१६ मंसिर २०७८ बिहीबार
अर्थ

माटोरहित खेतीमा आकर्षण बढ्दै

पोखरामा ग्रीन हाउसमा खेती गरेका नरहरि राईले एक साताअघि मात्र हाइड्रोपोनिक्स विधि अर्थात् माटो विना नै खेती गर्ने तरिका अपनाए। जग्गा नभएको मानिसका लागि उपयोगी विधि भएकाले उनले ३८ हजार रुपैयाँ लगानी गरी हाइड्रोपोनिक्सलाई जडान गरेका हुन्। उनले कृषिको नयाँ विधि र तरिका बुझ्न र जान्न यो विधि जडान गरेको बताए। जसअन्तर्गत उनले ४८ वटा प्वाल भएको सिस्टम जडान गरेका छन्। त्यसरी जडान गरिएको पाइपमा उनले हरियो सलाद लगाएका छन्।  

पोखराका राई मात्र हैनन् काठमाडाैं सामाखुसीका बिसराम बोहोराले त झन् ६ महिनाअघि नै घरको कौसीमै हाइड्रोपोनिक्स विधिबाट खेती सुरु गरेका छन्। त्यसले उत्पादन समेत दिन थालेपछि उनी खुसीले दंग छन्। ‘लकडाउनमा यस खेतीका कारण घरमै फलाएर ताजा तरकारी खान पाइएको छ’, उनले भने, ‘हालै घरमै सलाद पात, गाजर, टमाटर फलाएँ।’

यसैगरी ट्रु फार्मस् नेपालका प्रमुख कार्यकारी अधिकृत गणेश अग्रवालले हाइड्रोपोनिक्स विधि अन्तर्गत एनएफटी प्रविधिद्वारा फुड ग्रेड पाइपमा प्रोटेक्टेड कल्टिभेसेन अफ लिफी ग्रिन्स, स्यालेड र हर्बस् गरिरहेका छन्। उनले यस खेतीमा २ करोड रुपैयाँको हाराहारीमा लगानी भएको बताए। उनले यो विधिबाट विषदीरहीत तरकारीको सेवन गरिरहेको बताए। ‘हाइड्रोपोनिक्समा उच्च प्रविधिको प्रयोग गरिएकाले खेती गर्न सजिलो छ, जनशक्ति पनि कम भए पुग्छ,’ उनले भने।

तीन वर्षअघि सो खेतीको सुरुवात गरेका उनले १५ किसिमका सलाद पातको खेती गरेका छन्। उनले फार्मर्स मार्केट, डिपार्टमेन्टल स्टोर तथा मागका आधारमा स्टार होटेलहरूमा आफ्नो उत्पादन बिक्री गरिरहेका छन्। ‘सञ्चालन गरेदेखि नै यो विधिको प्रडक्टको उपभाक्ताले प्रशंसा गरेका छन्, यो प्रडक्ड जरादेखि नै बेच्न मिल्छ।’

यस खेतीमा कम मात्र पानीको खपत हुने बताए। यसका साथै पानीको पनि पुनः प्रयोग गरिने उनको भनाइ छ। ‘त्यसरी उम्रिएको तरकारीहरु पूर्ण फ्रेस र सफा हुन्छ।’ अहिले मानिसहरु सलाद खाना रुचाउने तथा स्वस्थ्यकर खानेकुरामा बढी ध्यान दिइरहेको कारण यो विधिबाट उत्पादित सागको बढी माग रहेको उनले बताए।

पोखराका राई र काठमाडौंका बोहरा, अग्रवाल मात्र हैन, पछिल्लो समय नेपालमा पनि माटोरहित खेती अर्थात् हाइड्रोपोनिक्सतर्फ आकर्षण बढ्दै गएको छ। यो विधिमा बोटलाई चाहिने सम्पूर्ण पोषक तत्व र अक्सिजनको मात्रा पानीमा नै रहने गर्छ। जसका कारण माटोको उर्वरा शक्ति राम्रो नभएको तथा सामान्यतः अन्य खेती नहुने स्थानमा यो विधि प्रभावकारी रहन्छ।

‘हाइड्रोपोनिक्स भनेको एक किसिमको कृषि विधि हो तर यो कृषि अन्य कृषिभन्दा फरक छ यसमा माटो प्रयोग गरिँदैन’, टोखास्थित नेपाल हाइड्रोपोनिक्समा कार्यरत विकास सुनारले भने,‘यो कृषि जगतका लागि नौलो छ।’

केही वर्षअघि नै स्थापना भएको नेपाल हाइड्रोपोनिक्सप्रति आकर्षण बढ्दो छ। यस खेतीमा धेरैले रुचि देखाएका छन्। निलमणि सापकोटा, गणेशकुमार पाण्डे र सुमन पाण्डेले संयुक्त लगानी गरी हाइड्रोपोनिक्स नेपाल प्रालि नै स्थापना गरी हाइड्रोपोनिक्स तथा माटोरहित खेतीको विस्तार गर्दै आएका छन्।

धुम्बाराहीमा कार्यालय र टोखामा प्रोडक्सन र स्टोर हाउस रहेको यो प्रालिमा आवद्ध सुनार हाइड्रोपोनिक्स विधि अन्य कृषि प्रविधिभन्दा फरक र रोचक रहेको बताउँछन्। उनले यो विधिमा पानीमा नै आवश्यक खाद्यवस्तु मिसाई बोटको वृद्धिविकास गरिने बताए।  

सुनारका अनुसार उर्वर माटो नभएको तथा खेती नहुने स्थानमा हाइड्रोपोनिक्स विधि जडान गरी तरकारीहरु उत्पादन गर्न सकिन्छ। 'यस विधिलाई दोस्रो विश्वयुद्धको बेला सेनालाई खानाको आपूर्ति गर्नका लागि समेत प्रयोग गरिएतापनि नेपालका लागि भने यो नौलो छ,' उनले भने।  

असम्भव मानिएको ठाउँमा समेत हाइड्रोपोनिक्सले सहजै उत्पादन दिने उनी बताउँछन्। कम्पनीले आवश्यक प्रविधि तथा सामाग्रीहरु चीन, भारत तथा अन्य देशहरुबाट आयात गर्ने गरेको छ।  

यस प्रविधिका पनि विभिन्न प्रकारहरु भएता पनि मुख्य रुपमा न्युट्रियन्ट फिल्म टेक्निक अर्थात एनएफटि नै बढी प्रयोगमा आइरहेको सुनारले जानकारी दिए। काठमाडौं, पोखरा, विरगञ्ज लगायतका सहरहरुमा मुख्य रुपमा हाइड्रोपोनिक्सद्वारा घरायसी र व्यावसायिक रुपमा सञ्चालन भइरहेको छ। यस विधिलाई अवलम्बन गरी खेती गर्न आफ्नो स्थान र आवश्यकताअनुसार मूल्य भने फरक पर्ने सुनारले बताए।  

यस विधिको प्रयोगबाट पानीको अभाव भएको स्थानमा पनि विभिन्न खालका बालीनालीको खेती गरी प्रशस्त उत्पादन समेत गर्न सकिन्छ। तरकारी, फलफूल आदिको उत्पादन समेत यो विधिबाट गर्न सकिन्छ।

ट्रु फार्मर्सका किसान अग्रवालले ३ रोपनी क्षेत्रफलमा १६ हजार बिरुवा लगाएका छन्। यसरी बिरुवा लगाएपनि अहिले जारी निषेधाज्ञाले बजार भने घटेको किसानको गुनासो छ।

प्रकाशित: १८ जेष्ठ २०७८ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App