७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनमा नेपाली अर्थाेडक्स चियाः माग उच्च, निर्यात शून्य

इलामको जस्बिरे अर्गानिक चिया प्रशोधन उद्योगमा तयारी चिया ग्रेडिङ गरिँदै । तस्बिर : भीम/नागरिक

चिनियाँ बजारको मागअनुसार नेपालमा उत्पादित तयारी अर्थाेडक्स अर्गानिक चिया पोहोरदेखि नै निर्यात हुन सकेको छैन । माग राम्रो भएपनि कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उच्च गुणस्तरको हजारौं किलो चिया उद्योगमै स्टक छ ।  

उद्योगले बजारको मागअनुसार तयारी चियाको गुणस्तर निर्धारण गर्छन् । चिनियाँ बजारका लागि प्रायः गोल्डेन र ग्रिन टी उत्पादन गरिन्छ । तर, गतवर्ष चीनबाटै कोरोना महामारी फैलिएको र त्यसपछि नेपालसम्मै असर आइपुगेपछि तयारी चिया निर्यातमा कठिनाई भएको हो । अन्य देशमा बिस्तारै चिया निर्यात सहज भएपनि चीनमा गतवर्षदेखि नै चिया लैजान नसकेको उद्योगी बताउँछन् ।

चीनमा नेपाली चियाको राम्रो माग रहेपनि निर्यात गर्न भने नसकेको जस्बिरे अर्गानिक चिया उद्योगका सञ्चालक सरद सुब्बा बताउँछन् । ‘चिनियाँ बजारकै लागि तयार गरिएको चिया पोहोरदेखि नै निर्यात हुन नसक्दा उद्योगमै थन्किएको छ,’ उनले भने, ‘इमेलमार्फत् दिनहुँजसो माग आइरहेको छ तर तयारी चिया पठाउन चाहिँ सकिएको छैन ।’  

उनले पोहोरकै ८ हजार किलो हाराहारी चिया स्टक रहेको बताए । ‘स्टक रहेकोमध्ये पनि ५ हजार किलो स्पेसल चिया छ, १५ सय किलो त सुइरोबाट बनाएको सर्वाेत्कृष्ट गुणस्तरको चिया नै छ,’ उनले भने, ‘धेरै मेहनत र लगानीमा उत्पादन भएको चिया बिक्री नभइदिँदा समस्या भयो ।’ सुब्बाले गतवर्ष चीनका लागि उत्पादन गरेको करिब डेढ करोड रुपैयाँको चिया निर्यात गर्न नसकेको बताए ।  

इलामका दर्जभन्दा बढी कारखानाले चीनमा बिक्री हुने चिया उत्पादन गर्छन् । ती कारखानाले केही चिया निर्यातकर्ता व्यापारीले लगेपनि केही भने बाँकी रहेको जनाएका छन् । फाकफोकथुम गाउँपालिकास्थित तीनजुरे चिया उद्योगमा गतवर्षकै ३ हजार किलो हाराहारी तयारी चिया बिक्री हुन बाँकी छ । केही चिया बिक्री भएपनि कोरोनाकै कारण बाँकी चिया स्टक रहेको उद्योगका सरद शर्मा तिम्सिनाले बताए । ‘अरूतिर विक्री हुने चिया त गयो तर चिनियाँ बजारलाई उत्पादन गरेको चिया चाहिँ निर्यात हुन सकेन,’ उनले भने, ‘उच्च गुणस्तरको गोल्डेन र ग्रिन टी चीनमा राम्रो माग भएपनि निर्यात हुन सकेन ।’  

उद्योगले बजारको मागअनुसार ब्ल्याक, गोल्डेन, ह्वाइट, ग्रिनलगायत गुणस्तरका चिया उत्पादन गर्छन् । अर्गानिक प्रमाणित अर्थाेडक्स चियाको माग र बजार चीनलगायत अन्य देशमा उच्च छ । देउमाई नगरपालिकास्थित राँकेटारमा रहेको उच्च पहाडी चिया सहकारीले गतवर्षको ५ सय किलो तयारी चिया बिक्री नभएको जनाएको छ । सहकारीका रविन राईले कोरोनाका कारण चिया बिक्रीमा समस्या भएको बताए । ‘ठूलो लगानीमा उच्च गुणस्तरको चिया उत्पादन गरेपनि विक्री नहुँदा किसानलाई समेत समस्या भइरहेको छ,’ केन्द्रीय चिया सहकारी संघका महासचिवसमेत रहेका राईले भने, ‘निर्यात अवस्था सहज भइदिए चियाको अन्तर्राष्ट्रिय व्यापार सुध्रिने थियो ।’

उद्योगले व्यापारीमार्फत् चीनसम्म तयारी चिया पठाउँछन् । तर, गतवर्षदेखि उडान बन्द भएकाले चीनमा चिया पुर्‍याउनै नसकेको व्यापारी रुपकराज मिश्रले बताए । ‘कोरोनाकै कारण पोहोरदेखि लाखौं रुपैयाँको चिया उद्योग र भण्डारणस्थलमै अलपत्र छ,’ उनले भने, ‘चीनबाट यो वर्ष पनि धेरै परिमाणको चिया माग आएको छ ।  तर, पठाउन सकिएको छैन ।’ निर्यात असहज रहेको चीनमा ढुवानी र अन्य खर्च धेरै भएकाले मागअनुसार चिया पठाउन नसकेको उनले जनाए । उनले आफूले खरिद गरी बिक्री गर्न लागेको चिया रोकिँदा रकम भुक्तान गर्नसमेत समस्या भएको बताए । ‘खरिद गरेकोमध्ये ९० प्रतिशत चिया त बेच्न बाँकी नै छ,’ उनले भने, ‘उद्योगीबाट ल्याएको चियाको मूल्य ऋण काढेर तिर्नुपर्‍यो, अझै २० प्रतिशत रकम तिर्न बाँकी छ ।’  

चीनमा अहिलेसम्म उद्योगी र व्यापारीकै पहलमा मात्र चिया निर्यात भइरहेको छ । कोरोनाले त्यसमा पनि अझ असर पुर्‍याएको हो । सरकारले चीनसँग चिया व्यापारको सम्झौता गर्ने तयारी गरिरहेपनि कोरोनाकै कारण यो प्रयास सफल हुन सकेको छैन । नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले सम्झौताको खाका तयार भएको जनाए । ‘हामीले तयार गरेको खाकामा चीनले पनि सहमति जनाइसकेको छ तर दुवै पक्षले त्यसलाई अन्तिम रूप दिएर हस्ताक्षर गर्न बाँकी छ,’ उनले भने, ‘यही सिजनमा सम्झौता गरिसक्ने लक्ष्य थियो, कोरोनाकै कारण पछि धकेलिँदैछ ।’

प्रकाशित: ६ असार २०७८ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App