७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतबाट प्रतिस्पर्धी दरमा बिजुली आयात सुरु

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट प्रतिस्पर्धी दरमा सोझै बिजुली खरिद गर्न सुरु गरेको छ। प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्नेछ। योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।  

पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरिद गर्न प्राधिकरण सफल भएका हो। शाक्यले सबै शुल्कसहित विद्युत्को प्रतियुनिट मूल्य ३.८१ भारतीय रूपैयाँमा खरिद गरेको बताए। ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा बिजुली पाएका छौं, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रूपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत् खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने। 

प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु छ। प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत विद्युत् आयात  गरिरहेको छ। प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभिभिएन)बीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिदबिक्री गर्ने सम्झौता (पिपिए) भएको छ। पिपिएको म्याद ३० जुन २०२१ सम्म छ।

प्रकाशित: १९ वैशाख २०७८ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App