coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यो वर्ष पनि लक्ष्य अनुसार पुल नबन्ने

कोभिड १९ को दोस्रो लहरले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको तीन सय पुल निर्माण कार्य थप एक वर्ष धकेलिने सम्भावना बढेको छ। सरकारले चालु आर्थिक वर्षभित्र तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। तर दोस्रो चौमासिकको अन्त्यसम्म एक सय २९ वटा मात्रै निर्माण सम्पन्न भएको छ। गत आर्थिक वर्षमा जस्तै यसपालि पनि लक्ष्य अनुसार पुल निर्माण नहुने सम्भावना उच्च देखिएको छ।  

सरकारले चालु आर्थिक वर्षभित्र रणनीतिक सडक पुल र स्थानीय सडक पुल गरेर तीन सयवटा निर्माण गर्ने लक्ष्य राखेको थियो। सडक विभागका उपमहानिर्देशक शिव नेपालले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार पुल निर्माण कार्य नहुने सम्भावना बढेको बताए। ‘पुल निर्माणको मुख्य सिजनमै कोरोनाको दोस्रो लहर सुरु भइसकेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा गत वर्षमा जत्तिकै पुल निर्माण हुने सम्भावना देखिन्छ।’  

सडक विभागका अनुसार गत आर्थिक वर्षमा दुई सय १० वटा पुल निर्माण सम्पन्न भएको थियो। कोरोना महाव्याधीको सन्त्रासले चालु आर्थिक वर्षमा लक्ष्य अनुसार पुल निर्माण हुने सम्भावना देखिएको छैन। ‘पुल निर्माणको सबैभन्दा उपयुक्त सिजन भनेको नै फागुनदेखि जेठसम्मको अवधि हो,’ उनले भने, ‘चैत वैशाख महिनामा नदीको बहाव अत्याधिक मात्रामा घट्ने गर्छ। सोही समयलाई उपयोग गर्दै नदीमा पुलका ढलानको काम गरिन्थ्यो। तर अहिले कोरोनाको कारण ढलानको कामै हुन पाएको छैन।’  

उपमहानिर्देशक नेपालले दोस्रो कोरोनाको प्रभाव तथा असर कस्तो पर्ने अहिलेसम्म कुनै टुंगो नभएकाले पनि कति असर पर्छ भनेर पूर्वानुमान गर्न नसकिने बताए। ‘नेपालगन्ज क्षेत्रमा लकडाउन भइसकेको छ। सो क्षेत्र भएर जाने ठाउँमा पनि प्रभाव परिसकेको छ,’ उनले भने, ‘लकडाउनको कारणले चालु आवभित्रै निर्माण सम्पन्न हुने पुल पनि अर्काे वर्ष धकेलिने सम्भावना बढेको छ।’  

उनका अनुसार यो बेला गर्न नसके फेरि यही काम गर्न अर्काे वर्ष कुनुपर्ने बाध्यता हुन्छ। ‘त्यसैले कोरोनाकै कारणले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने पुल अर्काे वर्ष धकेलिने निश्चित भइसक्यो,’ उनले भने।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह कोरोना भाइरसको कारण सबैभन्दा धेरै पुल निर्माण प्रभावित भएको बताउँछन्। ‘पुल निर्माणको लागि फागुनदेखि वैशाखसम्म पुल निर्माणको लागि उपयुक्त सिजन हो,’ उनले भने, ‘यही बेला नदी डाइभटदेखि पुलको फर्मा निर्माण गरेर ढलानको काम गरिन्थ्यो। तर कोरोनाको दोस्रो लहर सुरु भएकाले फेरि पुल निर्माणमा समस्या देखिने सम्भावना बढेको छ।’  

उनका अनुसार नदीको बहाव नियन्त्रण गरेर गर्नुपर्ने निर्माणका काम धेरै प्रभावित भएको छ। अध्यक्ष सिंहले एक महिनाको कारणले आयोजना एक वर्षभन्दा धेरै धकेलिने अवस्था आउनु निकै दुखद भएको बताए। ‘जेठ लाग्नेबित्तिकै नदीको बहाव बढ्ने भएकाले पुल निर्माणको काम चाहेर पनि गर्न सकिदैने,’ उनले भने, ‘जेठ महिनाबाटै मनसुन सुरु भएसँगै पुल निर्माणको काम ठप्प हुन्छ। त्यसैले अर्काे वर्ष कुर्नुको विकल्प देखिँदैन।’  

गत वर्ष २१० पुल

विभाग मातहतको पुल महाशाखाले गत आर्थिक वर्षमा तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। पुल निर्माणको मुख्य सिजनमै लकडाउन भएपछि अपेक्षित गतिमा काम हुन सकेन। गत आर्थिक वर्षमा २१० वटा पुल निर्माण सम्पन्न भयो। पुल निर्माणको मुख्य सिजनमै लकडाउन भएकाले लक्ष्यअनुसार काम गर्न नसकिएको हो। फागुनदेखि जेठसम्म खोलामा पानीको बहाव कम हुने हुँदा पुल निर्माणको लागि उपयुक्त सिजन मानिन्छ। सोही सिजनमा लकडाउन भएकाले पुल निर्माणमा अपेक्षित गति हासिल गर्न नसकेको हो। अघिल्लो आर्थिक वर्षमा दुई सय ४३ र आर्थिक वर्ष ०७४/ ७५ मा ८२ वटा पुल निर्माण भएका थिए। 

प्रकाशित: १४ वैशाख २०७८ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App