coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका सूचक खस्किए पनि सेयरमा उत्साह

पहिलो लहरको कोरोना महामारी सुरु हुनेताका (२०७६ चैत) ११२० वरिपरि घुम्ने गरेको सेयर मापक परिसूचक नेप्से बिहीबार २९४४.७८ बिन्दुमा पुग्यो।  

दुई दिनअघिको तुलनामा केही करेक्सन भएपछि नेप्से साताको अन्तिम कारोबार १.८ ले घटेर २९४४.७८ बिन्दुमा रोकिएको हो। मंगलबार एकै दिन नेप्से ५४ बिन्दुले बढेर सर्वाधिक माथि पुगेको थियो।  

कोरोना महामारी सुरु भएपछि अर्थतन्त्रका अधिकांश सूचक कमजोर भएका छन्। आर्थिक वृद्धि दुई प्रतिशत भन्दा बढीले ऋणात्मक हुन पुगेको छ। नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको लाभांश क्षमता घटेको छ। सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाको खुद नाफा घटेको छ। आर्थिक वर्ष २०७६/७७ मा औसत १३ प्रतिशत लाभांश वितरण गरेका ‘क’ वर्गका वाणिज्य बैंकहरूको नाफा चालु आर्थिक वर्ष झनै घट्ने प्रक्षेपण छ। तर सेयर बजार भने हरेक दिन भ्यागुतो उफ्राइको शैलीमा अघि बढिरहेको छ।  

यो कसरी भइरहेको छ ? सेयर बजारका जानकारलाई समेत यस्तो किन भइरहेको छ भन्नेबारे यकिन जानकारी छैन। ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली यतिखेर सेयर बजारको बढोत्तरी हुनुको प्रमुख कारण चारवर्षे घट्दो चक्र पूरा हुनुलाई मान्छन्। ‘कोरोना महामारी सुरु हुनुभन्दा अघि नै सेयर बजारको चारवर्षे घट्दो चक्र पूरा भएको थियो,’ उनले भने, ‘योसँगै तरलताको सहजता, बैंक ब्याजदर घट्नु र प्रविधिको विकासले पनि सेयर बजार वृद्धिलाई साथ दिएको छ।’ यतिखेर वर्षमा एक सुको लाभांश दिन नसक्ने कम्पनीका सेयर मूल्य पनि तीव्र रूपले बढेका छन्।  

‘बजार बढेको बेला लगानीकर्तामा उत्साह थपिएको हुन्छ,’ त्यसैले लगानी गर्दा होस विचार गर्न पनि उत्तिकै आवश्यक छ,’ उनी भन्छन्, ‘कम्पनीको वित्तीय अवस्था ख्याल नगरी लगानी गर्दा डुब्ने खतरा उत्तिकै छ।’ जलविद्युत् तथा सूचीकृत अन्य कम्पनीका तुलनामा बैंक तथा वित्तीय संस्थाका सेयर अझै सस्ता रहेकाले कतिपय लगानीकर्ता नेप्सेको वृद्धि कायमै रहने बताउँछन्। नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि बजारमा तरलता पर्याप्त रहेको र लगानीको वातावरण नभएकाले बजार निरन्तर बढिरहेकोमा सहमत छन्। ‘यो बेला लगानीका अन्य उपाय नभएपछि लगानीकर्तालाई घरमै बसेर सेयर कारोबार गर्ने मौका मिलिरहेको छ,’ उनी भन्छन्।  

पैसा भएका व्यक्ति र कतिपय वित्तीय संस्थाले यसै बेला सेयरमा लगानी बढाएको अनुमान छ। दैनिक १६/१७ अर्ब रूपैयाँको सेयर खरिदबिक्री हुन थालेको छ। बिहीबार तीन करोड ६ लाख ६ हजार कित्ता सेयर १६ अर्ब १० करोड चार लाख १२ हजार रूपैयाँमा किनबेच भएको छ। यस दिन १३ कम्पनीका सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भए। सकारात्मक सर्किट लेवलमा कारोबार हुनेमा १२ कम्पनी जलविद्युत्का हुन्।  

२०७७ मा १४६३ बिन्दुले बढ्यो नेप्से

२०७७ मा मात्र नेप्से १४६३.३४ बिन्दुले बढेको हो। २०७६ को कारोबारको अन्तिम दिन नेप्से सूचक १२५१.४५ रहेकोमा २०७७ को अन्तिम दिनमा २७१४.७९ को बिन्दुमा पुगेको थियो। त्यस्तै २०७६ को कारोबारको अन्तिम दिन बजार पुँजीकरण १६ खर्ब रहेकोमा २०७७ को अन्तिम दिन ३७ खर्ब ५८ अर्ब ९७ लाख रूपैयाँ पुगेको थियो। २०७८ लागेपछि नेप्सेको वृद्धि कायमै छ।  

अनलाइन कारोबारी साढे ६ लाख  

दोस्रो बजारमा अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या साढे ६ लाखभन्दा माथि पुगेको छ। दोस्रो लहरको कोरोना महामारीको संक्रमणबाट बच्न गरिएको निषेधाज्ञापछि अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढेको नेप्सेले जनाएको छ।  

‘हालसम्म अनलाइनमार्फत कारोबार गर्न ६ लाख ६० हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्,’ नेप्सेका प्रवक्ता पराजुलीले भने। हाल दैनिक कुल कारोबारमध्ये ८० प्रतिशत बढी अनलाइनमार्फत हुँदै आएको छ। निषेधाज्ञाका कारण अर्थतन्त्रका धेरै क्षेत्र ठप्प भए पनि सेयर बजार भने खुला छ। बसेको ठाउँबाट कारोबार गर्न सकिने भएकाले पनि अहिले सेयर बजारमा सकारात्मक प्रभाव परेको नेप्सेका अधिकारीहरू बताउँछन्। 

प्रकाशित: २८ जेष्ठ २०७८ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App