खोटाङ यातायात प्रालिले घुर्मी–कटारी–मिरचैया सडकमा अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको छ। सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै कम्पनीले सोमबारदेखि सो खण्डमा अनिश्चित कालका लागि सवारी साधन आवतजावत बन्द गराएको हो।
सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने मिरचैया–घुर्मी–कटारी सडक खण्डको ओटासिल पिच उप्किएपछि जीर्ण बनेको सडकमा दुर्घटनाका कारण जनधनको क्षति हुँदा पनि राज्यको ध्यान नपुगेको भन्दै प्रालिले यातायात बन्द गरेर ध्यानाकर्षण गराउनुपरेको जनाएको छ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मिरचैया–घुर्मी–कटारी सडक सडक विस्तार एवं कालोपत्रेका लागि बजेटको सुनिश्चितता नभएसम्मका लागि एम्बुलेन्स बाहेकका यातायातका साधन बन्द गरिएको प्रालिका अध्यक्ष टेकेन्द्र राईले बताए।
प्रकाशित: ८ वैशाख २०७८ ०३:४१ बुधबार