८ वैशाख २०८१ शनिबार
अर्थ

डोल्पाका यार्सागुम्बायुक्त पाटन जेठ १० गतेदेखि खुल्ने

बहुमूल्य जडिबुटी यार्सागुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाका यार्सा पाटनहरु आउँदो जेठको १० गतेबाट संकलनको लागि खुला गरिने भएका छन्।

जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षीय बैठकले जिल्लाका दुई दर्जन बढी यार्सायुक्त पाटनहरु जेठ १० गतेबाट संकलनको लागि एकै साथ पाटनहरु खुला गरि प्रवेश अनुमति दिने निर्णय गरेको हो।

जिल्लाका तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाईमा पाइने यार्सागुम्बा संकलनको लागि प्रवेश अनुमति दिने निर्णय भएको हो। जिल्लाका राष्ट्रिय वन, सामुदायिक वन र शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको वन क्षेत्रका पाटनहरुमा यो निर्णय लागु हुने छ।

विगतका वर्षहरुमा जेठको पहिलो हप्ताबाटै डोल्पाका यार्सागुम्बा पाइने पाटनहरु संकलनको लागि खुला गरिँदै आएका थिए।

गत वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भने यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो। यार्सा गुम्बामाथि रोक लगाइएएपछि डोल्पालीको मुख्य आम्दानीको स्रोत बन्द भएको थियो। विगतका वर्षहरुमा संकलनको लागि( क) वर्ग राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाको लागि पाँच सय जिल्ला भित्रका नागरिकको लागि दुई हजार र जिल्ला वाहिरका नागरिकको लागि तीन हजार राजस्व शुल्क निर्धारण गरिएको थियो। तर यो वर्ष भने सम्बन्धित वन समिति र निकुन्ज मध्यवर्ती क्षेत्रका समितिहरुले प्रवेश शुल्क के कति लिने बारेमा समयानुकुल निर्णय लिन सक्ने निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।

गत वर्ष कोभिडको कारणले बन्द रहेका यार्सागुम्बा पाटनहरु यो वर्ष भने जेठ १० गतेबाट खुल्ने विषयमा छलफल भई निर्णय भएको तर कोरोनाको संक्रमण भयावह अवस्था आएमा पुनः रोक लाग्न सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाले बताए। यार्सागुम्बा संकलन अवधिभर वनमा मदिराजन्य कुनैपनि पेयपदार्थ लिन नपाइने, जुवातास तथा लंगुरवुर्जा खेल्न खेलाउन नपाइने र यार्सागुम्बा संकलन क्षेत्रमा आवश्यक ओषधिसहितको स्वास्थ्यकर्मीको मोवाइल टोली खटाइने निर्णय भएको छ। सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बिशेष सुरक्षागस्ती पठाउने र स्वास्थ्य मापदण्ड निर्धारण सम्बन्धमा जिल्ला संकट ब्यवस्थापनको बैठकले निर्णय गर्ने गरि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले जानकारी दिए।  

यसैगरि निकुन्ज वन क्षेत्रका पाटनहरुमा यार्सागुम्बाको चोरी सुरु समेत भएकाले सम्पूर्ण सीमा नाकाहरुमा सुरक्षा परिचालनमा कडाई गर्न निकुन्ज प्रशासनसंग समन्वय गरिएको पनि समन्वय प्रमुख बुढाले बताए। सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि, जिल्ला वन डिभिजन कार्यालय, शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका प्रमुख निकुन्ज वन क्षेत्रका मध्यवर्ती समितिका अध्यक्ष र सरकारी तथा सामुदायिक वन समितिका पदाधिकारी लगायत संचारकर्मिको सहभागिता थियो।

प्रकाशित: १७ वैशाख २०७८ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App