७ वैशाख २०८१ शुक्रबार
अर्थ

दोस्रो कोरोना लहरले पूर्वाधार क्षेत्रमा फेरि संकट

कोभिड १९ को पहिलो लहरले अस्तव्यस्त पूर्वाधार क्षेत्र दोस्रो लहरको सुरुआतसँगै पूर्वाधार क्षेत्र फेरि प्रभावित हुन थालेको छ। कोभिडको दोस्रो लहरको सुरुआतसँगै पूर्वाधार क्षेत्रमा फेरि संकटको बादल देखापरेको हो। कोभिडको प्रभाव अन्य क्षेत्रमा जस्तै पूर्वाधार क्षेत्रमा पनि देखिन थालिसकेको छ। अहिले पूर्वाधार क्षेत्रमा विदेशी मुलुकबाट दक्ष जनशक्ति तथा परामर्शदाता आउने क्रम बन्द भइसकेको छ। भारत तथा बंगलादेशबाट सडक तथा पुल निर्माणको लागि आवश्यक पर्ने अदक्ष कामदार आउने क्रम रोकिएको छ।

कोभिड १९ को दोस्रो लहरको प्रभाव विस्तारै देखिन थालेको निर्माण व्यवसायी बताउँछन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोभिडको दोस्रो लहरको असर अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि देखा परिसकेको बताए। ‘कोरोनाको दोस्रो लहरको बाछिटा निर्माण क्षेत्रमा देखिसकेको छ,’ उनले भने, ‘जुनसुकै बेला लकडाउन हुने अवस्था भएकाले पूर्वाधार क्षेत्रमा समस्या देखिसकेको छ।’  

अध्यक्ष सिंहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य मापदण्ड अपनाई निर्माण कार्यहरू सञ्चालन गर्नुको विकल्प नभएको बताए। ‘कोरोनाको कारणले फेरि लकडाउन गर्ने हो भने निर्माण क्षेत्रका कामदार भोकभोकै मर्ने अवस्था सिर्जना हुनेछ। त्यसैले स्वास्थ्य मापदण्ड पूरा गरेर आयोजनाको कामलाई अगाडि बढाउनुको विकल्प छैन,’ उनले भने।  

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवकुमार नेपाल कोभिड १९ को दोस्रो लहरले पूर्वाधार क्षेत्रमा फेरि असर देखिन थालेको बताए। ‘कोभिडको दोस्रो लहरले निर्माणको मुख्य सिजनमा फेरि असर पार्न थालेको छ,’ उनले भने, ‘दोस्रो लहर सुरु भएसँगै एक ठाउँबाट अर्काेठाउँमा कामदार लैजान समस्या भइरहेको छ।’  

सडक विभाग मातहतमा १३ सय आयोजना र ६ सय पुल अहिले निर्माणाधीन अवस्थामा रहेका छन्। विभागका उपमहानिर्र्देशक नेपालले हिमाली र उच्च हिमाली जिल्लामा कामदार लैजान समस्या भइरहेको बताए। ‘अन्य स्थानबाट कर्णाली लगायतका क्षेत्रमा कामदार लैजान समस्या परिरहेको छ,’ उनले भने, ‘कतिपय स्थानीय तहले अनिवार्य रूपमा पिसिआर रिपोर्ट समेत खोज्ने गरेका छन्। त्यसैले पनि समस्या हुने गर्छ।’  

सडक विभागका अनुसार गत चैत मशान्तसम्म पूजीगत खर्च ३५ प्रतिशत मात्रै भएको छ।‘चैत मसान्तसम्म पुँजीगत खर्च ३५ प्रतिशत भइसकेको छ,’ उनले भने, ‘काम सकिए पनि ५ प्रतिशत भुक्तानी हुन सकेको छैन।’ कोभिडको दोस्रो लहर बढेको खण्डमा पुँजीगत खर्च भने अझै घट्नेछ। प्रवक्ता नेपालले वैशाख–जेठ पूर्वाधार निर्माणको मुख्य सिजनमा भारत तथा बगंलादेशबाट आवश्यक कर्मचारी समेत ल्याउन समस्या भइरहेको बताए। ‘कोभिडले यो सिजनमा असर पारेको खण्डमा अर्काे एक वर्ष पछि धेकेलिने अवस्था सिर्जना हुनेछ,’ उनले भने। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष कृष्ण आचार्य कोभिडको दोस्रो लहर सुरु भएसँगै कामदार आयोजनाको साइटमा जान हिच्किचाउन थालेको बताउँछन्।

‘छिमेकी भारतमा कोरोनाको दोस्रो लहरले आक्रान्त बनाइसकेको छ,’ उनले भने, ‘अहिले नेपालका आयोजनामा समेत कामदार लैजान समस्या भइरहेको छ।’ इप्पानका अनुसार अहिले तीन हजार मेगावाट क्षमताका एक सयभन्दा धेरै जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। कोरोनाको दोस्रो लहरको कारणले यी आयोजना पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन्। चालु आवमा चार सय मेगावाटको करिब २० वटा आयोजना निर्माण सम्पन्न भएका छन्। 

चालु आर्थिक वर्षमा सात सय मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। एक सय मेगावाट प्रसारण लाइनको अभावको कारणले जोडिन पाएका छैनन्। कोरोनाको दोस्रो लहर आएसँगै छिमेकी मुलुक भारत र चीनबाट आवश्यक कर्मचारी समेत ल्याउन सकिएको छैन। ‘कोभिडको कारणले आयोजनाको निर्माण कार्य कति प्रभावित हुने भन्ने अहिलेसम्म एकिन भएको छैन,’ उनले भने, ‘अहिले करिब २० प्रतिशत मजदुर मात्रै खटिएर काम भइरहेको छ।’ अहिले जलविद्युत् आयोजनामा प्रत्यक्ष/अप्रत्यक्ष गरी करिब ३० हजार जनाले रोजगारी पाएका छन्।

प्रकाशित: १० वैशाख २०७८ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App