coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निर्यात व्यापार ३२ प्रतिशतले बढ्यो

स्रोत : भन्सार विभाग

मुलुकको वैदेशिक व्यापारमा ठूलो खाडल रहे पनि यो वर्ष निर्यातमा सन्तोषजनक सुधार आएको छ। कोभिड महामारीबीच पनि पोहोरको तुलनामा चालु आर्थिक वर्षमा निर्यात करिब ३२ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ। पोहोरभन्दा यो वर्षको वैशाखसम्म २६ अर्ब ४२ करोड रूपैयाँ बढीका वस्तु निर्यात भएका छन्।

चालु आर्थिक वर्षको वैशाखसम्म एक खर्ब आठ अर्ब ४८ करोड रूपैयाँका वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा ८२ अर्ब ६ करोड रूपैयाँका वस्तु निर्यात भएको थियो।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनि गलैंचा कार्पेट, जुटका बुनिएका कपडा, चिया, फलफूल जुस लगायत छन्। नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात हुने गरेको छ। १० महिनाको अवधिमा २८ अर्ब ८१ करोड रूपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको छ। पाँच अर्ब ७४ करोड रूपैयाँको सेन्थेटिक धागो, पाँच अर्ब ६८ करोड रूपैयाँको अलैंची, पाँच अर्ब ३९ करोड रूपैयाँको उनी गलैंचा कार्पेट, चार अर्ब एक करोडको तयारी कपडा, जुटका बुनिएका कपडा तीन अर्ब २७ करोड चिया तीन अर्ब ३६ करोड रूपैयाँको निर्यात भएको छ।

भारततर्फको निर्यात व्यापार वृद्धि भए पनि चीनतर्फको निर्यात भने घटेको छ। भारततर्फ ३५.८ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ १८.४ प्रतिशतले घटेको छ। निर्यात व्यापारमा भारतसँगको हिस्सा ७३.१ प्रतिशत रहेको छ।

निर्यात व्यापारमा सामान्य सुधार भए पनि मुलुकको व्यापार घाटा वृद्धि हुँदै गएको छ। चालु आर्थिक वर्षको १० महिनामा आयात २२.३४ प्रतिशतले बढेको छ। वैशाखसम्म १२ खर्ब ५४ अर्ब ११ करोड रूपैयाँको वस्तु आयात भएको छ। यो गत वर्षको तुलनामा २२.३४ प्रतिशतले वृद्धि हो। गत वर्ष सोही अवधिमा १० खर्ब २५ अर्ब रूपैयाँका वस्तु आयात भएका थिए। मुलुकको व्यापार घाटा पोहोरभन्दा २१.४८ प्रतिशतले वृद्धि भएको छ। मुलुकको व्यापार घाटा वैशाखसम्म ११ अर्ब ४५ अर्ब ६३ करोड व्यापार घाटा रहेको छ।

१० महिनाको अवधिमा ७० अर्ब ५६ करोड रूपैयाँको डिजेल आयात भएको छ। त्यसैगरी, ५७ अर्ब ४८ करोड रूपैयाँको एमएस बिलेट ३९ अर्ब ४६ करोडको भटमासको कच्चा तेल, ३२ अर्ब नौ करोडको मोबाइल टेलिफोन, २९ अर्ब ५१ करोडको एलपी ग्यास, २६ अर्ब १२ करोडको तयारी कपडा, २६ अर्ब ८८ करोडको पेट्रोल, २३ अर्ब ९१ करोडको चामल, २१ अर्ब ७६ करोड रूपैयाको पोलिथिन दाना आयात भएको भन्सार विभागले जनाएको छ।

सरकारले हरेक वस्तुको उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने रणनीति बनाए पनि सफल हुन सकेको छैन। हरेक वर्ष व्यापार घाटा बढिरहेको छ।  

नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगत आधारमा विविधीकरण गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। नगद अनुदानसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त वस्तुहरू जडिबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पस्मिना, जुटका सामान, तयारी पोसाक आदिले निर्यातमा सकारात्मक योदगान पुर्‍याएको छ।

सरकारले व्यापार घाटा कम गर्न औद्योगिक विकास र लगानी प्रवद्र्धनमा जोड दिएको छ। मुलुकको व्यापार घाटा कम गर्दै समृद्धि कायम गर्ने सरकारी लक्ष्य छ।

स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने आर्थिक वर्ष ०७८/७९ बजेटमा घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्ता लगायत उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने योजना बनाएको छ। घरेलु, साना तथा मझौला उद्योगलाई संरक्षण गरी स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उत्पादन वृद्धि गर्ने रणनीति बनाएको छ। निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने, हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्रान्डिड गरी खाडी लगायत मुलुकमा निकासी गर्ने, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको छ।

प्रकाशित: ८ असार २०७८ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App