७ वैशाख २०८१ शुक्रबार
अर्थ

आन्तरिक पूरै र अन्तर्राष्ट्रियका आंशिक उडान बन्द

फाइल तस्बिर

उपत्यका लगायत देशभर कोरोना संक्रमण बढ्दै जाँदा सरकारले हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ। बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले आन्तरिकतर्फको पूरै र अन्तर्राष्ट्रियतर्फ आंशिक उडानमा रोक लगाउने निर्णय गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन्। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। सरकारको पछिल्लो निर्णय अनुसार बुधबार (वैशाख २२) देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइने छ।  

हाल उपत्यका लगायत तराईका जिल्लामा संक्रमण दर तीव्र गतिले बढ्दै गएकाले ती जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञामा यात्रुको आवागमनमा समेत समस्या र हवाई सेवामा भीड देखिएकाले अर्काे सूचना नआउन्जेल आन्तरिकतर्फको उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सरकारको पछिल्लो निर्णय अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई भने अनुमति दिने निर्णय भएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार भारत लगायत तीन देशका यात्रु नेपालमा रोक लगाए पनि मिडिल इस्ट र टर्कीबाट भने नेपाल आउने बाटो खुला छ। भारत लगायत देशमा पछिल्लो समय कोरोनाको संक्रमणदर तीव्र रहेकाले त्यहाँबाट आउने यात्रुलाई कडिकडाउ गरिएको उनले बताए।  

दुबई, सारजहा, अबुधावी, साउदी अरेबिया, कुवेत, जापान, कोरिया, चीन मलेसियाका यात्रु भने तोकिएको मापदण्ड अनुसार नेपाल आउन सक्नेछन्। हाल सरकारले नेपाल प्रवेश गर्न १० दिनको होटल क्वारेन्टिन बुकिङ गरेको प्रमाण र ७२ घन्टाभित्र गरिएको कोरोना परीक्षणको रिपोर्टको आधारमा अनअराइभल भिसा दिँदै आएको छ। तर नेपालीको हकमा भने होटल क्यारेन्टिन प्रभावकारी भएको देखिँदैन। विभिन्न देशमा संक्रमण बढ्दै जाँदा कतिपय देशले नेपालबाट हुने हवाई यात्रामा रोक लगाएका छन्।

कोभिड संक्रमण रोकथाम निर्देशक समितिले यसअघि पनि आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। नेपालमा कोरोनाको संक्रमण बढ्दै जाँदा हाल हङकङ, सिंगापुरले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएका छन्। नेपालमा कोरोना भाइरस संक्रमणले तीव्रता पाएसँगै हङकङ र सिंगापुर सरकारले उडानमा प्रतिबन्ध लगाएका हुन्।

अन्य देशबाट आएकामा कोरोना संक्रमण देखिएसँगै हङकङले प्रतिबन्धको नियमलाई थप कडाइ गरेको छ भने उसले भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ जाने उडानमा यसअघि नै प्रतिबन्ध लगाइसकेको छ। भारतबाट हुने उडानमा अमेरिका र अस्ट्रेलियाले पनि प्रतिबन्ध लगाएका छन्।  

कोरोना भाइरस नेपाल भित्रिएसँगै सुनसान बनेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता पछिल्लो समय विस्तारै बढ्दै जाँदा पुनः पोहोरकै गति हुने देखिएको छ। महामारीका कारण लामो समय सुनसान विमानस्थलमा एक वर्षपछि यात्रुको ओहोर–दोहोर बाक्लिँदै गएको थियो। यो वर्ष मार्चमा मात्रै एक लाख २९ हजार आठ सय ६२ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए। उक्त संख्या हवाई मार्गबाट नेपाल आउने र जानेको हो।

अध्यागमन विभागका अनुसार मार्चमा पोहोर चैतयताकै सबैभन्दा धेरै विदेशी नेपाल भित्रिएका थिए। मार्चमा नेपालसहित एक सय ३९ देशका यात्रुले विमानस्थल प्रयोग गरेका थिए भने एक सय ३८ देशबाट १४ हजार नौ सय ७७ विदेशी नेपाल आएका थिए। 

प्रकाशित: २० वैशाख २०७८ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App