१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाँदर आतंकले किसान चिन्तित

नीलकण्ठ नगरपालिका वडा नं ९ का किसानले लगाएको मकै बाँदरले खाएपछि । तस्बिर सौजन्य : प्रतिभा लामिछाने ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ अलैचे गाउँमा बाँदर आतंकले किसान हैरानी भएका छन् । खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसानहरु चिन्तित बनेका छन् । बाँदरले गाउँमै पसेर घोगा लागेको खेतको मकै, लिचि, स्याउ लगायतका फलफूल नष्ट गरेको स्थानीय तिलप्रसाद लम्सालले बताए । ‘घोगा लागेका मकै, फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ,’ लम्सालले भने, ‘पहिले विरुवामै खायो, पछि बोटमा खायो हुँदै जाँदा अहिले घोगा लागेका मकै पनि खाइदिएको छ, बाँदर पाल्दे भनेर खेती गरेको जस्तो भयो ।’  

अलैचे गाउँका सात घर परिवारको खेतको मकै र फलफूल बाँदरले नष्ट गरेको स्थानीयले बताएका छन् । लम्सालले १० रोपनी जग्गामा लगाइएको मकै बाँदरले नष्ट गरेको बताए । ‘खेती गर्ने बेला दुःखले लगायो उब्जनी हुने समयमा बाँदरले सखाप बनाइदिएको छ’ उनले भने, ‘१० रोपनी जग्गामा लगाएको मकै बाँदरले खाँदा ७० हजार बराबरको मकै नष्ट भएको छ ।’ बाँदर पाल्नको लागि मात्र खेती गरेको जस्तो भएको तिलप्रसाद लम्सालले बताए ।

अलैचेका नारायण रिजालको पनि हालत उस्तै छ । विगत ९ वर्षदेखि मकै र फलफूल खेती गर्दै आएका रिजाल यो वर्ष बाँदरले मकै र फलफूल खाइदिँदा चिन्त्तित बनेका छन् । भरखरै फल फल्न थालेको फलफूल र बेच्ने बेला भएको लिचि बोटमै नष्ट गरेको उनले बताए । ‘खेती गर्‍यो दुःख मात्र हुन्छ, बाली लगाएदेखि भित्र्याउँदासम्म नै बाँदरले नोक्सान पुर्‍याउने गरेको छ,’ रिजालले भने, ‘गाउँमा हुलका हुल बाँदर आउने गरेको छ, बाँदर नियन्त्रण गरिदिएर हामी किसानको खती बचाइदिनुपर्‍यो ।’

अलैचेमा हरेक वर्ष बाँदर आतंक हुने गरेको छ । हरेक वर्ष बाँदरले खाद्यान्न र फलफूल नष्ट गरेर सताउने गरेको छ । बिहान सबेरैदेखि राति अबेरसम्म बाँदरले दुःख दिने गरेकाले बाली जोगाउन नसक्दा खेतबारी बाँझै छाड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् । बाली जोगाउन खेतबारीमै कुरुवा बस्दै आइरहेका पनि छन् । गाउँलेहरुले आलोपालो बाँदर धपाउँदै आइरहे पनि समस्याको समाधान हुन सकेको छैन ।  

बाँदरको हुल नै आएर गाउँभित्र पस्ने अनि मकै लगायतका अन्न तथा फलफूल नष्ट गरिदिने गरेको छ । केही वर्षयता अलैचे गाउँ मात्र नभएर धादिङको विभिन्न गाउँबस्तीमा बाँदरले अन्नपात खाइदिने, नष्ट गरिदिने समस्या भोगिरहेका छन् । अन्न तथा फलफूल नष्ट गर्दा खाद्यान्नको समस्या भोग्नुपर्ने बताए । बाँदर आतंक बढ्दै गएपछि स्थानीयले नियन्त्रणको माग गरेका छन् । वडादेखि नगरपालिकासम्म खबर गर्दा पनि बाँदर आतंक समस्याको कुनै समाधान नभएको किसानको भनाई छ ।

प्रकाशित: ६ असार २०७८ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App