८ वैशाख २०८१ शनिबार
अर्थ

अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता

खोटाङ यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले गत सोमबारदेखि आव्हान गरेको अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द बिहीबार फिर्ता गरेको हो ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्वाङले बिहिबार सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने घुर्मी–कटारी–मिरचैया सडक स्तरोन्नतीका लागि पर्याप्त बजेट व्यवस्था गर्दै बहुवर्षीय योजनाकारुपमा अघि बढाउने र आगामी दुई वर्षभित्र दुई लेनको कालोपत्रे सडक बनाउने प्रतिवद्धता जनाएसँगै यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता लिएको हो । सडक स्तरोन्नतीका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङबाट माग सम्बोधन भएसँगै दिक्तेलबाट धरान, बिराटनगर र बिर्तामोड आवत–जावत गर्ने सवारी साधन नियमित गराइएको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताए ।  

नेकपा एमालेका प्रमुख सचेतक एबं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रतिनिधिसभा सदस्य भेषकुमारी राउत, कांग्रेस नेता रामहरि खतिवडा, उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत, सिद्धिचरण राजमार्ग संघर्ष समिति सामु भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले घुर्मी–कटारी–मिरचैया सडकलाई दुई लेनको कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् । वार्ताकाक्रममा मन्त्री नेम्वाङले घुर्मी–कटारी सडक आयोजनालाई बहुवर्षीय ठेक्का लगाउन मिल्नेगरी बजेट व्यवस्था गर्ने र दुई वर्षभित्र डबल लेनको कालोपत्रे सडक बनाउने प्रतिवद्धता जनाएको नेकपा एमालेका प्रमुख सचेतक एबं प्रतिनिधिसभा सदस्य भट्टराईले जानकारी दिए । चालु आर्थिक वर्ष घुर्मी–कटारी–मिरचैया सडक मेन्टिनेन्सका लागि चालु आर्थिक वर्ष ३० करोड बजेट व्यवस्था गरेको जानकारी दिइएको छ ।  

मिरचैया–घुर्मी–कटारी सडक खण्डको ओटासिल पिच उक्किएपछि जिर्ण बनेको तथा सडक दुर्घट्नाका कारण जनधनको क्षति हुँदा पनि राज्यको ध्यान नपुगेको भन्दै यातायात प्रालिले अनिश्चितकालिन यातायात बन्द गरेको थियो । हाल जिर्ण अवस्थामा पुगेको मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग गर्दै खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु उद्योग बाणिज्य संघले चैत ३१ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्वाङ ज्ञापनपत्र बुझाएका थिए । तराईसँगको लिंक रोडकारुपमा रहेको सडक जिर्ण हुँदा यात्रा गर्नदेखि माथिल्लो सगरमाथा क्षेत्रमा उपभोग्यवस्तु ढुवानीमा सकस भइरहेकाले मिरचैया–कटारी–घुर्मी सडक स्तरोन्नतीको माग राखिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।  

घुर्मी–कटारी सडक सबैभन्दा जिर्ण  

माथिल्लो सगरमाथाका तीन जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग घुर्मी–कटारी (४६ किलोमिटर) सडक खण्ड सबैभन्दा जिर्ण बनेको छ । खोटाङको साविकको सदरमुकाम दिक्तेल, ओखलढुंगाको ओखलढुंगा र सोलुखुम्बुको फाप्लुलाई पूर्वी शहरसँग जोड्ने सो सडक जिर्ण हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । २०५८ सालदेखि सञ्चालनमा आएको घुमी–कटारी सडक जिर्ण हुँदा तीन जिल्लामा पूर्वी तराईबाट उपभोग्य सामान भित्र्याउन समेत उत्तिकै कठिनाइ भइरहेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राईले बताए । सञ्चालनमा आएको केही समयपछि गरिएको ओटासिल पिच उक्किएपछि हाल सो सडक कच्ची सडक सरह बन्न पुगेको छ । ठाउँ–ठाउँमा सडक भत्किँदा र खाल्डाखुल्डी हुँदा सवारी साधन दायाँ–वायाँ कोल्टिँदै गुड्ने गरेका छन् । हिउँदमा बुङबुङ धुलो उड्ने सो सडक वर्षामा हिलाम्मे हुँदा सवारी साधन भासिने र कतिपय उकालो बाटोमा उक्लिन नसक्ने समस्या छ । सबैभन्दा बढी समस्या गहुबारीदेखि घुर्मीसम्मको खण्डमा देखिएको छ ।  

घुर्मी–कटारी सडक कालोपत्रे गरिएको पाँच वर्ष नबित्दै पिच उक्किएर जिर्ण बनेको हो । हाल कतिपय ठाउँमा पिच गरिएको नाम निसानै देखिन्न । सडक पुनः मर्मत नहुँदा घुर्मी–कटारी सडक खण्डमा पटक–पटक दुर्घटना निम्तिने गरेको स्थानीयको गुनासो छ । साँघुरो र जीर्ण सडकमा जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको यातायात व्यवसायीको भनाइ छ । कच्ची बनेको सडकमा जम्काभेट भएका सवारी साधनले व्याक गर्दै फराकिलो ठाउँ खोजेर वारपार गर्ने गरेका छन् । बढीमा १० टन भार क्षमताको सवारी साधन सञ्चालन हुनुपर्ने सडकमा सोभन्दा बढी भार क्षमताको सवारी साधन गुडाउँदा चाँडो पिच उक्किएको अनुमान गरिएको छ ।  

दैनिक दर्जनौं एलपी ट्रकले घुर्मी–कटारी सडक हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा उपभोग्य सामग्री ढुवानी गर्ने गरेका छन् । सडकको दुरावस्थाका कारण पनि उपभोग्यवस्तुको मूल्यमा कमि आउन नसकेको व्यवसायी बताउँछन् । घुर्मी–कटारी सडक खोटाङ, ओखलढुंगा र सोलुखुम्बु र पूर्वी तराई जोड्ने एक मात्र सडक हो । घुर्मी–कटारी सडक जिर्ण हुँदाको अशर तीन जिल्लाका भौतिक विकास निर्माणमा समेत परिरहेको छ ।  

हलेसी आउने जाने यात्रु समेत मारमा  

घुर्मी–कटारी सडक जिर्ण हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने जाने यात्रु समेत मारमा परेका छन् । भुटान, भारतको विहार, दार्जिलिङ, सिक्किम लगायतका ठाउँबाट हलेसी आउने दर्शनार्थी तथा पर्यटक घुर्मी–कटारी सडकमा सास्ती बेहार्न वाध्य छन् । उनीहरु रिजर्भ गाडी लिएर पूर्वी तराई हुँदै हलेसी आउने गरेका छन् । तर, उदयपुरको कटारीबाट घुर्मीतर्फ लागेपछि तिर्थयात्री त्रासपुर्ण यात्रा गर्न वाध्य छन् । धेरैजसो सडक मार्ग प्रयोग गर्ने पर्यटक तथा दर्शनार्थी घुर्मी–कटारी सडककै कारण हलेसी आउन हिच्किचाउने गरेका छन् ।

प्रकाशित: ९ वैशाख २०७८ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App