८ वैशाख २०८१ शनिबार
अर्थ

बाँकेमा लकडाउनको असरः कुखुरा बिक्री नहुँदा तनावमा किसान

डेढ महिना अघिदेखि दाना, पानी र औषधि खुवाएर हुर्काएका ब्रोईलर कुखुरा खोरभरी छन्। तर, बिक्री गर्ने कुनै सुरसार छैन। हुर्केका कुखुरा बिक्री नहुँदा नेपालगन्ज–१७ परसपुरका कुखुरा पालक किसान मुबारक अलि अचेल निकै तनावमा छन्।  

नयाँ भेरियन्टसहित कोरोना भाइरस तीव्र रुपमा बढेपछि बाँके प्रशासनले यही वैशाख ९ गतेदेखि नेपालगन्ज क्षेत्रमा र वैशाख १३ गते रातीदेखि जिल्लाभर लकडाउन गरेको छ। लकडाउन लगत्तै तयार भएका कुखुरा बिक्री गर्न नपाउँदा युवा किसान मुबारकको लाखौंको लगानी जोखिममा परेको हो। ‘अहिले बजार खुल्दैन, पसल पनि खुल्दैनन्, कुखुरा कसैले पनि लैजान्न,’ पीडा पोख्दै उनले नागरिकसँग भने, ‘अत्यास लाग्दो गर्मी छ, गर्मीले गर्दा दिनहुँ कुखुरा मरिरहेका छन्, धेरै टेनसन भइरहेको छ।’ अचेल दैनिक रुपमा १२ देखि १५ हजार रुपैयाँ बराबरको कुखुरा मर्ने गरेको सुनाए।  

खोरमा कुखुरा राखेको सोमबार ४९ दिन पुगिसकेको छ। नेपालगन्जमा लकडाउन सुरु हुँदा कुखुरा ३७ दिनका मात्रै भएका थिए। लकडाउन हुने हल्ला सुनेपनि कुखुरा सानो भएका कारण त्यतिबेला बिक्री नगरेको मुबारक बताउँछन् । ‘लकडाउन हुनुभन्दा पहिले बेच्नलाई कुखुरा तयार भएका थिएनन्, अहिले तयार हुँदा बिक्री नै हुँदैन,’ उनले थपे। लकडाउन हुनुभन्दा अघिसम्म उनले जिउँदो कुखुरा थोकमा प्रतिकिलो २ सय ५० मा बिक्री गथ्र्ये। लकडाउनमा त्यो भन्दा कममा दिँदा पनि बिक्री भइरहेको छैन। उनले भने, ‘त्यति रेटमा अहिले कसैले लैजान्न, पसल नै खुल्दैनन्।’  

सुरुमा उनले खोरमा ९ सय ५० वटा चल्ला हालेका थिए। अहिले आधा जति मरेर ५ सय कुखुरा बचेका छन्। कुखुरामा उनको करिव ४ लाख लगानी लागिसकेको छ। ‘यसका लागि एक लाख १० हजारको चल्ला किनेको हुँ, २० हजारको त औषधि नै खर्च भएको छ,’ उनले भने, ‘३ हजार ८ सयको दरले ७० बोरा त दाना नै खुवाएको छु।’ कुखुरा बिक्री नहुने र गर्मीले दिनहुँ मरिरहँदा यसपटक लगानी नउठ्ने र एक/डेढ लाख उल्टो घाटा लाग्ने उनको अनुमान छ।  

करिव ८ वर्ष वैदेशिक रोजगारी गरेर फर्केका उनले गत वर्षबाट कृषिमा हात हालेका थिए। आफ्नै जमिनमा करिव ६ लाखको लगानीमा खोर तयार गरेका उनले गत वर्षबाट कुखुरा पाल्न थालेका हुन्। गत वर्ष चैतमा पहिलो पटक कुखुरा पाल्न सुरु गरेका उनलाई कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि पहिलो गाँसमै ढुंगा लाग्यो। तरपनि उनले हिम्मत हारेनन्। लकडाउन खुलेपछि उनी फाइदामा गए। बजारमा माग भएकाले कुखुरा पाल्न छाडेनन्। ‘पहिलो चोटी पोहोर साल कुखुरा पाल्दा दुई लाख जति घाटा भएको थियो, त्यसपछि फाइदा हुँदै गयोे, अहिले फेरि लकडाउनले घाटा गरायो,’ उनले भने। कुखुरा पालेरै आफूसहित श्रीमती र तीन जना छोरीको सम्पुर्ण खर्च चलाए। तर, यसपटक लकडाउनका कारण बजार बन्द हुँदा फेरि घाटा बेहोर्नु परेको मुबारक बताउँछन्।  

सरकारले लकडाउन गरेपनि किसानको उत्पादनलाई बिक्री गर्ने वातावरण मिलाउनुपर्ने उनको माग छ। ‘म यो आग्रह गर्छु कि, सरकारले हामी जस्ता किसानलाई सहयोग गर्नुपर्यो, हामीले आफ्नो उत्पादन बिक्री गर्न पाउनु पर्यो,’ उनले थपे। लकडाउनका कारण यतिबेला मुबारक जस्ता जिल्लाका थुप्रै किसान तनावमा छन्। अधिकांश किसानले आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन्।

प्रकाशित: २१ वैशाख २०७८ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App