८ वैशाख २०८१ शनिबार
अर्थ

बन्दमा सजाइँदै सूर्याेदय

भर्खरै सडकको चौडा विस्तार र सौन्दर्यीकरण गरिएपछि आकर्षक देखिएको इलामको पर्यटकीयस्थल कन्याम। तस्बिर: भीम/नागरिक

कोभिड–१९ महामारीका कारण देश ठप्पझैं रहेपनि पर्यटकीय नगरी सूर्याेदय नगरपालिका पर्यटकीयस्थल यहीबेला सजाइँदैछ । निषेधाज्ञामा मानिस आउ–जाउ शून्य भएका बेला नगरले पर्यटकीयस्थलको सौन्दर्य थप्दै पर्यटक आकर्षित गर्ने तयारी गरिरहेको हो ।  

पर्यटकले सधैं खचाखच रहने कन्याम चियाबारीमा नगरले यहीबेला थप पूर्वाधारका काम अघि बढाएको छ । संघीय सरकारसँगको सहकार्यमा नगरले मेची राजमार्गलाई फराकिलो बनाउँदै सौन्दर्यीकरण गरेपछि कन्याम निकै आकर्षक देखिएको छ। सूर्याेदय नगरपालिकाको अवधारणाअनुसार नगर र डिभिजन सडक कार्यालयले कन्यामको मेची राजमार्ग फराकिलो बनाएसँगै यहाँ सौन्दर्य थपिएको हो । हरियो चियाबारीलाई बीचबाट चिरेको फराकिलो मेची राजमार्ग ट्राफिक संकेत लाइनले सौन्दर्य थपेको छ । सडकको छेउ–भित्तामा रंगरोगन गरिएको छ । ठाउँ–ठाउँमा सोलार बत्तीसमेत राखिएपछि कन्याम आकर्षक भएको छ ।  

फिक्कलदेखि कन्यामसम्मको मेची राजमार्ग फराकिलो बनाउँदै सौन्दर्यीकरण गर्न करिब १० करोड रुपैयाँको काम भइरहेको मेयर रणबहादुर राईले बताए । ‘मानिसको आउ–जाउ कम भएका बेला सडक विस्तार गर्दै पर्यटकीय सौन्दर्य थप्दैछौं,’ उनले भने, ‘नगर र सडक कार्यालयले समन्वय गरी यहाँको पूर्वाधार विकास भइरहेको हो ।’ केही महिनापछि कन्याममा पर्यटकीय आकर्षणका अरू संरचनासमेत निर्माण हुने उनले बताए । ‘एकपटक आएका पर्यटकले कन्यामलाई सधैं सम्झिने, थप पर्यटक ल्याउनसमेत उनीहरूले दूतको काम गर्नेगरीको आकर्षक स्थल बनाउने प्रयास हुँदैछ,’ उनले भने, ‘त्यसका लागि नगरले नेपाल पर्यटन बोर्डसँगसमेत समन्वय गरिरहेको छ ।’  

कन्याममात्र होइन, अहिले सूर्याेदय नगरका अन्य पर्यटकीयस्थलमा समेत पूर्वाधार र सौन्दर्यीकरणको काम भइरहेको छ । गतवर्षमात्रै २ करोड रुपैयाँ हाराहारी खर्चेर पूर्वाधार विकास गरिएको अन्तुडाँडालाई थप सुन्दर बनाउन नगरले प्रयास गरिरहेको छ । अन्तु पर्यटकीय क्षेत्रको सौन्दर्य थप्न डेढ करोड रुपैयाँको काम भइरहेको नगरले जनाएको छ । ‘अन्तुमा पर्यटकलाई नै लक्षित गरी सडक, शौचालयलगायत संरचना बनाइँदैछ,’ उनले भने, ‘नगरका अरू क्षेत्रमा पनि पर्यटकीय पूर्वाधारका काम भइरहेका छन् ।’ गतवर्ष पनि अन्तुपोखरी सौन्दर्यीकरणमा नगरले ४० लाख रुपैयाँभन्दा बढी रकम खर्चेको थियो ।  

नगरकै बौद्धधाममा पर्यटकीय आकर्षणको गुम्बा निर्माण भइरहेको छ । करिब ५ करोड रकम खर्चेर आकर्षक गन्त्व्यका रूपमा गुम्बालाई विकास गर्न लागिएको नगरले जनाएको छ । शिक्षा र साहित्य क्षेत्रको ऐतिहासिकस्थल करफोकलाई समेत नगरले पर्यटकीय आकर्षणको केन्द्र बनाउन लागेको छ । करफोक क्षेत्रलाई शिक्षाको हब बनाउनेगरी पूर्वाधारको काम भइरहेको मेयर राईले जनाए । ‘करफोकलाई नमुना शैक्षिक क्षेत्र बनाउने, साहित्यिक व्यक्तित्वको सालिक राख्नेलगायतका काम भइरहेका छन्,’ उनले भने, ‘त्यसका लागि विद्यालयको संरचना निर्माण, अध्ययन÷अनुसन्धानका काममा जोड दिइएको छ ।’ करफोकलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन ५ करोड रुपैयाँको कार्यक्रम ल्याइएको मेयर राईले जनाए।  

नगरले १ नम्बर प्रदेश सरकारसँगको साझेदारीमा कन्याममा टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर स्थापना गर्दैछ । करिब २५ करोड रुपैयाँ लागतको आयोजनाका लागि संरचना निर्माणको काम भइरहेको छ । ‘नगरलाई वास्तविक रूपमा पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगर आफूले प्राथमिकतासाथ लगानी गरिरहेको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकार, ती सरकारमातहतका कार्यालयसँग साझेदारी गरी पर्यटकीय संरचना र सौन्दर्यीकरणको काम भइरहेको छ।’

तर, यतिबेला देशभर कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेकाले यी पर्यटकीयस्थलमा पर्यटक चाहिँ आउन पाएका छैनन् । बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने कन्याम, अन्तु, फिक्कल, हर्कटे, पशुपतिनगरलगायतका स्थल अहिले सुनसान छन् । कोरोनापछि सहज अवस्था हुँदा पर्यटकलाई नगरमा आकर्षित गर्न पर्यटकीयस्थल सौन्दर्यीकरण गरिरहेको नगरले जनाएको छ।  

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App