coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बामे सर्न थालेको पर्यटनमा कोरोनाको अर्को प्रहार

बामे सर्न लागेको पर्यटन क्षेत्र फेरि थलिने चिन्ता बढेको छ। कोरोनाको नयाँ लहर फैलिएसँगै चल्मलाउन थालेको पोखराको पर्यटन क्षेत्र सुस्ताउने पिरलोले व्यवसायी आत्तिएका छन्।  

कोरोनाको तीव्रता बढेसँगै नेपाल सराकारले ८ बजेभित्र व्यवसाय बन्द गर्न निर्देशन दिएको छ। यसले होटल तथा रेस्टुरेन्ट बढी प्रताडित हुन पुगेको व्यवसायी गुनासो गर्छन्। ‘बामे सर्दै गएको पर्यटनलाई कोरोनाले फेरि थला पार्ने चिन्ता छ।’ पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘त्यसमा पनि सरकारको निर्देशनले झनै प्रभावित बनाएको छ।’ होटल संघले राति ८ बजे नभई १० बजे बन्द गर्न निर्देशन दिनुपर्नेमा जोड दिए। उनले टाढाबाट आउने आन्तरिक पर्यटक आउँदा आउँदै ढिलो हुँदा पर्यटकलाई ढोका बन्द गर्नुपर्ने बध्यता रहने जिकिर गरे।  

सरकारी निर्देशन आधा लकडाउन नै भएको उनको तर्क छ। ‘शैक्षिक भ्रमण, मठ मन्दिरमा आउने तीर्थालु, भारतीय धार्मिक पर्यटकले चहलपहल बढाएको थियो। बामे सर्ने अवस्थामा थियौं,’ उनले भने, ‘नयाँ लहर देखापरेसँगै भएको आधा लकडाउनले गम्भीर असर पर्छ।’ चैत–वैशाखमा संस्थागत भ्रमण थिए। 

धार्मिक पर्यटक (आन्तरिक तथा भारतीय) मुक्तिनाथ पुगेका थिए। विहेवारीको समय पनि सुरु भएको छ। मिटिङ, सेमिनारले बिजनेस थियो। बिजनेसमा तुषारापात भएको छ। ‘व्यवसायमा सजगता अपनाई १० बजेसम्म खोल्न दिए हुन्थ्यो भन्ने आशय हो,’ उनको भनाइ छ। फागुन–चैतमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल थियो। भारतीय पर्यटकको आगमन राम्रै थियो। कोरोनाको संक्रमण पनि कम हुँदै गएको आभाष धेरैले गरेका थिए। खोप समेत लगाइसकिएकोले पर्यटनमा नयाँ आशाको किरण देखापरेको थियो। तर भारतमा कोरोना व्यापक रूपमा फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ। पर्यटन क्षेत्र अझ बढी प्रभावित भएको छ।  

वैशाखमा बुकिङ राम्रो थियो। तर भारतमा कोरोना डडेलो झैं फैलिएपछि लकडाउन गरिएको छ। त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर पर्यटन क्षेत्रमा छ। ‘आन्तरिक तथा भारतीय पर्यटकको मुभमेन्ट राम्रो थियो। नेपालमा कोरोनाको त्यस्तो महामारी थिएन। बोर्डर खुला थिए। आवातजावत सहज थियो,’ नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘भारतमा कोरोना व्यापक फैलिएपछि लकडाउन हुन पुग्यो। वैशाखमा भएका बुकिङ रद्द भए।’  

चैतमा कोरोना घट्दो क्रममा रहँदा नयाँ उत्साह थपिएको थियो। संक्रमणको मात्रा कम र बोर्डर खुकुलो हुँदा भारतीय पर्यटक नेपाल आएका थिए। धार्मिक दृष्टिकोणले पनि वैशाखको दोस्रो सातापछि घुम्ने योजना भारतीय पर्यटकले बनाएका थिए। ‘चैतमा उत्साह थियो। उत्साहित भएका थियौं। भारतबाट पर्यटक आउने क्रम बढ्दै थियो। तेस्रो मुलुकका पनि देखिएका थिए,’ पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सोम थापाले भने, ‘वैशाख सुरु भएसँगै भारतमा कोरोना महामारी देखिएपछि यता असर पर्‍यो।’ नेपालमा सहज भएकै कारण तेस्रो मुलुकका पदयात्रीहरू छन्। पर्वतारोहणको लागि माथितिर उक्लिएका छन्।  

प्रकाशित: १३ वैशाख २०७८ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App