coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जलविद्युत र सिँचाई आयोजनाबीच चर्कियो विवाद

खोटाङको रावाबेँसी गाउँपालिकामा हाइड्रोपावर र सिँचाई आयोजनाबीच विवाद चर्किएको छ । दुधकोसी पावर कम्पनी प्रालिको प्रवद्र्धनमा निर्माण हुने ६.५ मेगावाटको रावा खोला जलविद्युत आयोजना र रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित हौंचुर गरा सिँचाई आयोजनाबीच विवाद चुलिएको हो । हाल जलविद्युत आयोजना र सिँचाई आयोजनाका सञ्चालकले एकले अर्कालाई आ–आफ्नो अवरोधका रुपमा लिएका कारण आयोजनाको काम सुरु नहुँदै विवादमा फसेको हो । जलविद्युत आयोजनासँगको विवादका कारण हौंचुर गरा सिँचाई आयोजनाको काम अनिश्चित बनेको छ । सिँचाई आयोजनाको बोलपत्र (ठेक्का) आव्हान भएपछि जलविद्युत आयोजनालाई असर पर्ने भन्दै दुधकोसी पावर कम्पनीले सिँचाई आयोजनाको ठेक्का प्रकृया अघि नबढाउन निवेदन दिएपछि सिँचाई आयोजनाको काम सुरु नहुँदै झमेलामा फसेको हो । हौंचुरबेँसीका करिब १०१ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने सिँचाई योजनाका लागि बोलपत्र आव्हानको म्याद दोश्रो पल्ट थप गर्दा समेत विवाद हल हुन नसकेको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए ।  

हौंचुरमा सिँचाई प्रणाली पुःनस्थापना आयोजना कुवेत फन्ड (आइएसआइपी–केएफएइडी) अन्तरगत ५ करोड ४ लाखको हौंचुर गरा सिँचाई आयोजनाको काम अघि बढाइएको हो । २०७६ सालमा विस्तृत योजना प्रतिवेदन तयार पारिएको सिँचाई योजनाको काम २०७९ साल असारसम्ममा पुरा गर्नुपर्ने म्याद छ । आयोजनाका लागि जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले गत चैत ३१ गते बोलपत्र आव्हान गरेको थियो । जलविद्युत आयोजना र हौंचुर गरा सिँचाई आयोजनाको मुहान रावा खोला हो । जलविद्युत आयोजनाको मुहान सिँचाईको भन्दा केही माथि रहेको बताइएको छ । तर, सिँचाई आयोजनाले जलविद्युत आयोजनालाई असर गर्ने दुधकोसी पावर कम्पनीको दावी छ ।  

कार्यक्रम तथा बजेट स्वीकृत गराएर निर्माण प्रकृया अघि बढाउने सहमती लिएसँगै उपभोक्ता समितिसँग योजना सम्झौता प्रकृया अन्तिम चरणमा रहेको तथा बोलपत्र आव्हान भइसकेको अवस्थामा वडा कार्यालय हौंचुरबाट गत बैसाख २७ गते र रावाबेँसी गाउँपालिकाको बैसाख २७ गते सिँचाई योजनाले जलविद्युत असर पर्ने÷नपर्ने सत्यतथ्य पत्ता नलागेसम्मका लागि ठेक्का प्रकृया अघि नबढाउन सिफारिस गरेपछि लगातार ठेक्काको म्याद थप गर्नु परेको डिभिजन कार्यालय प्रमुख ज्ञवालीले बताए । हालसम्म सो सिँचाई आयोजनाको ठेक्का प्रकृया रोक्का रहेको छ । दुई आयोजना विच चुलिएको विवाद समाधानमा भने हालसम्म कसैको पहल कदमी देखिएको छैन ।  

वडा कार्यालय हौंचुर र गाउँपालिकाले पठाएको पत्रका आधारमा जलविद्युतलाई पर्ने अशरका बारेमा सम्वन्धित पक्षसँग समन्वय, छलफल र परामर्श गरी ७ दिनभित्र सत्यतथ्य जानकारी दिनका लागि डिभिजन कार्यालयले बैसाख २९ गते उपभोक्ता समितिलाई पत्राचार गरेको थियो । त्यहीबिचमा जेठ ६ गते वडा कार्यालय हौंचुरले सिँचाई योजनाको ठेक्का प्रकृया अघि बढाउन डिभिजनमा पत्राचार ग¥यो । तर, डिभिजन कार्यालयमा वडाको पत्र आएको भोलीपल्टै जलविद्युत आयोजनाले गाउँपालिकालाई सिँचाई योजनाको ठेक्का प्रकृया स्थगित गर्न सिफारिस गरेको थियो । विवाद लम्बिँदै गएपछि सिँचाई उपभोक्ता समितिले ठेक्काको म्याद ७ दिन थप गरिदिन भन्दै जेठ २० गते डिभिजन समक्ष माग गरेको प्रमुख ज्ञवालीले बताए ।  

२०३८ सालमा निर्माण सुरु गरेर २०३९ सालमा पुरा गरिएको सिँचाई योजनाले ओगटेको जग्गालाई २०४१ सालमा नापी नक्सामा कायम गरिएको उपभोक्ता समितिको दावी छ । हौंचुर गरा सिँचाई योजना नयाँ योजना नभै पुरानो कुलोलाई प्रणालीमा सुधार गर्न मात्र लागिएको सिँचाई योजना उपभोक्ता समितिका अध्यक्ष लिलाध्वज केसी बताउँछन् । २०७० सालमा विद्युत उत्पादन अनुमति पाएको दुधकोसी पावर कम्पनीले दशक अघिको पुरानो सिँचाई योजनामा अवरोध सिर्जना गरेको अध्यक्ष केसीले बताए । सिँचाई कुलो स्थगन फुकुवाको माग गर्दै जेठ ९ गते गाउँपालिका समक्ष माग गरेको उपभोक्ता समितिले जेठ १६ गते विज्ञाप्ती जारी गरेको थियो । दुधकोसी पावर कम्पनी प्रालिका अध्यक्ष प्रेम लामाले भने नामनिसानै नभएको कुलोको कुरा निकालेर कराडौंको लगानी फसिसकेको जलविद्युत आयोजनामा विवाद झिक्ने काम गरिएको बताए । जलविद्युत आयोजनालाई बिगार्ने नियत देखिएकाले जलविद्युत र सिँचाई आयोजनामध्ये कुनै एउटा मात्र आयोजना सञ्चालन गर्न सकिने अध्यक्ष लामाको भनाई छ । जेठ १८ गते गाउँपालिकामा भएको बैठकमा पनि सिँचाई योजनाको ठेक्का प्रकृया रोक्का राख्ने निर्णय भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।  

उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले रावा खोलाबाट विद्युत उत्पादनको अनुमति दिइसकिएको भन्दै गत चैत ६ गते जलविद्युत आयोजनालाई असर पर्नेगरी कुनै पनि योजना सञ्चालन गर्न नहुने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा भौतिक पुर्वाधार विकास मन्त्रालयले चैत १२ गते जलविद्युत आयोजनालाई असर पर्ने÷नपर्ने विषयमा डिभिजन कार्यालयलाई विवरण माग गरेको थियो । त्यसकै आधारमा उपभोक्ता समितिको चैत १८ गते बसेको बैठकको निर्णय, चैत १९ गतेको वडा कार्यालय हौंचुर र चैत २० गते रावाबेँसी गाउँपालिकाले जलविद्युत आयोजनालाई असर नपर्ने भन्दै सिँचाई योजनाको काम अघि बढाउन सिफारिस पठाएपछि डिभिजन कार्यालयले बोलपत्रको सूचना निकालेको जनाइएको छ ।  

प्रकाशित: २६ जेष्ठ २०७८ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App