२७ श्रावण २०७९ शुक्रबार
अर्थ

१० महिनामा ८ खर्ब बढी रेमिटेन्स

कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा विदेशका रहेका नेपालीले पठाउने रेमिटेन्स भने निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार रेमिटेन्स वृद्धिको क्रम चालु आर्थिक वर्षको चैतसम्म पनि जारी रह्यो। चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) मा रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेर आठ खर्ब नौ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ, जुन यसअघिका वर्षको तुलनामा सर्वाधिक हो।  

कोरोना महामारीपछि ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान नपाउँदा रेमिटेन्समा ठूलो गिरावट आउने अनुमान गरिएको बेला यसको उल्टो भइरहेको छ। राष्ट्र बैंकका अधिकारीहरू कोरोना महामारीपछि रेमिटेन्समा निरन्तर वृद्धि भइरहुनुको मुख्य कारणमा पछिल्लो समय हुन्डीको कारोबार ठप्प हुनुलाई लिन्छन्। यद्यपि यसबारे अहिलेसम्म अध्ययन भने भएको छैन।  

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। अहिले अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या ६०.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो।  

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो। कोरोना महामारीपछि यतिखेर अधिकांश गन्तव्य मुलुकले नेपाली कामदार लैजान बन्द गरेका छन्। सबभन्दा ठूलो गन्तव्य मलेसिया पहिलो लहरको कोरोना महामारी सुरु भएदेखि नै बन्द छ। अन्य गन्तव्य मुलुकमा फाटफुट नेपाली कामदार जाने गरे पनि सहजै जाने अवस्था अझै सुरु भएको छैन। आर्थिक वर्ष २०७५/७६ मा आठ खर्ब ७९ अर्ब र आर्थिक वर्ष २०७७/७८ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।  

बैंकका अनुसार चालु आवको १० महिना वैशाखमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.६५ प्रतिशत छ। अघिल्लो वर्ष यो महिनामा मुद्रास्फीति ५.८३ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत छ। गत वर्ष वैशाखको तुलनामा यो वैशाखमा घ्यू तथा तेल, मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत छ।

काठमाडौं उपत्यकामा ३.६२, तराईमा ३.५१, पहाडमा ४.१४ र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति छ। गत वैशाखमा यी क्षेत्रहरूमा क्रमशः ५.७१, ६.३५, ५.११ र ५.१९ प्रतिशत मुद्रास्फीति थियो।

बैंकका अनुसार चालु आवको १० महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले बढेर १०८ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले बढेको थियो।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५.८ र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ। चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचा लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायत वस्तुको घटेको छ।

बैंकका अनुसार कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदी लगायत वस्तुको आयात घटेको छ।

चालु आवको १० महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई ११४५ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो। अहिले निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ८.० प्रतिशत थियो।

बैंकका अनुसार चालु खाता २४७ अर्ब ८ करोडले घाटामा छ। अघिल्लो वर्ष यो ९६ अर्ब १८ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटा रहेको चालु खाता यो वर्ष २ अर्ब ११ करोड पुगेको छ।

यो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानीमा १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ। अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड थियो।

अहिले शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा छ। अघिल्लो वर्ष यो १२० अर्ब ९० करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ५ करोड ५४ लाखले बचतमा छ।

प्रकाशित: १ असार २०७८ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App