८ वैशाख २०८१ शनिबार
अर्थ

कोभिड उपचारमा निजी क्षेत्र र एनआरएनएको सहयोग

कोभिड–१९ को उपचारमा कठिनाइ भइरहेका बेला निजी क्षेत्र र गैरआवासीय नेपालीले औषधी, उपकरण तथा आर्थिक सहयोगमा तत्परता देखाएका छन्। उद्योगी, व्यापारी सहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न सहयोग गरेका छन्।  

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ सहायता केन्द्र नै स्थापना गरेको छ। उपचारमा सघाउन अक्सिजन सिलिन्डर व्यवस्थापन, अस्पताल तथा आइसोलेसन केन्द्र, अस्पताल व्यवस्थापन, औषधीमा सहयोग गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए। ‘कोभिड–१९ भएर उपचारमा अप्ठेरो परकोलाई सघाउन सहायता केन्द्र स्थापना गरेका छौं,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘विषयगत रूपमा जिम्मेवारी दिन फोकल पर्सन पनि तोकेका छौं।’

कोभिड रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउन पहल गर्ने उनले बताए। ढकालले समन्वय गर्ने स्थापना भएको सहायता केन्द्रमा अक्सिजन सिलिन्डर व्यवस्थापनको गर्न रामचन्द्र संघई र शौरभ ज्योति, अस्पताल तथा आइसोलेसन केन्द्र सहजीकरण गर्न हेमराज ढकाल र रविन श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ। त्यसैगरी, अस्पताल व्यवस्थापनको लागि देशबन्धु बस्नेत, बाबाकाजी कार्की र डा. केयुर गौतम, एम्बुलेन्स तथा आइसोेलेसन केन्द्रका लागि रन्जितराज आचार्य, औषधी, मेडिकल उपकरणका लागि प्रबलजंग पाण्डे र भक्त हमाललाई जिम्मेवारी तोकिएको महासंघले जनाएको छ।  

महासंघले कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत हेल्लो डाक्टर सञ्चालनमा ल्याएर संक्रमणमा परेका बिरामीलाई डाक्टरहरूबाट निःशुल्क स्वास्थ्य परामर्श दिने काम पनि सुरु गरेको छ।

यसैगरी, नेपाल उद्योग परिसंघले दुई करोड रूपैयाँका स्वास्थ्य सामग्री प्रदान गरेको छ। परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ। आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए। कोभिड संक्रमितको उपचारमा सघाउन अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो।

यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभर रहेका नेपालीबाट सहयोग जुटाएर सहयोग सुरु गरेको छ। एनआरएनएले दुई करोड रूपैयाँ सहित विभिन्न मुलुकका स्वास्थ्य सामग्री दिने अध्यक्ष कुमार पन्तले जानकारी दिए। ओमानबाट विमान चार्टर गरेर ६ सय अक्सिजन सिलिन्डर पठाउने तयारी गरेको छ।

एनआरएनएले चीनबाट सय थान अक्सिजन कन्सरट्रेसन पठाउने, जनकपुरमा आइसोलेसन सेन्टर स्थापना गर्ने, अस्ट्रेलिया र अमेरिका एनआरएएद्वारा एक–एक लाख डलर उठाउने, एनआरएनए युकेले नेपालमा खोप पठाउन बेलायत सरकारसँग पहल गर्ने, एनआरएनए अफ्रिकाले १० जिल्लामा अक्सिजन सहयोग गर्ने निर्णय गरेको छ।

संस्थागत सहित व्यक्तिगत तथा व्यापारिक घरानाले पनि आर्थिक सहयोग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको लगानी रहेको गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड रूपैयाँ सहयोग गरेको छ। कोभिड उपचारमा सघाउन रकम दिएको गोल्छाले बताए।

यसैगरी, गोल्छा समूहले सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिच्युड किट विमान चार्टर गरी ल्याएर सरकारलाई सहयोग गरेको थियो।

त्यसैगरी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

प्रकाशित: ३० वैशाख २०७८ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App