coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजारमा बढ्याे खाद्यान्न सामान जोहो गर्नेको भीड

लकडाउन हुने आशंकामा खाद्यान्न तथा मरमसाला जोहो गर्नेहरुले गर्दा बजारमा भीडभाड भएको छ । गत वर्षको जस्तै लकडाउन हुँदा अप्ठ्यारो पर्ने सम्भावना रहेको भन्दै ग्राहकहरु घरायसी प्रयोजन तथा भान्छाका सामल किन्न बजारमा ओइरिएका हुन् ।

सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको र रौतहटमा पनि कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको सन्दर्भमा स्थानीयबासीमा लकडाउन वा निषेधाज्ञाको आशंका बढेर गएको हो । लकडाउनको समयमा घरकै सामान व्यवस्थापनमा समस्या देखिने हुनाले सर्वसाधारणले बजारबाट दाल, चामल, लामो समयसम्म टिक्ने गेडागुडी तथा तरकारी, साबुन, तेल लगायतका सामग्री जोहो गर्न थालेका हुन् । यसरी सामान जोहो गर्ने प्रवृत्ति बढ्दा बजारमा भीडभाड बढेको हो ।  

घरायसी प्रयोजनको सामान किन्नेको संख्या ह्वात्तै बढेकाले बजारमा खाद्यान्न लगायत विभिन्न सामग्रीको मूल्य वृद्धि भएको गुनासो पनि आएको छ । बजारमा सामानको मूल्य अचाक्ली बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

बिहीबारसम्म रौतहटमा सक्रिय संक्रमितको संख्या एक सय तेर पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । तत्काल लकडाउन वा निषेधाज्ञाको सम्भावना नरहेको बताउँदै प्रजिअ यादवले कोरोना संक्रमणलाई सकेसम्म न्युन पार्न सुरक्षा सतर्कता बढाइएको, सडकमा चेकजाँच बढाइएको, मास्कको प्रयोगमा व्यापक ध्यान दिइएकोले सर्वसाधारणलाई त्यसो लागेको हुन सक्ने बताएका छन् ।  

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा कृत्रिम मूल्य वृद्धि गर्ने गुनासो आउनासाथ अनुगमन गर्ने बताउँदै प्रजिअ यादवले बजारमा कुनै पनि खाद्यान्न सामग्रीको आपूर्ति कम नभएको तथा बजार सामान्य र सहज भएको प्रतिक्रिया दिएका छन् ।  

अहिले बिहेबारीको समय भएको, दुई चार दिन निकै कडा लगन भएको तथा मुस्लिम समुदायको एक महिने व्रत रमजान चलिरहेकोले बजारमा सामग्री किन्नेहरुको स्वाभाविक भीडभाड भएको कतिपयको भनाइ छ । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बजारमा अहिलेको भीडभाड स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।

लगनको समय छ, गाउँघरमा कुल देवताको पूजा गर्ने सिजन पनि यही हो र मुस्लिम समुदायको रमजानको महिना भएकोले बजारमा सामान किन्नेहरुको भीड स्वाभाविक भएको अध्यक्ष जयसवालको भनाइ छ ।

प्रकाशित: १६ वैशाख २०७८ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App