coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्बाध खोला दोहन

सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा स्थानीयको गुनासो क्रसर सञ्चालकले नसुनेपछि उनीहरूविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको र स्थानीय पत्रकारहरूको समूह नै क्रसर सञ्चालन स्थलमा पुगेपछि स्थानीय प्रशासनले आठवटा एक्जाभेटर र सात चालकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले वाग्मती नदीमा अवैध उत्खनन भइरहेको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आठवटा एक्जाभेटरका साथै सात चालकलाई नियन्त्रणमा लिएको बताए। अवैध गिटी उत्खनन तथा भण्डारणको विषयमा थप अनुसन्धान गरिने एसपी शाहको भनाइ छ।  

सामान्यतः कुनै पनि नदीको ढुंगा, गिट्टी र बालुवा निकाल्दा कति निकाल्ने, कहाँको निकाल्ने भनी इस्टिमेट गरिन्छ तर वाग्मतीमा भने तटबन्धको छेउदेखि पानीको धारसम्म जथाभावी अवैध तरिकाले उत्खनन भइरहेको नागरिककर्मीको स्थलगत भ्रमणमा देखिएको छ। तटबन्धको भित्रपट्टि निजी खेत रहेका केही किसानले उत्खननका कारण आफ्नो बाली र खेतमा समेत उत्खननकर्ताले जबरजस्ती बालुवा, गिट्टी राखेको र हटाउन आग्रह गर्दा धम्की दिने गरेको दुःखेसो पोखे। एकातिर खोलाको अवैध दोहनले बस्ती जोखिममा छ भने अर्कोतर्फ आफ्नो निजी खेतमा पनि क्रसरवालाको दादागिरी बेहोर्नुपरेको उनीहरूले बताएका छन्।

गत मंसिरदेखि नै दर्जनौं एक्जाभेटरले नियमित तथा अनियमित रूपमा गिट्टी र ढुंगा झिक्दै गरेको र निषेधाज्ञाको समयमा यो क्रम तीव्र रूपमा बढेको गढीमाई नगरपालिका–१ टोकारका बिलटु राय यादवले बताए। गढीमाई नगरपालिकाले समयमा बालुवा, गिट्टी तथा ढुंगाको ठेक्का गराउन नसकेपछि प्रिन्स कन्स्ट्रक्सनसित अमानतमा वाग्मती नदीमा उत्खनन गर्ने सम्झौता गरेको थियो।

प्रतिमहिना ३० लाख रूपैयाँ नगरपालिकाको खातामा बुझाउनुपर्ने थियो तर गत मंसिरदेखि वाग्मती नदीको ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेको कन्स्ट्रक्सनले अहिलेसम्म एक महिनाको अमानतबापतको ३० लाख रूपैयाँ मात्र नगरपालिकालाई बुझाएको छ। नगरपालिकाका पदाधिकारीको मिलेमतोमा ढुंगा र गिट्टी झिक्न नसकिएको तथा निषेधाज्ञाका कारण समस्या भएको बताउने र नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण रकम माफ गराउने दाउमा कन्स्ट्रक्सन रहेको स्थानीयको आशंका छ।  

टोकारका स्थानीय उमेश राय यादवले वडाध्यक्ष राम विनय राय यादवको संलग्नतामा वाग्मती खोलामा व्यापक दोहन भइरहेको आरोप लगाएका छन्। वडाध्यक्ष यादवले आफ्नो एक्जाभेटर नै लगाएर गिट्टी र ढुंगा झिक्ने गरेको आरोप रहेको छ। वाग्मती खोलाबाट निरन्तर गिट्टी र ढुंगा दर्जनौं एक्जाभेटर लगाएर झिक्न थालेपछि गाउँ नै खतरामा परेको स्थानीयको भनाइ छ।

स्थानीय बिल्टु यादवले एक धुर पनि नरहेको आफ्नो बाँधछेउको ऐलानी जमिनबाट बलजफ्ती गिट्टी झिकिरहेको आरोप लगाएका छन्। ठेकेदार तथा ढुवानीकर्ता सबैको विरोध गरेको तर कसैले पनि नसुनेको बताउँदै यादवले वातावरण तथा नियम कानुनलाई एकातिर पन्छाउँदै स्वार्थमा लागेको आरोप लगाए। गढीमाई नगरपालिकाका विभिन्न ठाउँमा व्यापक मात्रामा गिट्टी भण्डारण गरिएको छ।

गढीमाई क्रसर उद्योग, शिवम् बालुवा वासिङ, संकटमोचन बालुवा वासिङ, न्यु गढीमाई क्रसर उद्योगलगायतले नदीजन्य पदार्थ उत्खनन गरी भण्डारण गरेका छन्।  

गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले निषेधाज्ञाको समय पारेर कोरोनाको अत्यधिक डर भएको मौका छोपी वाग्मती नदीमा लुकीछिपी गिटी निकालेको आफूले सुनेको र तत्काल नियन्त्रणका लागि निर्देशन दिएको बताएका छन्। अवैध रूपमा गरिएको भनिएको दोहनको विषयमा आफूले छानबिन गर्ने प्रमुख यादवले बताएका छन्।

यसै गरी वृन्दावन नगरपालिकाको सिमानामा पर्ने वाग्मती नदीमा पनि व्यापक अवैध उत्खनन भइरहेको छ। वाग्मती नदीबाट दिनरात गिट्टी निकालेर तटबन्धकै छेउमा भण्डारण गरिएको छ। वृन्दावन नगरपालिका–६ का वडाध्यक्ष श्याम यादवको पनि उत्खनन र भण्डारणमा संलग्नता रहेको पाइएको छ। वडाध्यक्ष यादवले मुरली निर्माण सेवामार्फत नदीमा उत्खनन तथा नदीबाहिर भण्डारण गरेका छन्। वडाध्यक्ष यादवले आफूले नियमानुसार नै उत्खनन तथा भण्डारण गरेको प्रतिक्रिया दिएका छन्।  

स्थानीय तहकै मिलेमतोमा फतुवा विजयपुर नगरपालिकाले धनसार र बकैया खोलामा नदीजन्य पदार्थको उत्खनन गराइरहेका छन्। यसैगरी चन्द्रपुर नगरपालिकाले वाग्मती र चाँदी नदीलाई दोहन गराइरहेको छ। गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले समनपुर, टोकार, हरैया तथा लक्ष्मीपुरघाटमा मेसिन प्रयोग गरी दोहन गरिरहेका छन्। स्थानीय तहहरूले कोभिड महामारीको समयमा विकास निर्माणलाई रोकेर कोभिडमा खर्च गर्न भने पनि उल्टै नदीजन्य पदार्थको दोहन गरिरहेको पाइएको छ। 

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा व्यापक मात्रामा फैलिएको कोरोनाको नियन्त्रणमा सबैको ध्यान तानिएको समयमा केहीले वाग्मती नदीमा गिट्टी उत्खनन गरेको जानकारीमा आउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिए। वाग्मती नदीको अवैध उत्खननको विषयमा आफूले सम्बन्धित निकायसँग बुझ्ने पनि प्रजिअ यादवले बताए।

प्रकाशित: २२ जेष्ठ २०७८ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App