१६ चैत्र २०८० शुक्रबार
अर्थ

पर्यटन व्यवसायी भन्छन् : सरकारको निर्देशनले अर्ध लकडाउन भयो

फाइल तस्बिर

कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् । बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै चलमलाउन थालेको पोखराको पर्यटन क्षेत्र पुनः सुस्ताउने पिरलोमा आफूहरु रहेको बताउँदै सो निर्देशनलाई परिमार्जन गर्नुपर्ने समेत बताए ।

कोरोनाको दाेस्राे लहर आएपछि  नेपाल सराकारले बेलुका ८ बजे भित्रमा होटल तथा रेस्टुराँ बन्द गर्न गरेको निर्देशनले व्यवसायीहरु बढी प्रताडित हुन पुगेको गुनासो गरेका छन् । ‘बामे सर्दै गएको पर्यटनलाई कोरोनाले फेरि थलाउने भो,’ पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘त्यसमा पनि सरकारको निर्देशनले झनै प्रभावित बनाएको छ ।’

उनले राती ८ बजे नभई १० बजे होटल बन्द गर्ने वातावरण बनाउनुपर्ने बताउँदै दुई घन्टाको समय बढाउँदा टाढाबाट आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने उल्लेख गरे । ‘शैक्षिक भ्रमण, मठ मन्दिरमा आउने तिर्थालु, भारतीय धार्मिक पर्यटकले पर्यटनमा चहलपहल थियो । बामे सर्ने अवस्थामा थियौं,’ उनले भने, ‘नयाँ भेरियन्ट देखापरेसँगै भएको अर्ध लकडाउनले पर्यटनमा गम्भीर असर पर्छ ।’  

संस्थागत भ्रमण, धार्मिक पर्यटन, विहेवारी, मिटिङ सेमिनारको काम पहिल्यै निधो भइसकेको अवस्थामा सरकारको निर्देशनले विजनेसमा तुषारात लागेको उनले बताए । ‘व्यवसायीलाई सचेत र सजगता अपनाई  १० बजेसम्म खोल्न दिए हुन्थ्यो भन्ने आशय हो ।’ उनले भने ।

उनका अनुसार खोप समेत लगाइ सकिएकोले पर्यटनमा नयाँ आशा देखा परेको थियो । तर भारतमा कोरोना व्यापक रुपमा फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिँदा पर्यटन क्षेत्र अझ बढी प्रभावित भएको छ ।

प्रकाशित: ८ वैशाख २०७८ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App