१६ चैत्र २०८० शुक्रबार
अर्थ

गल्छी–रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइओभर बन्ने

३३ मिटर अग्लो फ्लाइओभर पुल निर्माण हुने क्षेत्र। तस्बिर: हिमनाथ /नागरिक

चीनसँगको प्रमुखमध्येको एक व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ३३ मिटर अग्लो फ्लाइओभर बन्ने भएको छ। गल्छी–रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने त्रिशूली थ्री ए र त्रिशूली थ्री बीको पावरहाउस क्षेत्रमा उक्त फ्लाइओभर निर्माण गर्न लागिएको हो। यस क्षेत्रमा सडक निर्माणको लागि पर्याप्त स्थान नभएका कारण फ्लाइओभर निर्माण गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।  

यसको प्रारम्भिक अध्ययन भएको छ। यसको प्रारम्भिक ड्रइङ डिजाइन तयार भएको छ। यसको इस्टिमेट स्वीकृत भएपछि काम अघि बढ्ने बताइएको छ। नेपालमा यसअघि निर्माण भएका फ्लाइओभरहरू १० मिटरसम्म अग्ला छन्। त्यसकारण यो नेपालकै पहिलो अग्लो फ्लाइओभर हुनेछ। फ्लाइओभर निर्माणका लागि डेड अर्ब रूपैयाँ खर्च हुनेछ।  

यो पुल ६ सय मिटर लामो हुन्छ। गल्छी–रसुवागढी सडक खण्डमा आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्न लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए, जसमा यो पुल निर्माण पनि पर्छ। ‘यो सडकमा हामीले नयाँ प्रविधि भित्राउँदै छौं,’ उनले भने, ‘यसमा फ्लाइओभर पुल निर्माण, पहिरो नियन्त्रण र नेटवर्क आर्क पर्छ।’  

सडक खण्डको तीन स्थानमा पहिरो नियन्त्रणका लागि योजनाले रक एंकरिङ र सोयल नेलिङको कार्य गर्नेछ। १८ मिटरसम्म गहिरो पल बनाएर त्यसमा रड घुसाउने हाई स्टेन कंक्रिटको ग्राउटिङ गरिन्छ। बाहिर सर्फेसमा आरसिसी बिमहरू निर्माण हुन्छ। बिममा नट बोल्ट लगाउने काम हुनेछ। पहिरो नियन्त्रणको यो कार्य दुई वर्षमा सकाउने योजनाको लक्ष्य छ। यसका लागि ५१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। योजनाका अनुसार यो काम तिरतिरे भीर, जिलिङ र कोल्पुटारमा हुने छ। अहिले योजनाले पैरेबसीको पहिरोको अध्ययन गरिरहेको छ।  

यसैगरी, योजनाले तीन स्थानमा नेटवर्क आर्क (सिग्नेचर ब्रिज) निर्माण गर्नेछ। यसका लागि २५ करोड रूपैयाँ खर्च हुने योजनाले जनाएको छ। सहरको सुन्दरता बढाउनका लागि यो पुल निर्माण गरिन्छ। यो नुवाकोटको बट्टारस्थित राममन्दिर र आर्मी ब्यारेकको दायाँबायाँ निर्माण हुने योजनाले जनाएको छ। रसुवागढी नाका जोड्ने छोटो बाटोको रूपमा रहेको गल्छी–मैलुङ सडकको स्तरोन्नतिको काम ६८ प्रतिशत सकिएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाएकोमा गल्छीदेखि मैलुङसम्मको ६८ प्रतिशत काम सकिएको हो। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १९ वैशाख २०७८ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App