८ वैशाख २०८१ शनिबार
अर्थ

कोरोनाले नरोकिएको धान रोपाईं

म्याग्दीको मंगला गाउँपालिका–३,बरंजा आल्टामा धान रोपाईमा ब्यस्त किसान । तस्वीर सौजन्यः लोकेश पुन मगर

म्याग्दी जिल्ला कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको छ । दैनिक रुपमा सार्वजनिक हुने कोरोना संक्रमतिको संख्यामा गण्डकी प्रदेशमै म्याग्दीको गति तीव्र छ । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण सहरबजारसँगै ग्रामिण क्षेत्रमा समेत बढ्दो छ ।  

कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी जेठ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्रमा समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३, बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ ।  

असार महिनामा जस्तै किसानहरु व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् । रोपाराले धमाधम धनाको बिउ रोपिरहेका छन्, जुवा हलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइएको छ । जेठ महिनाको दोस्रो साता देखि नै यहाँका किसानले आफ्नो खेतमा धमाधम रोपाई गरिरहेका छन् । कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनिरहेको छ । विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता एवं पूर्व सांसद गमबहादुर श्रीष समेत रोपाईमा ब्यस्त छन् । प्रतिबन्धपछि भूमिगत भएका श्रीषको खेतीमा स्थानीयले धमाधम रोपाइ गरिरहेका छन् ।  

सरकारले प्रतिबन्ध खुकुलो बनाएसँगै गाउँमै खेतीपातीमा ब्यस्त श्रीषको खेतमा धान रोपाईसँगै रमाइलो माहोल बनेको छ । ‘सामाजिक दूरी कायम गरेका छौ, कोरोनाको लक्षणसँग मिल्ने कोहीलाई पनि खेतबारीमा जान दिन्नौ,’ एक किसानले भने । आकाशे पानीको भर पर्नु नपर्ने यस क्षेत्रमा चैते धान समेत हुन्छ भने जिल्लाका अन्य ठाउँमा भन्दा अगाडी नै खेतमा धमाधम रोपाइँ हुने गरेको छ ।

हरेक वर्ष यस क्षेत्रमा अन्यत्र भन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदैं रोपाहार र हलीलाई समेत सावधानी अपनाउन अनुरोध गरिएको स्थानीयको भनाई छ । जिल्लाभर नै गतवर्ष भन्दा अहिले सधैंको भन्दा केही अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ । कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ ।  

यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन ।

प्रकाशित: १० जेष्ठ २०७८ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App