७ वैशाख २०८१ शुक्रबार
अर्थ

कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको

कोरोना संक्रमितलाई बचाउने आधार नै अक्सिजन बनेपछि बल्ल खोजी सुरु

पोखरा औद्योगिक क्षेत्रमा संचालित पोखरा अक्सिजन प्लान्टमा काम गर्दै कर्मचारी । तस्बिरः उशेम पुन/नागरिक

पोखरा औद्योगिक क्षेत्रभित्र अक्सिजन उत्पादनका दुईवटा प्लान्ट छन् । कालिगण्डकी र पोखरा यहाँका दुईवटा अक्सिजन उत्पादन गर्ने प्लान्ट हुन् । वर्षाैअघिदेखि यहाँका यी दुई प्लान्टले अक्सिजन उत्पादन गर्दै आएका छन् । प्लान्टबाट उत्पादित मध्ये अधिकांश अक्सिजन मेटल उद्योग, जलविद्युत र व्यक्तिगत रुपमा घरमा उपयोग हुन्थ्यो ।

अक्सिजन चाहिने दीर्घरोगीका लागि घरमै लैजाने हुँदा केही अक्सिजन खपत हुँदै आएको थियो । यी प्लान्टको उत्पादन न्यून मात्रामा अस्पतालमा उपयोग हुन्थ्यो, किनभने अस्पतालले आफैले पनि अक्सिजन उत्पादन गरेर आवश्यकता अनुसार बिरामीका लागि प्रयोग गर्दै आएका थिए । अस्पतालको आन्तरिक उत्पादनले नपुग्ने अवस्था कहिल्यै सिर्जना भएको थिएन । अस्पतालमा अहिलेजस्तो माग पनि कहिल्यै थिएन ।  

अस्पतालमा माग कम हुने, उद्योग तथा जलविद्युत र घरायसी उपयोग मात्र खपत हुने भएपछि यी प्लान्टले आफ्नो क्षमता अनुसार उत्पादन गर्न पनि पाएका थिएनन । किनकी माग नै उत्तिसारो थिएन । मेटल उद्योग र जलविद्युत उत्पादनको मागको भरमा मात्र प्लान्ट धानिनुपर्ने बाध्यता थियो ।  

कोरोना भाईरस संक्रमणको दोश्रो लहर फैलिन सुरु हुनुअघि यहाँका अक्सिजन प्लान्टको अधिकांश उत्पादन अस्पताल बाहिरै खपत हुन्थ्यो । यसअघि अक्सिजनको उत्तिसारो हाहाकार कहिल्यै नभएकोले यहाँ अक्सिजन उत्पादन गर्ने अरु प्लान्ट पनि थपिएनन । दुईवटाकै उत्पादन प्रयाप्त भएकोले पनि नयाँ लगानीकर्ता भित्रिएनन् । अरु बस्तु उत्पादन गर्ने उद्योग थपिँदै गर्दा अक्सिजनका प्लान्ट थप्नेतिर कसैको चाँसो थिएन ।  

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्रीय प्रबन्धक भूषणकुमार उपाध्याय भन्छन, ‘औद्योगिक क्षेत्रभित्रका यी दुईवटा अक्सिजन प्लान्टले कहिल्यै आफ्नो क्षमता अनुसार उत्पादन गर्न पाएका थिएनन । किनभने यी उद्योगको उत्पादन क्षमता निकै नै बढि छ । तर, माग भने कम थियो ।’ क्षमता अनुसार उत्पादन गर्न यी प्लान्ट कहिल्यै बाध्य नभएको उपाध्यायले बताए ।  

‘अधिकांश अस्पतालले आफ्नै उत्पादन गर्थे । आफै उत्पादन नगर्ने अस्पतालले पनि चाहिएजति अक्सिजन प्लान्टमा किन्न पाउँथे । सबै बिरामीलाई अक्सिजन नचाहिने भएकोले अस्पतालको खपत पनि उत्तिसारो थिएन । ‘बल्ल अहिले माग बढेको हो । अक्सिजन प्लान्टको आवश्यकता बोध बल्ल भएको हो । यसअघि त अस्पताल भन्दा मेटल उद्योग र जलविद्युत कम्पनि तथा केही व्यक्तिगत प्रयोजनमा घरमा लैजाँदाको भरमा मात्र यी प्लान्ट धानिएका थिए,’ उपाध्याय भन्छन, ‘दुईवटा प्लान्टलाई नै काम नपुगेको बेला अरु लगानीकर्ता पनि यो क्षेत्रमा भित्रिन चाहेनन । किनकी भएका दुईवटा प्लान्टलाई नै काम पुगेको थिएन । नयाँ प्लान्ट भित्रिएर पनि काम थिएन ।’  

उपाध्यायका अनुसार क्षमता अनुसार यी प्लान्ट अहिले पनि पूर्ण क्षमतामा चल्न पाएका छैनन । किनभने अहिले भने उत्पादन गरेको अक्सिजन भर्ने सिलिन्डर अभाव छ । सिलिन्डर भएमा आवश्यकता र माग अनुसार उत्पादन गर्न प्लान्ट सक्षम छन् । तर, सिलिन्डर नै छैनन् । ‘पहिले माग कम थियो, भरिएका सिलिन्डर महिनौसम्म उपयोगमा आउँदैनथे । अहिले सिलिन्डर अभाव छ, उत्पादन गरेर मात्र भएन,’ उनले भने । उपाध्यायका अनुसार दुईवटा प्लान्टले एकघण्ठामा झन्डै ७०–८० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता राख्छन ।  

‘सरकारले तत्कालै एकहजार सिलिन्डर भित्रयाउन सक्ने हो भने पोखरामा अक्सिजन अभाव हुँदैन,’ उनले भने, ‘उत्पादन क्षमता प्लान्टसँग छ । तर राख्ने भाँडो अभाव हो ।’ उनका अनुसार अक्सिजन सिलिन्डर भारत र चीनमा मात्र पाइन्छन् । अहिले भारतले सिलिन्डर बिक्री गर्न रोकेको छ । चीनबाट ल्याउन तदारुकता देखाउने हो भने केही सहज हुने उनले बताए ।  

अक्सिजन उत्पादन गर्ने प्लान्टका संचालकहरु पनि अहिले सिलिन्डर अभाव भएको बताउँछन् । कालिगण्डकी अक्सिजनका संचालक कालिदास बराल भन्छन, ‘व्यक्तिगत रुपमा घरमा लैजान दुईसाता देखि रोक लगाएका छौ । भएजतिका सिलिन्डर उपयोगमा छन । सिलिन्डर अभाव हुँदा चाहेजति उत्पादन गर्न पाएका छैनौ ।’ उनले सिलिन्डर प्रयाप्त आकारमा नपाउँदा बढी अप्ठेरो पर्ने सम्भावना रहेको बताए । 

‘दिनमै १८ घण्टासम्म पनि प्लान्ट चलाउन हामी तयार छौ । तर, सिलिन्डर प्रयाप्त छैनन । अहिले अस्पतालमा मात्र माग हो,’ बरालले भने, ‘पहिला अस्पतालमा निकै नै कम खपत हुन्थ्यो, अहिले बल्ल माग बढेको हो, अस्पतालमा बल्ल अक्सिजन खोजी हुन थालेको छ ।’ उनका अनुसार यो प्लान्टसँग पुराना घरायसी ग्राहक चारसय जति छन् । दीर्घरोगीका लागि घरमा सिलिन्डर प्रयोग हुने गरेको छ । ‘पहिल्यैदेखि सेवा लिईरहेका ग्राहकलाई अहिले पनि दिन बाध्य छौ । किनकी उनीहरु पनि बिरामी नै हुन् । घरमा अक्सिजनको भरमा बाच्ने बिरामी पनि छन्,’ उनले भने, ‘नयाँ सिलिन्डर घरमा राख्न रोकेका छौ ।’ अहिले दिनमा साढे ५ सय लिलिन्डर उत्पादन गरिरहेको उनले बताए । उनले पनि यसअघि कहिल्यै पनि अक्सिजनको यो आकारमा माग नहँुँदा लगानीकर्ता पनि आकर्षित हुन नसकेको बताए ।  

पोखरा अक्सिजनका अध्यक्ष डा. प्रदीप घिमिरेले पनि उत्पादनमा समस्या नभएको तर सिलिन्डरको हाहाकार मात्र रहेको बताए । ‘हामीसँग पनि झन्डै १७ सय सिलिन्डर छन् । केही सिलिन्डर अन्यत्रै होल्ड पनि भएका छन,’ घिमिरेले भने, ‘दिनमा एकहजार सिलिन्डर भर्न सक्ने क्षमता छ । तर, उत्पादित अक्सिजन राख्ने सिलिन्डर अभाव छ ।’ उनका अनुसार कोरोना कहर सुरु हुनअघि अक्सिजनको खपत निकै नै कम थियो । उत्पादनको ५० प्रतिशत त मेटल उद्योग, जलविद्युतमा खपत हुने गरेको थियो । अहिले बल्ल अस्पतालमा माग बढेको हो ।

‘हामीले उद्योगमा पठाएका सबै सिलिन्डर फिर्ता गरिसकेका छौ,’ घिमिरेले भने, ‘अहिले अस्पतालमा माग बढिरहेको छ । तर, अब सिलिन्डर अभाव हुने देखेका छौ । तत्काल सिलिन्डर संख्या बढाउने हो भने उत्पादनमा समस्या छैन ।’ घिमिरेले पनि पहिलो पटक अक्सिजन प्लान्ट र सिलिन्डरको आवश्यकता सबैलाई महसुस भएको बताए । ‘कतै खोजि नभएको उद्योगको रुपमा अक्सिजन प्लान्ट थिए । बल्ल अहिले अप्ठेरो अवस्था आएको हो,’ उनले भने, ‘अक्सिजन नै अहिले बाच्ने अचुक औषधि बनेको छ ।’

प्रकाशित: २४ वैशाख २०७८ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App