१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रेमिटेन्स सहकारीको खातामा जम्मा हुने

विदेशमा रहेका नेपालीले अब आफू सदस्य रहेको सहकारीको खातामा सिधै रकम जम्मा गर्न पाउने भएका छन्।

हब कोअपरेटिभ सर्भिस र हब सोलुसन प्रालिले विदेशबाट पठाएको रकम सम्बन्धित व्यक्तिको सहकारीमा रहेको खातामा जम्मा गर्ने प्रविधिको विकास गरेका हुन्। अहिलेसम्म विदेशबाट रेमिटेन्स कम्पनीमार्फत बैंकको खातामा रकम जम्मा हुँदै आएकोमा पहिलोपटक सहकारीको खातामा जम्मा हुने भएको छ।

विदेशबाट सिधै सहकारीको खातामा रकम पठाउन रेमिटेन्स सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा हब सोलुसन तयार गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए। ‘विदेशबाट पठाएको रकम सहकारीको खातामा जम्मा गर्ने प्रविधिको विकास गरेका छौं,’ पौडेलले भने। हब कोअपरेटिभले सोमबार जिएमई रेमिटसँग कारोबारका लागि सम्झौता गरेको छ। हब कोअपरेटिभको तर्फबाट भानुभक्त ढकाल र जिएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  

जिएमईले विदेशबाट ल्याएको रेमिट हब सोलुसनको प्लेटफर्ममार्फत सम्बन्धित व्यक्तिको सहकारीको खातामा रियल टाइम जम्मा हुनेछ। त्यसका लागि सहकारी हबको नेटवर्कमा जोडिनुपर्छ। हब कोपरेटिभले सहकारीहरूबीच प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी सेवा, युटिलिटी पेमेन्ट, क्युआर कोडमार्फत भुक्तानी, आन्तरिक तथा बाह्य रेमिटेन्स सहितका सेवा दिन सुरु गरेको छ।  

सहकारीको लेखा प्रणाली, भुक्तानी सेवा लगायतका विद्युतीय कारोबार गर्न नयाँ प्लेट फर्म तयार गरेको हो। प्रविधि सेवा प्रदायक निकायसँगको समन्वयमा सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित बनाउन लागेको सहकारीले जनाएको छ।

प्रकाशित: १ असार २०७८ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App