८ वैशाख २०८१ शनिबार
अर्थ

अनियन्त्रित दोहन, जथाभावी भण्डारण

रौतहटको वागमती, चाँदी, बकैया तथा धनसर खोलामा नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरिएको र नदीजन्य पदार्थको जथाभावी भण्डारण गरिएको पाइएको छ ।

जिल्लामा सञ्चालित दश वटा क्रसर उद्योगले नदीजन्य पदार्थको दोहन तथा भण्डारणमा मुख्य भूमिका खेलेको स्थानीयको आरोप रहेको छ ।

रौतहटको गढीमाई नगरपालिका १ समनपुरका दिपु साहले वागमती नदीमा जथाभावी दोहन गरिएको र दोहनकर्ताहरुले जथाभावी स्टक गरेको बताएका छन् ।

वागमती नदीको दोहन गरेर वृन्दावन नगरपालिकामा सञ्चालित क्रसर उद्योगले रमौली, विश्रामपुर, पल्टुआलगायतका गाउँको विभिन्न ठाउँमा गिटी र ढुंगा भण्डारण गरिएको पाइएको छ ।

स्थानीय राजन पटेलले कोरोना संक्रमणको रफ्तार रहेको निषेधाज्ञाको समयमा क्रसर सञ्चालकहरुले खोला उत्खनन गरेर नदी किनारदेखि खेतीयोग्य जमिन मासेर ढुंगा गिटी भण्डारण गरिएको बताएका छन् ।

गढीमाई नगरपालिकामा सञ्चालित गढीमाई क्रसर उद्योगले नदी दोहन गरेर क्रसर अगाडि इनरबा टोलको ऐलानी जमिन समेत मासेर पहाडजस्तो अग्लो ढुंगा र गिटी भण्डारण गरेको देखिएको छ ।

रौतहटमा सञ्चालित दश वटा क्रसर उद्योगले चाँदी, बागमती, धन्सर, बकैया नदीका साथै अन्य सानातिना खोलानामा अवैध तरिकाले उत्खनन गरेर ढुंगा गिटी जथाभावी उत्खनन गरिएको देखिएको छ ।

फतुवा विजयपुर र गुजरा नगरपालिकाको क्षेत्रभित्र रहेको धनसर तथा बकैया खोलामा दुवै नगरपालिकाको संलग्नतामा नै दोहन भइरहेको स्थानीयको आरोप छ । यस्तै चन्द्रपुर नगरपालिकाले वागमती तथा चाँदी नदीमा दोहनको छुट दिइरहेको छ ।

गढीमाई क्रसर उद्योग, विम बालुवा वासिंग उद्योग, संकट मोचन बालुवा वासिंग उद्योग, न्यु गढीमाई क्रसर उद्योग लगायत दर्जन क्रसर उद्योगले नदीजन्य पदार्थको अनियमित र जथाभावी उत्खनन गरी जथाभावी भण्डारण गरेको देखिएको छ ।

जिल्लामा जताततै अवैध भण्डारण गरिएका गिटी तथा ढुंगाको स्रोत खोजिनुपर्ने तर अवैध रुपमा झिकिएका र भण्डारण गरिएका सबै गिटी र ढुंगा जफत गरी अवैध उत्खनन तथा भण्डारण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग गरेको छ । नियम विपरीत भन्डारण गरिएका सबै गिटी र ढुंगालाई जफत गर्नुपर्ने पनि स्थानीयको माग रहेको छ ।

जेठ १५ मा पेश गरिएको बजेटमा गिटी र ढुंगा भारततिर निर्यात गर्न पाउने आशाले उत्साहित भएका क्रसर उद्योगहरुले स्थानीयलाई पनि निकै सताएको र वातावरणसम्बन्धी कुनै पनि मापदन्ड पूरा नगरेको आरोप स्थानीयको रहेको छ । स्थानीय पालिकाको पूर्ण मिलोमतोमा नै खोलाको अवैध दोहन र जथाभावी भण्डारण गरिएको स्थानीयको आरोप रहेको छ ।

प्रकाशित: २२ जेष्ठ २०७८ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App