४ वैशाख २०८१ मंगलबार
अर्थ

वाणिज्य संघद्वारा अस्पताललाई ५५ लाख ६० हजारको स्वास्थ्य सामग्री

कोरोना भाइरसको दोस्रो लहरका कारण अक्सिजनको अभाव भइरहने समस्यालाई केही समाधान गर्नका लागि पाँचथर उद्योग वाणिज्य संघले संकलन गरेको रकमबाट सामग्री खरिद गरी अस्थायी कोभिड अस्पताल पाँचथरलाई हस्तान्तरण गरिएको छ।

जेठ–४ गते उद्योग वाणिज्य संघले सहयोगका लागि आव्हान गरेको थियो । यही आव्हानअनुसार संकलित रकमबाट अक्सिजन, अक्सिजन कन्सन्ट्रेटरसहित ५५ लाख ६० हजार बराबरको सामग्री  हस्तान्तरण गरेको हो।

३७ लाख रुपैयाँमा १० लिटर प्रतिलिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान अक्सिमिटर अस्पतालालाई हस्तान्तरण गरीएको हो।  

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले पाँचथर अस्पतालका डाक्टर मेडिकल सुपरिटेण्डन्ट डा. वुद्धिबहादुर थापालाई सामग्री हस्तान्तरण गरेका हुन्। सामाजिक सञ्जालबाट आव्हान गरेर वाणिज्य संघले रकम जम्मा गरेको थियो।

‘अक्सिजन लगायतका सामग्रीको अभावलाई ख्याल गरेर सहयोगको आव्हान गरेका थियो। देश तथा देशबाहिर रहनु भएकाले उत्साहजनक सहयोग गुर्नभयो’ अध्यक्ष नेपालले भने ‘केही अत्यावश्क सामग्री जुटेको छ । कोरोनाको यो कहरको बेला सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।’

यसअघि पनि पाँचथर उद्योग वाणिज्य संघले २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो। यसैबीच फिदिम नगरपालिकाले अस्पतालाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

कोभिडका बिरामीको उपचार गरिरहेको अस्पताल व्यवस्थापनका लागि भन्दै फिदिम नगरपालिकाका प्रशासकीय अधिकृत अम्बिका अधिकारीले उक्त चेक हस्तान्तरण गरे। यस्तै, जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिसिएमसी)लाई पनि ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

योसँगै पाँचथर अस्पतालमा १ सय ३ थान अक्सिजन सिलिण्डर भएको छ । यस्तै २५ थान अक्सिजन कन्सन्ट्रेटर भएको छ। बिहीबारदेखि आईसियु समेत सञ्चालनको तयारी भएको छ। अस्पतालको बन्दै गरेको भवनमा आइसियु सञ्चालनमा ल्याउने तयारी भएको छ।

प्रकाशित: १९ जेष्ठ २०७८ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App