७ वैशाख २०८१ शुक्रबार
अर्थ

नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २ करोडको बजेट

नीलकण्ठ नगरपालिकाको कार्यालय। तस्बिर : सरिता/नागरिक

धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब २ करोड १२ लाख ७७ हजार ५ सय २५ रुपैयाँको बजेट विनियोजन गरेको छ। नवौँ नगरसभामा उपप्रमुख मनराज भण्डारीले चालु खर्चतर्फ ७३ करोड ९२ लाख २५ हजार तथा पुँजिगत खर्चतर्फ २८ करोड २० लाख ५२ हजार ५ सय २५ विनियोजन गरेको बताए। यो अघिल्लो आर्थिक वर्षको भन्दा ९ करोडले कम हो। आ.ब. २०७७/७८ मा १ अर्ब ११ करोड ५५ लाखको बजेट ल्याएको थियो।

नवौं नगरसभाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाह शिर्षकमा बजेट विनियोजन गरेको हो। बजेटमा जिल्लाभित्रका कोभिड संक्रमित बिरामीको उपचार, स्वास्थ्य संस्थाको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ। जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ पनि विशेष प्राथमिकता दिएको छ।  

स्वास्थ्य क्षेत्रमा ७ करोड ४१ लाख, शिक्षामा २६ करोड ६१ लाख, पूर्वाधार तर्फ कुल २६ करोड ७० लाख कोरोना रोकथाम तथा उपचार कोषमा १ करोड बजेट विनियोजन गरिएको छ। नगरपालिकाबाट पशुबीमा कार्यक्रमका लागि किसानहरुलाई दिँदै आएको सहुलियत यसवर्ष पनि निरन्तरता दिएको र लक्षित वर्गको जिविकोपार्जनमा सहजीकरण गर्न रु. ११ लाख २० हजार विनियोजन गरेको छ। समग्र उद्योग तथा लघु विकासका लागि १ करोड १४ लाख, स्वास्थ्य क्षेत्रमा रु. ७ करोड ४१ लाख ७६ हजार, शिक्षामा कुल २६ करोड ६१ लाख ३८ हजार, पूर्वाधार तर्फ कुल २६ करोड ७० लाख कोरोना रोकथाम तथा उपचार कोषमा रु. १ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै महिला सिमान्तकृत एवं पिछडिएका वर्गहरुलाई उद्यमशिलता प्रदान गरि जिविकोपार्जनमा सहजीकरण गर्ने कार्यक्रम अगाडि बढाउन २० लाख बजेट विनियोजन गरेको छ। आधारभूत गुणस्तरीय स्वास्थ्य सेवामा नगरवासीको पहुँचलाई अभिवृद्धि गर्न सञ्चालनमा रहेको शहरी स्वास्थ्य क्लिनिक तथा आधारभूत स्वास्थ्य केन्द्रको सुदिृढिकरणको लागि १० लाख बजेट विनियोजन गरेको छ।  

त्यस्तै स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वापत मासिक १ हजारका दरले दिने व्यवस्थालाई निरन्तरता दिने, सरसफाई उपचार तथा सन्देशमुलक स्वास्थ्य क्षेत्रमा ७ करोड ४१ लाख ४६ हजार बजेट विनियोजन गरेको छ। यस्तै शिक्षा तर्फ बालविकास केन्द्रमा अध्यापन गराउने सहजकर्ताहरुको लागि प्रोत्साहन भत्ता मासिक २ हजार दिने कार्यलाई निरन्तरता दिने भएको छ। यस्तै द्वन्द्व पीडित सहिद परिवारको लागि राहत कार्यक्रम संञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख भीमप्रसाद ढुङगानाले बताए।

प्रकाशित: ८ असार २०७८ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App