८ वैशाख २०८१ शनिबार
अर्थ

सत्यवतीमा केबलकार निर्माण हुने

पाल्पाको सत्यवती मन्दिर। तस्बिर : मुक्ति/नागरिक

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको केराबारी र झुम्साबाट उकालो चढेपछि झण्डै तीन घन्टाको पैदल यात्रापछि सत्यवती तालमा पुग्न सकिन्छ। मन्दिरमा भगवानसँग मनमनै वर तथा आशिर्वाद माग्ने गरिन्छ। तर सत्यवती मन्दिरमा चिच्याएरै वर माग्ने मेला लाग्ने गर्दछ। सत्यवती बज्यै कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिर पुग्न भने केबलकार निर्माण हुने भएको छ।  

तिनाउँ गाउँपालिका–४, सत्यवती मन्दिर तथा ताल क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यापर्यटनको दृष्टिले परिचित गन्तव्य स्थान हो। जुन ताललाई वरिपरि घना जंगलले घेरिएको छ। यस क्षेत्रमा दुइटा मन्दिर छन्, सत्यवती बाजे र सत्यवती बज्यैको। जहाँ वर्षको एकपटक तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ।

यस क्षेत्रमा पुग्नको लागि कच्चि सडक निर्माण भएको छ। तर मेला लाग्ने समयमा यस क्षेत्रमा उक्त सडकयात्रामा समेत प्रतिबन्ध लाग्छ। बाटोमा भक्तजनको घुइँचो र सडक साँघुरो तथा घुमाउरो भएका कारण सडकबाट उक्त समयमा भेला भर्न जान प्रायः असम्भव हुने गर्दछ। यही कारण सत्यवतीमा केबलकारको स्थापना हुने भएको हो। पर्यटन प्रवद्र्धन गने उद्देश्यले निजी क्षेत्रले केबलकार निर्माण गर्न लागेको हो।

सत्यवती दर्शन प्रालिको एक अर्ब १० करोड रूपैयाँको लगानीमा तिनाउ गाउँपालिकाको २४ माइलदेखि मन्दिरनजिक १३ सय ५० मिटर लम्बाइको केबलकार निर्माण गर्न लागिएको प्रालिका सञ्चालक डिल्लीराज बस्यालले बताए। उनी भन्छन्, ‘कोभिड संक्रमणको समान्य अवस्था भएपछि १८ महिनाको अवधिमा निर्माण कार्य पूरा गर्ने गरी आवश्यक पूर्वाधारको निर्माण कार्य अगाडि बढाइएको छ।’ यता सत्यवती मन्दिर निर्माण कार्यका लागि नेपाल सरकारले डिपिआर समेत तयार गरिसकेको छ।  

सत्यवती मन्दिरमा कात्तिक महिनाको पूर्णिमाको दिन विशेष पूजा हुने भएकोले चिच्याएर वर मागे पूरा हुने जनविश्वास छ। यस मन्दिरमा दर्शनका लागि घन्टौं पैदल यात्राबाट स्वदेशी तथा भारतीय भक्तजन आउने गरेको स्थानिय बासिन्दा तथा वडाध्यक्ष दानबहादुर गाहाले बताए। सांस्कृतिक रूपमा समेत उत्तिकै महत्व रहेको यस क्षेत्रमा भारतको उत्तरप्रदेश र बिहार बाट अन्य समयमा समेत भक्तजन आउने गर्दछन्। पछिल्लो समयमा सडकको स्तरोन्नति भएपछि सहज भए पनि केबलकार सञ्चालनमा आएपछि भारतीय पर्यटक उल्लेख्य बढ्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए।  

केबलकारसँगै पर्यटकलाई लक्ष्य गरी खाजा घर र अतिथिगृह निर्माण गर्ने कम्पनीले जनाएको छ। सिद्धार्थ राजमार्गको २४ माइल, झुम्साबाट सडकले जोडिएको यस क्षेत्र अग्लो ठाउँ भए पनि सिमसार क्षेत्र भएकाले पृथक विषेशता भएको यस क्षेत्रमा पर्यटन विकासमा केबलकारका निर्माणले सहयोग गर्ने स्थानियहरू बताउँछन्। प्रत्येक वर्ष मन्दिरबाट संकलन हुँदै आएको रकम मन्दिर र ताल संरक्षणमा र केही रकम गाउँपालिकालाई सहयोग गर्दै आएको वडाध्यक्ष दानबहादुर गाहाले बताए।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App