८ वैशाख २०८१ शनिबार
अर्थ

निषेधाज्ञाले काठमाडौंका डेढ सयभन्दा धेरै योजना ठप्प

दोस्रो लहरको कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञाले काठमाडौं जिल्लामा निर्माणाधीन डेढ अर्बका डेढ सयभन्दा धेरै योजनाको काम ठप्प भएको छ। सडक डिभिजन कार्यालय, काठमाडौं मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम रोकिएको हो। निषेधाज्ञाले काठमाडौंमा नियमित रूपमा हुँदै आएको सडक स्तरोन्नति, कालोपत्रे, मार्किङ, फुटपाथ निर्माण, नयाँ कालोपत्रे सडक विस्तार, ड्रेनेज तथा ट्र्याक खन्ने, लगायत मर्मतसम्भारका सम्पूर्ण कार्य ठप्प भएका छन्।  

चालु आर्थिक वर्षभित्रै सकिने आयोजना पनि प्रभावित हुने सम्भावना बढेको छ। सडक डिभिजन कार्यालय, काठमाडौंका प्रमुख कुवेर नेपालीले कार्यालय मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम रोकिएको बताए। ‘निषेधाज्ञाले सबैजसो निर्माणाधीन काम रोकिएका छन्,’ उनले भने, ‘बुधबार बेलुकासम्म काम भइरहेको थियो। बिहीबारदेखि ठप्प छ। अब कहिले सुरु हुने भन्ने निश्चित छैन।’ प्रमुख नेपालीले निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर सडक मार्किङ, ओभरले, फुटपाथ निर्माण लगायत काम गर्ने योजना रहेको बताए।  

उनले सडक मर्मतसम्भार र स्तरोन्नति गर्ने मुख्य सिजनमै भएको निषेधाज्ञाले आवधिक मर्मतसम्भार र वार्षिक कार्यक्रम समेत प्रभावित भएको बताए। ‘डिभिजन कार्यालय मातहत डेढ अर्ब रूपैयाँभन्दा धेरैको योजना निर्माणाधीन छ,’ उनले भने, ‘बुधबारदेखि सम्पूर्ण योजनाको काम रोकिएिको छ।’  

कार्यालयले रोड मार्किङ, ज्रेबाक्रसिङ, ओभरले (कालोपत्रे), ड्रेनेज निर्माण, सडक कालोपत्रे तथा सडक आवधिक मर्मतसम्भार लगायत सम्पूर्ण कार्य प्रभावित भएको जनायो। ‘कोभिडको दोस्रो लहर संक्रामक खालको देखिएकाले पनि कामदार साइटमै राखेर निर्माण गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘कामदारलाई आवास र साइटमा ओसार्न छुट्टै व्यवस्थाको तयारी भइरहेको छ।’  

जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा एक सातामात्रै निषेधाज्ञा गरेकाले पनि अधिकांश कामदार उपत्यकाभित्रै रहेको उनको भनाइ छ। ‘अत्यावश्यक काम परेर त्यही ५–१० प्रतिशत आफ्नो थातथलो फर्किए होलान्,’ उनले भने, ‘अधिकांश कामदार साइटमै छन्।’ प्रमुख नेपालीले सरकारले आयोजना निर्माणको लागि कोभिड प्रोटोकोल तोकिदिएको खण्डमा सहज रूपमा काम गर्न सकिने बताए।

‘अघिल्लो वर्ष स्वास्थ्य मापदण्ड पालना गरेर उपत्यकामा सडक कालोपत्रे तथा स्तरोन्नतिको काम गरेका थियौं। अहिले पनि मापदण्ड पालना गर्दै काम गर्ने अनुमति पाउनेमा आशावादी छौं,’ उनले भने, ‘कोभिडको कारण देखाउँदै अब स्थानीयले जुन साइट हो, त्यहाँ कामदार राख्न दिँदैनन्। त्यसैले जिल्ला प्रशासनसँग अनुमति लिएर क्याम्पबाट कामदार उठाएर साइटमा ल्याउने र काम सकेपछि फेरि क्याम्पमा फर्काउन दिने व्यवस्था मिलाउनुपर्ने अवस्था छ।’  

डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको सडक मर्मतसम्भार गर्ने मुख्य सिजन हो। यसअन्तर्गत सडक स्तरोन्नति, ओभरले, रोड मार्किङ, जेब्राक्रसिङ, फुटपाथ लगायत संरचना निर्माणको काम हुन्छ। काठमाडौंको भित्री इलाका बाहेकको क्षेत्रमा पनि सडक कालोपत्रे गर्न तम्तयार अवस्थामा थियो। त्यो काम पनि निषेधाज्ञाले प्रभावित हुने सम्भावना बढेको छ। डिभिजन कार्यालयले साँखु–जर्सिङपौवा, कीर्तिपुर पुतलीसडक, थापाथली लगायत क्षेत्रका सडक तथा फुटपाथ निर्माणको काम प्रभावित भएको जनायो। कार्यालयका अनुसार कोटेश्वर–जडीबुटीमा तीन लेनको सडक विस्तार कार्य प्रभावित भएको छ। ‘यो योजनाको हिजोसम्म काम भइरहेको थियो। आजैदेखि रोकिएको छ,’ प्रमुख नेपालीले भने, ‘प्रशासनसँग पास लिएर काम अघि बढाउँछौं।’  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै साबिकको विमानस्थलको जग्गामा ट्र्याक खन्ने काम सकिइसकेको छ। कोटेश्वर–जडीबुटी तीन लेनको सडक विस्तारको ठेक्का तुँदी/सुसन जेभीले पाएको छ। सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ पुस २१ गते सम्झौता भएको थियो। कम्पनीले सात करोड ८१ लाख रूपैयाँमा यो सडक निर्माण गर्ने ठेक्का पाएको हो। आगामी असारभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो। प्रमुख नेपालीले कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दुई लेन र बायाँ एक लेन सडक थप गर्न लागिएको बताए। ‘जापान सरकारको सहयोगमा यो खण्डको सडक चार लेनमा निर्माण गरिएको थियो,’ उनले भने, ‘अहिले फेरि तीन लेन थप गर्न लागिएको हाे।'

प्रकाशित: २० वैशाख २०७८ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App