coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवा भन्सारः ११ महिनामा लक्ष्यको ४२ प्रतिशत मात्र राजस्व संकलन

रसुवा भन्सार कार्यालय । तस्बिरः हिमनाथ/नागरिक

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो । २०७६ माघ यता नाकाबाट आयात निकै कम भएको छ ।  

२०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आयो । तर पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ । दैनिक ८ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । यो पर्याप्त छैन ।  

कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा साउनदेखि जेठ मसान्तसम्ममा ३ अर्ब १० करोड ८९ लाख ३२ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यो लक्ष्यको ४२.९ प्रतिशत हो ।  

कार्यालयको तथ्यांक अनुसार असार महिनामा ४ अर्ब १३ करोड ४३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गर्नुपर्छ । हाल रसुवागढी नाकाबाट भइरहेको आयातको दर हेर्दा लक्ष्य पूरा गर्नसक्ने अवस्था छैन ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण डेढ वर्षदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ । नाकाबाट न्यून सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका आउँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘पहिले दिनमा सयवटाभन्दा बढी गाडीमा सामग्री आउथ्यो’, उनले भने, ‘अहिले दैनिक सातवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन् ।’  

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो । कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: ३ असार २०७८ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App