८ वैशाख २०८१ शनिबार
अर्थ

लहानका सात जना सुनचाँदी व्यापारीमा कोरोना संक्रमण, बजार क्षेत्र सिल

संक्रमितले दुई दिनसम्म पसल खोलेर व्यापार गरेका थिए

लहान नगरपालिका–७ स्थित सुनचाँदी बजार क्षेत्रका सातजना व्यापारीमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सिल गरेको छ । तस्बिरः मिथिलेश/नागरिक

लहान नगरपालिका–७ स्थित सुनचाँदी बजारका सात जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सातै जना संक्रमित सुनचाँदी व्यापारी दुई दिनसम्म पसल संचालन गरेका कारण सैयौ मानिस संक्रमणको जोखिममा परेको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरी यस क्षेत्रलाई निर्मलिकरण गर्न सुनचाँदी बजार क्षेत्रलाई सिल गरिएको वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ताले जानकारी दिए।

संक्रमित सात जनामध्ये चार जना एकै परिवारका रहेको बताइएको छ। 'लक्षणसहितका संक्रमित उहाँहरु दुई दिनसम्म सुनचाँदी पसल खोलेर भीडभाडका साथ व्यपार गरेको जानकारी प्राप्त भएको छ,' अध्यक्ष गुप्ताले नागरिकसँग भने,‘विवाहको लगन भएकाले कहाँ कहाँका मानिस गरगहना खरिद गर्न आए पहिचान गर्नै गाह्रो भैरहेको छ। व्यापारीको लापरबाहीका कारण उनको परिवारका सदस्य, कामदारसहित धेरै ग्राहक संक्रमणको चपेटमा परेको छ।’

लहानको यस सुनचाँदी बजारमा उदयपुर, सप्तरी, सिरहादेखि सीमावर्ती भारतीय बजारका समेत ग्राहक झुम्मिने गर्छन्। विवाहको मौसम भएकाले अहिले यो क्षेत्र लहानको सबैभन्दा बढ्ता भीडभाड हुने क्षेत्र हो।  

संक्रमण पुष्टि भएका सुनचाँदी व्यापारीमा ज्वारो, रुघाखोकीसहित कोरोनको कडा लक्षण देखिएको अध्यक्ष गुप्ताले बताए।  

लहान क्षेत्रमा कोरोनाका ३० जना संक्रमित मध्ये अधिकांश संक्रमित घरमै छन्। घरमा बस्ने संक्रमितको अनुगमन, उपचार र समन्वयको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको स्वास्थ्य शाखाको हुन्छ। तर यहाँका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादव संक्रमितको अवस्थाबारे अनविज्ञ छन्। कडा लक्षणका व्यक्ति स्वाब दिएर व्यपार संचालन गर्दा समेत नगरपालिकाको स्वास्थ्य शाखा बेखबर रह्नु बिडम्बना भएको लहानका सरोज यादवले बताए। 

नगरमा संक्रमण व्यापक रुपमा फैलिरहँदा पनि स्वास्थ्य शाखा चुपचाप बस्नुले संक्रमणको फैलाबटलाई बल पुगेको उनले बताए।

प्रकाशित: २८ वैशाख २०७८ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App