coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बगैँचा सामुहिक, उत्पादन व्यक्तिगत

जुम्ला तातोपानी गाउँपालिका ६ हियाखोलाका भक्तबहादुुर विष्टको स्याउ बगैँचामा २४  विरुवा छन् । स्याउका विरुवाको रेखदेख र संरक्षणमा जुटेका छन् उनी । पहिले धेरै पटक स्याउ रोपेका विष्टले यो पटक धेरै मेहनत त गर्नु परेको छैन् । तर अधिकांश समय स्याउ बगैँचामै छुट्याउने गरेका छन । गाउँका एक सय २० घरपरिवार मिलेर सामुहिक स्याउ बगैँचा निर्माण भएपछि यहाँका हरेक किसानलाई सहज भएको छ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोनले स्याउका विरुवा र घेराबारमा ५० अनुदान दिएपछि गाउँले मिलेर सामुहिक बगैँचा बनाएका छन । सामुहिक बगैँचा भित्र रोपिएका स्याउ विरुवा भने व्यक्तिगत नै हुने छन् । उत्पादन पनि व्यक्ति कै हुनेछ । स्याउ सुपरजोनले ४६ लाख रुपैयाँमा घेरावार र स्याउका विरुवा उपलब्ध गराएको छ ।  

पहिले स्याउका विरुवा रोप्दा गाइबस्तुको आहारा बन्थ्यो, अहिले सामुहिक स्याउ बगैँचाको अवधारणाले स्याउका विरुवा सुरक्षित छन । यो क्षेत्रमा पहिले पनि स्याउ रोपे । तर उचित घेरबारको अभावमा स्याउ रहेन । न स्याउ रह्यो नत रहेको स्याउ फल्यो, भक्तबहादुरले भने,‘ अहिले स्याउ पनि बचेका छन । घेराबारले सुरक्षित पनि हुनेछन । यो जुम्लामा पहिलो पटक गरिएको सामुहिक स्याउ बगैँचाको अभ्यास हो । ’

स्थानीय देविकन्य आचार्य सुख्खा क्षेत्र भएकोले स्याउ बगैँचाको कल्पना समेत नभएको बताउँछिन । हामी पानी विना छटपटाइरहेका थियौँ । भएका मुहान सुकिसकेका थिए । सिँचाइको कुनै पनि विकल्प थिएन । उनले भनिन,‘सामुहिक स्याउ बगैँचाको अवधारणाले बगैचाको घेरबार पनि संभव भयो । सिचाइँ सुविधाको लागि पहल पनि भयो । यो यहाँका किसानका लागि राम्रो पक्ष हो । यो बगैँचा किसानको राम्रो आमदानीको स्रोत बन्नेछ ।  ’

यहाँका किसानको जीवन भनेकै स्याउका बिरुवा हुन । जसरी छोराछोरीलाई हर्कायौँ। त्यसरी नै स्याउका विरुवा हुर्काउँछौँ । बुढेसकालको साहरा बन्नेमा ढक्क छौँ । ’ सामुहिक खेति गर्दा   निकै सजिलो भएको अनुभव सुनाइन । उनले भनिन,‘सामुहिक स्याउ खेति गर्न सधैँभरी प्रेरणा दिने स्याउ सुपरजोन कुशल अभिभावक बन्यो । जसका कारण अहिले स्याउखेति गर्न आकर्षित हुन थाल्यौँ । ’

सामुहिक स्याउ बगैँचा हेर्न बगैँचामै पुगेका कर्णाली प्रदेशका कृषि सचिव राजेन्द्रप्रसाद मिश्रले सामुहिक स्याउ बगैँचामा स्थानीय किसानको योगदानको प्रशंसा गरे । उनले भने,‘सरकारले खोजेको पनि यही काम हो । सामुहिक कार्यमा सधैँ सरकारको साथ रहन्छ । ’

 सचिव मिश्रले बगैँचामै पुगेर किसानलाई सम्मान गरे ।  उनले भने,‘यहाँका डाँडाकाँडामा फलफुल उत्पादन हुन्छ । फलफुल लगाउनुहोस, आर्थिक समृद्धि हासिल गर्नुहोस ।सरकार यही चाहन्छ । ’

यहाँका हरेक डाँडामा सुन फल्छ । हरेकका समस्या संवोधन गर्न सकिदैन । सबै मिलौ । समुदाय जुटे भने आर्थिक समृद्धिको आधार खोज्नु पर्दैन । सभावना नै संभावना छ यहाँ । यो संभावना टिपेर समृद्धिको यात्रा अघि बढाउनुस । यसैमा किसानको भलाइ हुनेछ । सचिव मिश्रले भने,‘ एक्लै अघि बढ्न सकिदैन । किसानहरु मिल्नुस । सरकार साथ दिन तयार छ । फलफुल र पशुपालन सरकारको प्रथामिकतामा छ । तपाइ उठन खोज्नुस, मन्त्रालय उठाउन तयार छ । तपाइ हिड्न खोज्नुस, सरकार दौडाउन तयार छ ।’

समुदाय मिले कृषिका हरेक पाटा पक्षमा सरकार साथ दिन्छ । यो बगैँचामा सिचाइँको व्यवस्था गर्न अधिकतम पहल गर्ने उनले बताए ।  प्राविधिक र आर्थिक पाटोलाई मध्येनजर गर्दै इमान्दारपुर्ण प्रयास हुनेछ । सायद अर्को पटक यो सडकमा हिड्दा सिचाइको व्यवस्था भएको हुनेछ । बगैँचामा बिरुवाले नमस्कार गर्नेछन । खादा विरुवाले ओढाउनेछन । मल,जल मेहनत गरेर विरुवा जोगाउनुस । माटो इमान्दार चिज हो । जति मेहनत गर्यो । उति प्रतिफल दिन्छ ।’

स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारी निकै चुनौतिका बीच सामुहिक बगैँचा निर्माण भएको बताउँछन । उनले ४६ लाख रुपैयाँको लागतमा ६ हजार स्याउका बिरुवा अटाउने गेट सहितको नेपालकै नमुना सामुहिक स्याउ बगैँचा स्थापना गर्न सकेको बताउँछन ।  

विरुवा र घेरवार सुपरजोन दियो । यसमा पाँच लाख रुपैया्ँ तातोपानी गाउँपालिको सहयोग गरेको छ ।  लिफट सिचाइको लागि प्रदेश सरकार संग पहल भइरहेको छ । प्रमुख भण्डारीले भने,‘साना किसानका लागि स्याउमा व्यवसायीकरण गर्ने हो भने यस्तै गाउँ जम्मा गरौँ । प्रत्येक व्यक्तिको बगैचाको सरकार घेराबार गर्न सक्दैन । गाउँ  नै घेरिन्छ भने सर्पोट गर्छौ भनेर सामुहिक बगैँचाको अबधारणा ल्याएका हौँ । यो साकार भयो ।’

राज्यले हेर्ने विपन्न बर्गलाइ नै हो । विपन्न नागरिक मिलेर कृषि कर्म गर्नुपर्छ ।  यहाँ चाहिने लिफ्ट सिचाइको लागि एक करोड १५ लाख रुपैयाँको स्टमेट बनिसकेको छ । गाउँपालिकाले स्टमेट तयार पारेको छ ।  एक सय २० घरको यो सामुहिक बगैँचा हो । बगैँचा सामुहिक हुन्छ । किसानले आफनो बारीको स्याउ व्यवस्थापन,काँटछाँट,मलजल आफैगर्छन । यो बगैँचा २ लाख बर्गमिटरमा फैलिएको छ ।  

बगैँचामा रेड, रोयल  र गोल्डेन जातको छ । १ हजार ९ सय २० मिटर घेराबार गरिएको छ ।  बगैँचा भित्र कोशेवाली र  जडिबुटी खेति पनि गर्न सकिन्छ । प्रमुख भण्डारीले किसानको पक्षमा काम गर्न सदैव तयार रहेको बताउँदै किसानले निर्धक्क भएर इमान्दारीपुर्ण तरिकाले काम गर्नुपर्ने बताए ।  

कृषि विज्ञ बेदप्रसाद चौलागाइँले जुम्ला स्याउको राजधानी भएको बताए । उनले भने,‘ जुम्ला स्याउको राजधानीले चिनिदै आएको छ । किसानहरु पनि व्यवसायीक स्याउ खेति तिर लाग्नु पर्ने भयो । स्याउ खेतिले मात्र कर्णालीमा समृद्धि हासिल गर्न सकिने भएकोले स्याउको उत्पादनमा जोड दिनुपर्छ । ’ उनले सामुहिक स्याउ बगैँचा उदाहरण भएको बताउँदै जुम्लामा दर्जनौ स्याउ बगैँचा निर्माण हुनु पर्नेमा जोड दिए ।

प्रकाशित: २५ वैशाख २०७८ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App