६ वैशाख २०८१ बिहीबार
अर्थ

दिउँसै निदाएको छ लेकसाइड

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । कोरोना संक्रमण बढेसँगै लेकसाइड सुनसान छ । तस्बिरःउमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमण सुरु हुुनुअघि यहाँको पर्यटकीय क्षेत्र लेकसाइड बाहै्रमहिना चम्किन्थ्यो । पर्यटकीय ‘सिजन’ होस वा ‘अफसिजन’ लेकसाइड धेरैजसो समय राती अबेरसम्म जागै रहन्थ्यो । बिहानीपखको केही घण्टा बाहेक लेकसाइडले मध्यरातसम्म आफुलाई सुस्ताउन दिदैनथ्यो ।

तर, जब कोरोना भाइरस संक्रमण सुरु भयो, अहिले लेकसाइड दिउँसै भुसुक्क निदाएजस्तो देखिएको छ । मुल सडकको दायाँबायाँका व्यवसायमा ताला लागेको छ । व्यवसायको ढोका लागेपछि मान्छेको हिडडुल पनि देख्न पाइँदैन । रातीको चमक त पुरै हराईसकेको छ । कोरोनाको पहिलो लहरले केहीमहिना लकडाउन हुँदा पनि लेकसाइड यस्तै सुस्ताएको थियो । संक्रमण घटेर केही कम हुँदा लेकसाइड झन्डै कोरोना अघिकै चहलपहलको अवस्थामा फर्केको थियो । तर, कोरोनाको दोश्रो लहरले त लेकसाइडलाई २४ सै घण्टा सुताइदिएको छ ।

‘पहिला पहिला साँझ पर्दै जाँदा लेकसाइडमा चमक बढ्दै जान्थ्यो । तर, अहिले त दिनरात सुनसान छ । बेलुकी सबेरै चकमन्न अध्याँरो हुन्छ, पैदल हिडडुल गर्न पनि डर लाग्ने अवस्था छ,’ ल्याण्डमार्क होटलका संचालक ओमप्रकाश पाण्डे भन्छन्, ‘यतिसम्मकी सडकको बत्ती पनि बलेको हुँदैन । मान्छेको हिडडुल त परैको कुरा ।’ दिउँसै पनि निदाएजस्तो देखिएको लेकसाइड साँझ पर्न नपाउँदै चकमन्न हुने गरेको उनले बताए ।

अधिकांश समय जागै रहने लेकसाइड अहिले दिनरात निदाएको जस्तो देखिएको उनले बताए । ‘व्यवसायको टुंगो छैन । सबैतिर त्रासैत्रास छ,’ उनले भने, ‘पोहोर त केही समयपछि लेकसाइडको चमक छिटै पहिलेकै आकारमा फर्किनेमा आशावादी थियौ । तर, अहिले त सबैतिर आश मारियो । अब कहिले हो कहिले भन्ने अवस्था आएको छ ।’

कोरोनाको दोश्रो लहरसँगै पोखरा मात्र नभई सिंगो कास्कीमा स्थानीय प्रशासनले कडा निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञासँगै यहाँ सवारी गुड्न र पर्यटकीय गतिविधि संचालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ । ‘अहिले त मुल सडकमा हिडडुल गर्न पनि त्रास भइसक्यो । कोही मान्छेसँग भेटघाट नै गर्नु नपरे हुन्थ्यो भन्ने भईसकेको छ,’ अर्का व्यवसायी गणेशबहादुर भट्टराई भन्छन, ‘अहिलेको लागि व्यवसायको आश गर्ने बेला छैन । बरु यो बेला सामाजिक उत्तरदायित्व अन्तर्गत केही रचनात्मक काम गर्ने की भनेर सोचिरहेका छौ ।’ उनले पनि लेकसाइड दिनमै मस्त निद्रामा परेजस्तो भएको बताए ।

पर्यटन क्षेत्रमा अहिले लागेको ढोका कहिले खुल्छ भनेर व्यवसायी यकिनसाथ भन्न सक्दैनन । त्यसैले अधिकांशले बीचमा फिर्ता बोलाएका कर्मचारीलाई पनि घर फर्काइसकेका छन् । यत्तिकै राख्दा पनि खर्चिलो हुने भएपछि अधिक कर्मचारी घर फर्केको व्यवसायीले बताएका छन् । ‘पर्यटनमा सहज अवस्था देखिन्न । कामदारलाई पनि घर फर्काएका छौ । कामविहीन तरिकाले राखेर मात्र भएन,’ भट्टराइले भने, ‘अवस्था सहज नहुन्जेल अब कामदारलाई फिर्ता बोलाउने अवस्था छैन । अवस्था सहज हुने भनेको निकै नै परको कुरा हो जस्तो लाग्दैछ ।’  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार लेकसाइडमा बेलुकी आठबजेपछि पैदल हिडडुल गर्दा पनि डरलाग्ने अवस्था छ । सबैखाले व्यवसाय बन्द रहेको र आउजाउ पनि ठप्प हुँदा लेकसाइड बेलुकी आठबज्न नपाउँदै मध्यरात जस्तै हुने गरेको उनले बताए । ‘लेकसाइडमा बेलुकी आठबजेपछि पैदल हिड्दा डराउनुपर्ने अवस्था छ । कतैबाट सडकमा उज्यालो पर्दैन,’ पराजुलीले भने, ‘खानपिनका लागि पाहुना आउजाउ हुँदा पो लेकसाइड गुल्जार हुन्थ्यो । तर, अहिले सबै ठप्प छ । खानपिन गर्न नपाउने भएपछि लेकसाइड घुम्ने कोही हुँदैनन ।’  

पराजुलीका अनुसार कोरोनोका पहिलो पटकको लकडाउन खुल्दा पनि लेकसाइड उत्तिसारो चम्किन सकेको थिएन । किनकी सबैले व्यवसाय संचालन गर्न सकेका थिएनन । अहिले त्यो अवस्था झनै पर पुगेको पराजुलीले बताए । ‘पहिलो पटकको लकडाउन खुलेपछि पनि व्यवसाय पूर्ण आकारमा फर्किन पाएको थिएन । तर अहिले भन्दा केही चमक थियो । यतिखेर त झनै ठप्प भएको छ,’उनले भने, ‘सबैखाले व्यवसाय बन्द भएपछि त सडक पनि सुनसान हुने रहेछ । अरुतिरको बजारमा फाट्टफुट्ट गाडी चल्छन । तर, लेकसाइडमा त गाडी पनि गुडेको देखिन्न ।’

मानवीय आउजाउ नभएपछि सडकका बत्ती पनि बल्न छाडेको उनले सुनाए । ‘पहिला पहिला सडकका बत्ती निभेपनि होटल–रेस्टुरेन्टबाट बाहिरिएको उज्यालोले सडक झकिझकाउ हुन्थ्यो । तर, अहिले त संसाँझै चकमन्न अध्यारो हुन्छ ।’ उनले अहिलेको अवस्था अझै लामो समय जाने संकेत देखिएपछि व्यवसायी नै ढुक्कले ढोका थुनेर बसेको बताए ।  

‘लेकसाडको व्यवसाय खुल्न भारतमा अवस्था सहज हुनुपर्छ । जतिबेला भारतमा संक्रमण कम हुन्छ । त्यसपछि मात्र पोखराले भारतीय पाहुना पाउन थाल्दा केही सहज होला,’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले भने, ‘तर, भारतमा सहज नभएसम्म नेपालमा संक्रमण कम भएर पनि व्यवसाय संचालन गर्ने अवस्था रहन्न । किनकी आन्तरिक पाहुना पनि हिडडुलमा सहजै निस्कँदैनन ।’

यो बेला व्यवसायी र जनता बचाउन सरकार नै अभिभावकको भूमिकामा हुनुपर्नेमा राजनीतिक स्वार्थमा लाग्दा झनै निराशको अवस्था आएको पराजुलीले बताए । ‘सरकारले अभिभावकको भूमिका निभाउने बेलामा कुर्सि तानातान छ । यो बेला आश गर्ने ठाउँ कतै भएन,’ पराजुलीले भने ।

प्रकाशित: २८ वैशाख २०७८ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App