१६ चैत्र २०८० शुक्रबार
अर्थ

झाडिमा लुक्दै गाडी

असार १६ देखि जर्बजस्ती भएपनि गाडी चलाउँछौः व्यवसायी

पोखरामा पार्किङ गरिएका बसका वरिपरि पलाएको झाडि। ५० दिनदेखि सार्वजनिक सवारी संचालन गर्न नपाउँदा गाडी नै झाडिमा लुक्न थालेका छन्। तस्बिरः नागरिक

लामो तथा छोटो दूरीको सार्वजनिक यातायात रोकिएको झन्डै ५० दिन पुग्यो । कोरोना भाइरस संक्रमणको दोश्रो लहर बढेसँगै निषेधाज्ञा लागु गरेपछि सार्वजनिक यातायातका साधन गुड्न रोकिएका थिए। यो अवधिमा थन्किएका सवारी अहिले घाँसेझाडिमा लुक्न थालिसकेको व्यवसायीले बताएका छन्। निषेधाज्ञा केही खुकुलो भएपनि सार्वजनिक सवारी चलाउन टुंगो अझै लागिसकेको छैन।  

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसी सार्वजनिक सवारी संचालनको टुंगो नलाग्दा व्यवसायी र मजदुर मर्कामा परेको बताउँछन् । ‘कोरोनाको पहिलो लहरमा महिनौंसम्म सार्वजनिक सवारी थन्किए । अहिले पनि झन्डै ५० दिनदेखि गाडी थन्किएका छन् । अझैपनि सार्वजनिक सवारी संचालनको टुंगो नलाग्दा व्यवसायी त धरासायी बने नै, सधैंका लागि बिस्थापित हुने अवस्था आएको छ,’ उनले भने।  

उनका अनुसार सबैभन्दा बढी मार सार्वजनिक गाडीका मजदुरलाई परेको छ । व्यवसायीले घाटा बेहोरिरहेको अवस्थामा मजदुर भने हातमुख जोर्नबाट पनि बञ्चित हुने अवस्थामा पुगेको उनले बताए। ‘सार्वजनिक सवारी गुड्न रोकिएको ठ्याक्कै ४८ दिन भयो । पोहोर महिनौं रोकिएको घाटा पूर्ति हुन नपाउँदै अहिले फेरि थन्किएका छन,’ केसीले भने, ‘सरकारले राहत पनि दिएन । सवारीका मजदुरको अवस्था बिजोग भएको छ।’  

अघिल्लो पटकको लकडाउन खुलेर महिनौंपछि सवारी संचालन हुँदा पनि सार्वजनिक यातायातका साधनले पर्याप्त यात्रु पाएका थिएनन । यात्रुको हिडडुल नै कम हुुँदा व्यवसायीले अपेक्षा अनुसार आम्दानी गर्न सकेका थिएनन । अहिले पनि महिनौंसम्म सवारी थन्किँदा दोहोरो नोक्सान व्यवसायीले खेपेको उनले बताए । ‘लकडाउन खुल्दा पनि व्यवसायीले कमाउन सकेका थिएनन । अहिले पनि त्यही अवस्था दोहोरिने सम्भावना छ,’ केसीले भने, ‘अब त अति नै भईसक्यो।’

यातायात व्यवसायी बारम्बारको लकडाउनले व्यवसाय चौपट बनिसकेको बताउँछन । पोखराबाट पूर्वी भेगका विभिन्न सहरसम्म लामो दूरीको सवारी संचालन गरिरहेका व्यवासायी कान्ति श्रेष्ठले व्यवसाय जोगाउन निकै नै कठिन भएको बताए । लालिमा डिलक्स नाममा श्रेष्ठका एकदर्जन हाराहारीमा लामो दूरीमा संचालन हुने बस छन । ती बस अघिल्लो पटकको लकडाउनमा महिनौ थन्किएर पुन संचालनमा ल्याउँदा लाखौं रुपैयाँ ऋणको बोझ थपिएको थियो । अहिले पनि अवस्था उस्तै रहेको उनले बताए।  

‘जसले जेसुकै आश्वासन दिएपनि ऋणको किस्ता तिर्नुपर्ने बाध्यता हामीलाई छ। बैंक तथा वित्तीय संस्थाले एकरुपैयाँ पनि छाड्नेवाला छैन,’ उनले भने, ‘पोहोरको नोक्सान कम हुन नपाउँदै यो वर्ष पनि थपिएको छ । कतिसम्मको नोक्सानी खेप्ने भन्ने मात्र हो ।’ श्रेष्ठले पहिलोचरणको लकडाउनमा महिनौं थन्किएका सवारी पुन संचालनमा ल्याउँदा घर नै धितो राखेर एउटा बैंकबाट भन्डै ३५ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबाहेक सहकारीबाट पनि ऋण लिएका थिए । अहिले पनि पोहोरकै अवस्था आउन थालेको उनले सुनाए।

‘पोहोर थन्किएका गाडीमा ब्याट्रि, टायर सहितका पाटपुर्जा फेरेर चलाएको थिए । अहिले फेरि दुईमहिनादेखि सवारी गुड्न नपाउँदा त ब्याट्रि फेरि बिग्रिन थाले,’ श्रेष्ठले भने, ‘यो पटक कति नोक्सान खेप्ने भन्ने अझै टुंगो छैन । किनभने सार्वजनिक सवारी कहिलेदेखि चल्छन भन्ने नै यकिन छैन ।’  

व्यवसायीले नोक्सानी खेपिरहेको बेला सबैभन्दा बढी अप्ठेरोमा मजदुर परेको श्रेष्ठले बताए । ‘काम नपाएपछि मजदुर बढी मर्कामा परेका छन । मजदुरको पनि आउने बाटो नै बन्द भएको छ,’ उनले भने, ‘हामीले अरुबेला काम दिँदा उनीहरुको हातमुख जोडिएको थियो । अहिले काम दिन नसक्दा उनीहरुलाई हातमुख जोर्न नै समस्या भयो । मजदुरले माग्ने ठाउँ नै हामी हौ, तर, हाम्रै अवस्था नाजुक छ ।’ उनका अनुसार पार्किङमा राखिएका गाडीका पाटपुर्जामा खिया लाग्न थालेको छ । पलाएको झारले गाडी नै ढाक्न थालिसकेको श्रेष्ठले बताए ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साई यातायात व्यवसायीको अवस्था नाजुक रहेको बताए । साना आकारका यातायात व्यवसायी ऋणले डुबेरै नाजुक अवस्थामा पुगिसकेको उनले बताए । ‘अब जसरी भएपनि सार्वजनिक सवारी चलाउनुपर्छ । नत्र धेरै व्यवसायीको अवस्था नाजुक हुनेछ, मजदुरको हालत पनि खराब छ,’ उनले भने, ‘व्यवसायीको पीडा बताईसक्नु छैन । मर्कैमर्कामा व्यवसायी छन्।’

व्यवसायीको चेतावनिः २५ प्रतिशत भाडा बढाएर असार १६ देखि गाडी चलाउँछौ

यातायात व्यवसायीले अहिलेको निषेधाज्ञा पूणरुपमा नहटेपनि असार १६ देखि लामो दूरीको सार्वजनिक सवारी चलाउने चेतावनि दिएका छन् । लामो समयसम्म सवारी थन्काउँदा ठुलो मार खेप्नुपरेकोले सरकारले खुला नगरेपनि व्यवसायी आफैले सवारीका साधन सडकमा निकाल्ने चेतावनि दिएका हुन् ।  

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले स्वीकृति नदिएपनि असार १६ देखि छोटो तथा लामो दूरीमा सार्वजनिक सवारी संचालनको तयारी भएको जानकारी दिए । उनका अनुसार इन्धनको भाउ बढेकोले २५ प्रतिशत भाडा बढाएर सवारीलाई सडकमा उतार्ने उनले बताए । ‘बरु प्रहरीले पक्राउ गरे थुनिन जान्छौ, तर सवारी चलाएरै छाड्छौ । खानै नपाई भोकभोकै पर्ने अवस्था आउँदा पनि सरकारले बेवास्ता गरेपछि गाडीलाई सडकमा उतार्न बाध्य भयौं,’ केसीले भने, ‘कि त सरकारले यातायात व्यवसायीलाई राहत दिनुपर्छ । नत्र कमाउने साधनलाई रोकेर हामी चल्न सकेनौ ।’  

उनले इन्धनको मूल्य बढेकोले अहिलेको भाडादरमा २५ प्रतिशत थप गर्ने पनि जानकारी दिए । ‘सधैं थुनेर पनि राख्न सकिन्न । अनि, घाटामा मात्र चलाउँदा व्यवसाय धान्न सकिन्न । २५ प्रतिशत भाडा बढाएर १६ गतेबाट सबै सार्वजनिक रुटमा गाडी चलाउने व्यवसायीको निर्णय भएको उनले बताए । भौतिक दूरी कायम गरेर सरकारले तोकेको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी संचालन गर्ने उनले बताए ।  

उनका अनुसार २०६९ देखि सार्वजनिक सवारीको भाडा बढेको छैन। इन्धनलाई आधार बनाएर बीचबीचमा भाडा बढाइएपनि वैज्ञानिक भाडादर वृद्धि नभएको उनले बताए। उनका अनुसार सार्वजनिक सवारीको भाडा दुई तरिकाबाट बढाइन्छ । एउटा हो, इन्धन। इन्धनलाई ३५ र अरु पाटपूर्जा, वित्तीय अवस्था सहित १८ वटा सूचकांकलाई ६५ प्रतिशत हिस्सा दिइन्छ । ६५ प्रतिशत हिस्साको भाडादर २०६९ देखि नबढेको उनले बताए । ‘इन्धनको मूल्य बढ्दा बेलाबेला केही भाडा बढेको छ। तर, ६५ प्रतिशत हिस्सा ओगटने सूचकांकलाई आधार मानेर भाडा वृद्धि भएको छैन,’ उनले भने, ‘हामीले त्यही १८ वटा सूचकांकको आधारमा भाडा वृद्धि गरेर चलाउँने हो।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साई यातायात व्यवसायीले बुधबार बैठक बसेर सवारी चलाउनेबारे निर्णय गर्ने बताए। उनका अनुसार व्यवसायीबीच भाडा बढाउने सहमति पनि भएको छ। तर, कति बढ्छ भन्ने अझै निश्चित भएको छैन । कहिलेदेखि गाडी चलाउने भन्नेमा बुधबारको बैठकले टुंगो लगाउने उनले बताए । ‘सरकारले एकसाताको समय मागेकोले हामी रोकिएका हौ। असार १६ देखि गाडी चलाउने भन्ने योजना हो, तर, त्यसको निर्णय बुधबार हुनेछ,’ साइले भने।

प्रकाशित: ८ असार २०७८ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App