१० असार २०७८ बिहीबार
अर्थ

वैदेशिक रोजगारः बिदेसिने घटे, निधनको संख्या उस्तै

कोरोना महामारीका कारण एक वर्षदेखि वैदेशिक रोजगारीमा जानेकोे संख्या घटे पनि विदेशमा ज्यान गुमाउनको संख्यामा गिरावट आउन नसकेको पाइएको छ।  

पहिलो र दोस्रो महामारीमा वैदेशिक रोजगारीको क्रममा रहेका व्यक्तिको निधन हुने क्रम जारी रहेकाले सरकारले सुरक्षित बसाइँको योजना अघि सार्न आवश्यक रहेको विज्ञहरूले औंल्याउँदै आएका छन्। वैदेशिक रोजगार बोर्डका अनुसार चैतमा सात महिलासहित एक सय ४६ को वैदेशिक रोजगारीको क्रममा निधन भएको छ।  

मलेसिया लगायतका कैयौं मुलुकले कोरोना महामारीको कारण देखाउँदै नेपाली युवालाई वैदेशिक रोजगारीमा लैजान बन्द गरेका छन्। २०७७ मा मात्र वैदेशिक रोजगारीको क्रममा निधन भएका एक हजार ७९ लाई आर्थिक सहायता वितरण गरिएको बोर्डले जनाएको छ। बोर्डले श्रम सम्झौता बाँकी रहेको अवधिमा वैदेशिक रोजगारीको क्रममा निधन हुनेका परिवारलाई सात लाख रूपैयाँ उपलब्ध गराउँछ। त्यस्तै, बिमा कम्पनीहरूले मृतकका परिवारलाई १४ लाख रूपैयाँभन्दा बढी रकम उपलब्ध गराउँछन्।  

बितेका १२ वर्षमा रोजगारीका लागि विभिन्न देश पुगेका सात हजार बढी नेपालीले ज्यान गुमाएका छन्। २०६५ को साउनदेखि चैतसम्म बोर्डको तथ्यांक अनुसार सात हजार दुई सय ५३ जनाले ज्यान गुमाएका हुन्।  

यो संख्या बोर्डको सचिवालयमा आर्थिक सहायता लिनेको मात्रै हो। यसबाहेक पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता नलिएका हुन्छन्। बितेको १२ वर्षमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गएको छ। यो अवधिमा मलेसियामा दुई हजार छ सय दुई जनाको ज्यान गएको छ। त्यहाँ तीन सय ३८ जनाले आत्महत्या गरेका छन्। कार्डिक एरेस्टका कारण चार सय सात र प्राकृतिक कारणले चार सय ११ जनाको ज्यान गएको तथ्यांक बोर्डसँग छ।  

कार्यस्थल दुर्घटना र सडक दुर्घटनाका कारण पनि धेरै नेपालीको ज्यान गएको छ। मलेसियामा मात्रै सडक दुर्घटनाका कारण एक सय ५५ र कार्यस्थलमा भएको दुर्घटनाका कारण दुई सय ५१ जनाको ज्यान गएको छ। हृदयघातका कारण मलेसियामा दुई सय २४ को ज्यान गएको छ भने यो अवधिमा २० जनाको हत्या भएको छ।  

उता, साउदीमा सबैभन्दा धेरै नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन्। बितेका १२ वर्षमा सडक दुर्घटनाका कारण पाँच सय ७८ को ज्यान गएको छ। एक सय ६४ को कार्यस्थल दुर्घटनाका कारण ज्यान गएको छ। एक सय ६३ ले आत्महत्या गरेका छन् भने सात सय ४५ को मृत्यु प्राकृतिक कारण भएको बताइएको छ। यस अवधिमा साउदीमा दुई नेपालीको हत्या भएको बोर्डको तथ्यांक छ।  

कतारमा एक हजार चार सय १९ को ज्यान गएकोमा सबैभन्दा धेरै कार्डिक एरेस्टका कारण रहेको छ। पाँच सय २१ को कार्डिक एरेस्टका कारण ज्यान गएको छ। सडक दुर्घटनाका कारण एक सय १६ र कार्यस्थल दुर्घटनाका कारण एक सय ५४ को ज्यान गएको छ। यो अवधिमा कतारमा एक सय २५ ले आत्महत्या गरेका छन्। १२ वर्षमा २२ को हत्या भएको छ।  

हृदयघातका कारण एक सय १२ को ज्यान गएको छ। बोर्डको तथ्यांक अनुसार युएईमा पाँच सय ८२ ले ज्यान गुमाएका छन्। कार्डिक एरेस्टका कारण एक सय ६४ ले ज्यान गुमाएका छन्। त्यसपछि सबैभन्दा धेरै सडक दुर्घटना र आत्महत्या गर्नेको संख्या धेरै छ। सडक दुर्घटनामा ७९ र आत्महत्या ९४ जनाले गरेका छन्।  

प्राकृतिक कारणले ९९ र ३३ जनाको कार्यस्थल दुर्घटनामा ज्यान गएको छ। रोजगारीको आकर्षक मुलुक दक्षिण कोरियामा आत्महत्या गर्नेको संख्या धेरै छ। समीक्षा अवधिमा ३६ नेपालीले कोरियामा आत्महत्या गरेका छन्। सोही मुलुकमा सडक दुर्घटनामा १४ को ज्यान जाँदा ११ जनाको कार्यस्थलमै भएको दुर्घटनामा ज्यान गएको छ। त्यहाँ एकजनाको हत्या भएको छ भने हृदयघातका कारण ६ जनाको ज्यान गएको छ। १० जनाको प्राकृतिक कारणले मृत्यु भएको कोरियामा २३ को अन्य कारणले ज्यान गएको छ। यो अवधिमा कोरियामा एक सय १७ को ज्यान गएको छ।  

विदेशमा ज्यान गुमाउनेमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात र आत्महत्या प्रमुख कारण देखिएका छन्। यो अवधिमा एक सय ६४ महिलाले विदेशमै ज्यान गुमाएका छन्। युएईमा १२ महिलाको सडक दुर्घटनाका कारण ज्यान गएको छ। त्यस्तै त्यहाँ १८ महिलाले आत्महत्या गरेका छन्।

कुबेतमा आत्महत्या गरेर ३७ ले ज्यान गुमाएकोमा १५ महिला छन्। हृदयघातका कारण ११ महिलाको कुबेतमा ज्यान गएको छ। लेबनानमा आत्महत्या र प्राकृतिक कारणले ६–६ जना महिलाको ज्यान गएको छ। मलेसियामा नौ र बहराइनमा दुई महिलाले आत्महत्या गरेका छन्।  

कोभिडले घटायो वैदेशिक रोजगारी

वैदेशिक रोजगार विभागका अनुसार कोरोनापछि (चैत २०७६ देखि चैत २०७७ सम्म) एक लाख ती हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चारलाख हाराहारीले कमी हो। त्यसअघि गत वर्षको सोही अवधिमा (चैत २०७५ देखि चैत २०७६ सम्म) वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या नयाँ र पुराना सहित तीन लाख ६८ हजार थियो।  

कोरोनाले कतार, साउदी अरेबिया, दुबई, ओमन, मलेसिया तथा युरोपेली मुलुक प्रभावित हुँदै आएका छन्। जापान, इजरायल र दक्षिण कोरियाले श्रमिक लगेका छैनन्। कोरोनाको जोखिम बढ्दा गन्तव्य मुलुकबाट रोजगारी गुमाएर फर्कने क्रम भने बढेको छ। तर उनीहरू रोजगारी नपाएर बेरोजगार बन्न पुगेको भुक्तभोगीको भनाइ छ। कोरोना नियन्त्रण व्यवस्थापन समितिका अनुसार महामारीपछि विदेशमा अलपत्र परेका चार लाख ३६ हजार चार सय स्वदेश फर्किएका छन्।  

भौतिक उपस्थितिमा श्रम स्वीकृति  

वैदेशिक रोजगारीमा जानेलाई हरेक साताको एक दिन भौतिक उपस्थितिमा श्रम स्वीकृति दिन थालिएको छ। वैशाख २४ देखि भौतिक रूपमा उपस्थित भएर लिन बन्द गरिएको श्रम स्वीकृति बुधबारदेखि सुचारु गरिएको हो।  

अनलाइनबाट श्रम स्वीकृति दिने काम भने निषेधाज्ञाको अवधिमा पनि जारी थियो। वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालयले अब हरेक साताको बुधबार भौतिक रूपमै श्रम स्वीकृति दिने व्यवस्था गरेको जनाएको छ। नेपाली श्रमिक जाने गन्तव्य मुलुकमा हवाई उडान भने नियमित हुन सकेका छैनन्।

प्रकाशित: २७ जेष्ठ २०७८ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App