१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चौधरी फाउन्डेसनबाट १८ बेडको आइसियू वार्ड हस्तान्तरण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारणको उपचारमा योगदान पुर्‍याउन फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड निर्माण गरेको हो।

फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमलाई आइसियू वार्ड हस्तान्तरण गरेका थिए।

वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौ र दोस्रो तलामा नौ गरी १८ बेडको आइसियू वार्ड निर्माण भएको छ। विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आइसियू वार्ड निर्माण गरिएको चौधरी फाउन्डेसको भनाइ छ। अस्पतालले यी तलामा हाल कोभिड संक्रमित बिरामीको उपचार सुरू गरिसकेको छ।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नागरिकको उपचारमा पहुँच भएको वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी नेपालीको सेवामा समर्पित गरिएको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा देवनारायण शाहले कोभिड महामारीको संवेदनशील समयमा वीर अस्पतालमा १८ बेडको आइसियू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउन्डेसनले उत्कृष्ट भूमिका निर्वाह गरेको बताए। कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका सर्वसाधारणको जीवनरक्षामा यो आइसियू वार्ड वरदान साबित हुने विश्वास उनले व्यक्त गरे।

‘पैसा हातमा भएर मात्रै पनि यति छिटो समयमा आइसियू निर्माण गर्न सम्भव थिएन। तर, चौधरी फाउन्डेसनको सक्षम व्यवस्थापनका कारण मात्रै यो सम्भव भएको हो,’ प्राडा गौतमले भने। गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउन्डेसनले पु¥याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

चौधरी फाउन्डेसनले गत वर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्टदेखि पिपिई र स्वास्थ्य सामग्री देशभरका अस्पताललाई उपलब्ध गराएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App