दा ठूलो बजेट प्रस्तुत गर्ने सदरमुकामको त्रियुगा नगरपालिकाले १ अर्ब १७ करोड ९६ लाख ९४ हजार ४ सय ५० रुपैंयाको बजेट ल्याएको छ। निर्माणाधीन मदन भणडारी सभाभवनको हलमा आयोजित नगरसभामा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले प्रस्तुत गरेको बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ५२ करोड ८० लाख, विशेष अनुदान २ करोड ४९ लाख, सम्पूरक अनुदान १ करोड ५६ लाख, बित्तीय समानीकरण २२ करोड २५ लाख अनुमान गरिएको छ।  

त्यस्तै, राजश्व बाँडफाडबाट १६ करोड १४ लाख ४६ हजार, आन्तरिक कोषबाट ९ करोड ७० लाख आय हुने अनुमान गरिएको छ भने प्रदेशसभाबाट समानीकरण १ करोड ३२ लाख ५९ हजार र प्रदेश सवारी साधन कर १ करोड ७२ लाख ७९ हजार ९ सय ५० रुपैंयालाई नगरले वार्षिक आयस्रोतको प्रक्षेपण गरेको छ।  

त्रियुगाले १६ वटा सबै वडाहरुलाई समान समान १ करोड २० लाखका दरले २० करोड रकम बिनियोजन गरेको छ। प्रत्येक वडाले पाउने १ करोड २५ लाखमध्ये २५ लाख नगरपालिकाले निर्धारण गरेको पूर्वाधार शीर्षकमा बिनियोजन गर्नुपर्ने सर्त राखेको छ भने बाँकी १ करोडबाट ऐलानी जग्गा व्यवस्थापन, बिपत, शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, महिला, आदिबासी जनजाति, एकल महिला, बृद्धबृद्धा तथा बालबालिका, पर्व महोत्सव, अपांगता, कृषि र पशुपालनलगायत विषयमा खर्च गर्नुपर्ने नीति लिइएको मेयर चौधरीले बताएका छन्। चौदण्डीगढीले ल्यायो पौने ७५ 

करोडको बजेट  

अर्को नगरपालिका चौदण्डीगढीले ७४ करोड ७१ लाख ९५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेको छ। उपमेयर रीताकुमारी चौधरीले प्रस्तुत गरेको वार्षिक बजेटमा सशर्त अनुदानतर्फ ३१ करोड ९३ लाख, विशेष अनदान १ करोड २५ लाख, संघीय सरकारको समानीकरण १५ करोड ६ लाख, राजस्व बाँडफाट ५ करोड ७२ लाख ८१ हजार प्रक्षेपण गरिएको छ।  

अन्य आयतफै प्रदेश सरकारको समानीकरण ८७ लाख ६९ हजार, सवारी साधन कर १ करोड ६७ लाख १४ हजार छ। आन्तरिक आयतर्फ प्राकृतिक श्रोतसाधन नदीजन्य पदार्थ उत्खननबाट १ करोड ६० लाख, घरजग्गा रजिष्ट्रेसन शुल्क १ करोड र अन्य आन्तरिक आय १ करोड ९० लाख अनुमान गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए।  

वार्षिक नीति कार्यक्रममा चौदण्डीगढीले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, महिला तथा बालबालिका, युवा तथा खेलकुद र पूर्वाधारतर्फ जोड दिएको छ। बिपद व्यबस्थापन, आयआर्जन र रोजगारमुलक कार्यक्रममा पनि वार्षिक बजेटमा प्राथमिक्तामा राखिएको मेयर राईले बताएका छन्।  

बेलकाको बजेट पौने ७० करोड

जिल्लाको कान्छो नगरपालिका बेलकाले बिहीबारै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममा ६९ करोड ७६ लाख ४५ हजारको वार्षिक आयव्यय प्रस्तुत गरिएको छ। बेलकाले पनि संघीय र प्रदेश अनुदानलाई नै मुख्य आयस्रोत मानेको छ भने आन्तरिक आयतर्फ नदीजन्य पदार्थलाई मुख्य स्रोत मानेको छ।    

उदयपुरगढीले ल्यायो ६६ करोड 

उदयपुरगढी गाउँपालिकाको वार्षिक आयव्यय ६६ करोड ७ लाख १० हजार ५ सय ७० रुपंैयाको प्रस्तुत भएको छ। गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले प्रस्तुत गरेको बजेटमा पनि आम्दानीतर्फ संघीय सरकार र प्रदेशबाट प्राप्त हुने अनुदानलाइ नै मानिएको छ।  

संघबाट आउने सशर्त अनुदान २५ करोड ४३ लाख, बित्तीय समानीकरण १६ करोड ४ लाख, राजश्व बाँडफाट ९ करोड ५८ लाख ३३ हजार र आन्तरिक आयतर्फ ७० लाख अनुमान बजेटमा गरिएको छ। त्यस्तै प्रदेशतर्फ राजश्व बाँडफाट ५२ लाख ८२ हजार ५ सय ७०, सशर्त ३३ लाख ३७ हजार, वित्तीय समानीकरण ९५ लाख ५८ हजार, सम्पूरक १ करोड रकमलाई गाउँपालिकाले मुख्य आयस्रोत मानेको छ।  

प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीका अनुसार गाउँपालिकाले खर्चतर्फ म्याचिङ फन्ड १ करोड ५० लाख, पूर्वाधार विकासतर्फ ९ करोड ४ लाख ५८ हजार, सामाजिक विकासतर्फ ४ करोड, आर्थिक विकास २ करोड र सुशासन तथा संस्थागत विकासतर्फ १ करोड ५० लाख बिनियोजन गरेको छ।  

रौतामाईको बजेट ५२ करोड

त्यसैगरी रौतामाई गाउँपालिकाले ५२ करोड ३३ लाख ८ हजार ९ सय ६० रुपैंयाको वार्षिक बजेट प्रस्तुत गरेको छ। गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम बिहीबारकै गाउँसभाले पारित गरेको जनाइएको छ।  

लिमचुङबुङले ल्यायो ४२ करोडको बजेट  

बिकट गाउँपालिका भनेर चिनिने लिमचुङबुङले ४२ करोड ८० लाख २१ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ। ‘समृद्ध लिमचुङबुङको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले प्रस्तुत गरेको बजेटमा संघीय सरकारको सशर्त अनुदान १४ करोड ६३ लाख, राजश्व बाँडफाट ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान २ करोड ४९ लाखलाई मुख्य आयस्रोत मानिएको छ।  

संघतर्फकै सम्पूरक अनुदान १ करोड २५ लाख, वित्तीय समानीकरण ७ करोड ३२ लाखलाई पनि आयस्रोत मानिएको बजेटमा प्रदेशतर्फ सशर्त अनुदान १९ करोड ७८ लाख, बित्तीय समानीकरण ३९ लाख ७५ हजार, राजश्व बाँडफाट ३५ लाख र सम्पूरक १ करोड समेटिएको छ। त्यस्तै चालु वर्षको खर्च हुन बाँकी ६ करोड ८० लाखलाई पनि आय मानेको बजेटमा आन्तरिक आयतर्फ १५ लाख अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए।

आगामी वर्ष लिमचुङबुङले सबभन्दा धेरै बजेट पूर्वाधारतर्फ १० करोड १९ लाख बिनियोजन गरेको छ। त्यसैगरी सामाजिक विकासतर्फ ३ करोड २२ लाख ९० हजार र आर्थिक विकासतर्फ ९६ लाख ५० हजार छुट्याएको छ भने सुशासन तथा क्षमता विकासमा २३ लाख र न्यायिक समितिलाई ७ लाख बिनियोजन गरेको लेखा अधिकृत ताराकिरण राईले बताए।  

लिमचुङबुङले ५ वडा प्रत्येकलाई ३५ लाखका दरले बिनियोजन प्रस्ताव गरेको छ। जसमा चालुवर्ष ५ लाख र आगामी वर्ष ३० लाखका दरले सिलिङ तोकेको लेखा अधिकृत राईले बताए। प्रस्तुत बजेटमा गाउँसभाले बिपत व्यवस्थानमा ४३ लाख र कोविड रोकथाम तथा न्यूनिकरणमा २२ लाख गरी बिपत व्यवस्थापन कोषमा ६५ लाख बिनियोजन गरेको छ।  

ताप्लीको बजेट साढे ३३ करोड  

अर्को बिकट पहाडी गाउँपालिका ताप्लीले ३३ करोड ५० लाख ५७ हजार ६० रुपैँयाको वार्षिक बजेट प्रस्तुत गरेको जनाएको छ। गाउँपालिका उपाध्यक्ष कमलामाया राईले प्रस्तुत गरेको बजेटमा सशर्त, सम्पूरक र विशेष अनुदान १८ करोड ३९ लाख, चालुतर्फको बाँकी ४ करोड र राजश्व बाँडफाट, समानीकरण, प्रदेश समानीकरण, प्रदेश राजश्व, सम्पूरक र आन्तरिक आय गरी २९ करोड ५० लाख रहेको छ। गाउँपालिका केन्द्र रुपाटारमा प्रस्तुत बजेट र नीति तथा कार्यक्रम बिहीबारै पारित भएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताएका छन्। 

प्रकाशित: ११ असार २०७८ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App