१६ चैत्र २०८० शुक्रबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिष्य विमानस्थल: बाहिरी तयारी शून्य अवस्थामा

उडान

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्न दिइएको अन्तिम समय आगामी जुलाई १० हो। कोरोना भाइरस संक्रमणसहितका केही समस्याले थप ६ महिना विमानस्थल सञ्चालनमा आउनसक्ने अवस्था छैन। तर, कुनै पनि हालतमा २०२२ को सुरुवातमै विमानस्थल सञ्चालनमा ल्याउने तयारी आयोजनाको छ। आयोजनाको आन्तरिक तयारीसँगै बीचमा कुनै अप्ठेरो नआएमा अबको बढीमा एक वर्षमा विमानस्थल सञ्चालनमा आउनेछ।  

विमानस्थल सञ्चालनमा आउने दिन नजिकिँदै त गएको छ तर त्यही विमानथलसम्म पुग्ने सहज पहुँचसहितको पूर्वाधारको भने अहिलेसम्म अत्तोपत्तो छैन। यतीसम्मकी विमानस्थलसम्म सहज पहुँचका लागि चाहिने फास्ट ट्रयाक, पुलपुलेसा सहितका पूर्वाधार बनाउने कामको थालनीसमेत सुरु भएको छैन। विमानस्थल नजिकैको ल्यान्डफिल साइट हटाउने चटारो पनि देखिएको छैन। उडान र अवतरणलाई सुरक्षित र सहज बनाउन लेखनाथस्थित रिट्टेपानीको डाँडा कटान हुनुपर्छ। त्यसका लागि बल्ल मन्त्रिपरिषद्बाट डाँडाका रुख कटानको स्वीकृति पाइएको छ। तर, कटान नै अझै सुरु भइएसकेको छैन । डाँडा कटान गर्न मात्र कम्तीमा ६ महिना लाग्छ। वर्षायाममा ढलको पानीको डुवानमा पर्ने विमानस्थल क्षेत्र डुबानबाट जोगाउने उपायबारे पनि अहिलेसम्म कसैले सोचेको देखिन्न। किनकि ती कुनै पनि काम सुरु भएका छैनन्।

विमानस्थलसम्म पुग्ने पहुँच निर्माणमा सबैभन्दा बढी ढिलाइ भइरहँदा विमानस्थल सञ्चालनमा आएपनि हवाई यात्राका यात्रुले आउजाउमै सास्ती खेप्नुपर्ने हो की भन्ने चिन्ता पलाएको पोखरेलीले बताएका छन्। अहिलेकै अवस्थामा विमानस्थल सञ्चालनमा आएको खण्डमा यात्रुको पहुँचमा सकस हुने उनीहरूको भनाइ छ। पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडदेखि ६ किलोमिटर दुरीमा पर्छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। अहिले विमानस्थल पुग्नका लागि पृथ्वीचोक, अमरसिंह हुँदै पुग्नुपर्छ। पृथ्वीचोक, अमरसिंह पृथ्वीराजमार्गकै खण्डमा पर्छन्। पछिल्लो समय सवारी चाप बढ्दै जाँदा पृथ्वीचोक बढी व्यस्त बन्दै गएको छ।  

पृथ्वीचोकलाई सेतीपारि जोड्ने एकमात्र चल्तीको पुल (चाइना पुल) पनि सवारी चापले साँघुरो बन्दै गएको छ। यतिसम्म कि राजमार्गमा सवारी चाँप हुँदा आउजाउमै सास्ती हुने गरेको छ। अहिलेसम्म पोखरा भित्रिने र पोखरा हुँदै स्याङजा, बागलुङसम्म पुग्ने सवारी पनि त्यही बाटो हुँदै आउजाउ गर्छन् । पोखराबाट पृथ्वीराजमार्ग हुँदै राजधानी र पूर्वी तथा पश्चिम नेपालसम्मका सवारीको मूल सडक पनि त्यही नै हो। त्यसले गर्दा पनि सडक बढी व्यस्त हुन थालेको छ।  

विमानस्थलसम्म पुग्ने विकल्पमा केही सडक र पुल भएपनि तिनको प्रयोग कमै मात्र हुने गरेको छ। पोखराको मुख्य सहरलाई सेती पारिपट्टि जोड्नका लागि पृथ्वीचोकको पुल बाहेक महेन्द्रपुल, नदीपुरको नारायणथानस्थित पुल, चोरसाँघुको पुल भए पनि पृथ्वीचोक र महेन्द्र पुलबाहेक अन्यत्रबाट आउजाउ कम हुन्छ। कतिपय पुल त पोखरेलीले मात्र आन्तरिक रुपमा प्रयोग गर्दै आएका छन्। बाहिरबाट पोखरा भित्रिने र बाहिरिनेलाई ती पुल र बाटोबारे जानकारी पनि छैन।  

‘पोखरा निकै नै साँघुरो भइसकेको छ। अब पनि पहुँच विस्तारमा ढिलाई गर्ने हो भने विमानस्थल सञ्चालनमा आए पनि अर्थ राख्दैन, किनकि अहिले नै लेकसाइडबाट विमानस्थल पुग्न करिब आधा घण्टा लाग्न थालिसकेको छ,’ पश्चिमञ्चल होटल संघका सह–कोषाध्यक्ष समेत रहेका माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘कुनै विशेष अप्ठेरो आइनपर्ने हो भने अबको ८–९ महिनापछि विमानस्थल सञ्चालनमा आउनेछ तर, अहिलेसम्म विमानस्थलसम्मको पहुँच साह्रै साँघुरो छ।’

मूल राजमार्ग (पृथ्वी) हुँदै अहिले अधिक आउजाउ हुँदा सवारीको भीडले तोकिएको समयमा विमानस्थलसम्म आउजाउ गर्न कठिन हुने उनले बताए। ‘पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारलगायत निकायलाई हामीले विमानस्थलसम्मको कमजोर पहुँचको अवस्थाबारे जानकारी गराइरहेका छौं,’ भट्टराईले भने, ‘लामो दूरीका सवारी, स्थानीय सवारी, विद्यार्थी बोकेका बस, मालबाहक गह्रौ ट्रक सहित सानातिना सवारीले सेती वारपार गर्न एउटै मार्ग प्रयोग गर्नुपर्दा निकै नै साँघुरो हुने गरेको छ।’  

यतिसम्म कि विद्यालय र कार्यालय समयमा त बाटोमा निकै नै सवारी चाप हुने गर्छ । त्यसले गर्दा राजमार्गको आउजाउमा सहज नभएको उनले बताए। ‘व्यस्त सडक पार गरेर विमानस्थल आउजाउ गर्नुपर्दा तोकिएको समयमा पार हुने अवस्था हुँदैन। त्यसले यात्रुको बढी समय खपत हुनेछ,’ उनले भने, ‘विमानस्थलमै आउजाउमा घन्टौं लाग्ने अवस्था रहेमा त्यसले पर्यटन प्रवद्र्धनमा सघाउँदैन।’

पोखरा–मुग्लिन ९० किलोमिटर सडक हो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा विस्तारको तयारी छ। राजमार्ग विस्तारका लागि हालै मात्र टेण्डर पनि भईसकेको छ। अबको केही वर्षमा यो राजमार्ग अहिले भन्दा केही फराकिलो हुनेछ। गण्डकी प्रदेश सरकारले भने पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिष्य विमानस्थल निर्माण सकिनै लागेकाले राजमार्ग विस्तारको काम पनि पोखरातिरबाटै सुरु भइदिए हुन्थ्यो भन्ने चाहना राखेको छ। पोखरापट्टिबाट राजमार्ग विस्तार सुरु भएमा विमानस्थलसम्मको पहुँच छिटो टुंगिने अपेक्षा प्रदेश सरकारको छ ।  

आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको रनवे, ट्याक्सीवे, एप्रोन, ह्याङ्गरलगायत पूर्वाधार निर्माण भईसकेका छन् । त्यसबाहेक धावनमार्गको मार्किङ पनि भइसकेको छ। विमानस्थल घेर्ने फेन्सिङ (बार)को काम सुरु भएको छ । त्यस्तै टर्मिनल सहित सबै १४ वटै भवन निर्माण सकिएर अहिले आन्तरिक डेकोरेसनको काम भइरहेको छ। ती भवनमा उपकरण जडानको काम भइरहेको छ। कतिपय उपकरण भने अझै आइपुगेका छैनन् । आयोजनाका पदाधिकारीका अनुसार ७३ प्रतिशत भौतिक प्रगति विमानस्थलले गरिसकेको छ। तर, त्यही विमानस्थल सञ्चालनलाई सहज बनाउने बाहिरी पूर्वाधार निर्माणको भने अझै सुरसार छैन।

विमानस्थल सहज सञ्चालनमा आउन विमानस्थलको भौतिक पूर्वाधारको तयारीले मात्र पुग्दैन। आन्तरिक रुपमा हुनुपर्ने केही काम बाँकी नै छन् । कोरोनाका कहरबीच पनि विमानस्थल बन्ने कामले निरन्तरता पाएको भए पनि कतिपय बाह्य रुपमा हुनुपर्ने काममा भने ढिलाइ भए। जसले गर्दा समयमै विमानस्थल तयार भए पनि सञ्चालनका जटिलता हटिसकेका छैनन् । विमानस्थल नजिकै रहेको ल्यान्डफिलसाइट सार्न बाँकी नै छ। ल्यान्डफिलसाइटका कारण विमानस्थल क्षेत्रमा चराको बथान आउने गरेका छन्। त्यसैले चराको जोखिमबाट जोगाउन पनि ल्यान्डफिलसाइट सार्नुपर्छ। पोखरा महानगरपालिकाले ल्यान्डफिलसाइट सार्न उत्तिसारो हतारो गरेको नदेखिँदा विमानस्थल तयार भएपनि सुचारु हुन थप समय लाग्ने अनुमान नागरिक आयोजनाका पदाधिकारीको छ।  

त्यस्तै विमानस्थलको धावनमार्ग नै डुबाउने गरी वर्षामा पस्ने ढल व्यवस्थापनको काम पनि भएको छैन। विमानस्थल बाहिरबाट पसेको भेलले वर्षायाममा विमानस्थल र धावनमार्ग क्षेत्र नै डुबाउने गरेको छ। जहाजको उडान र अवतरणलाई सुरक्षित बनाउन लेखनाथको रिट्टेपानीको डाँडाको ४० मिटर उचाइ काट्नपर्छ। डाँडाको कटान गर्न मात्र कम्तीमा ६ महिना लाग्छ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल भन्छन्, ‘विमानस्थल बन्नै थालिसकेको छ। तर, त्यही विमानस्थलसम्म पहुँचको अझै सहजता छैन। अब राजमार्ग पनि विस्तार हुँदैछ । हाम्रो चाहना राजमार्ग विस्तारको काम पोखरातिरबाटै सुरु होस भन्ने छ।’ विमानस्थलसम्म पुग्ने पहुँच मात्र नभई विमानस्थल क्षेत्रको सौन्दर्यीकरणमा पनि ढिलाई भइरहेको उनले बताए।

‘विमानस्थलसम्म पुग्ने पूर्वाधार बनाउन ढिला भएको हो। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी सहितको टिमले पहुँचलाई कसरी सहज बनाउने भन्नेमा छलफलमा जुटिसकेका छौं,’ लम्सालले भने, ‘पहुँच मात्र नभई पोखराको फोहरमैला व्यवस्थापन, विमानस्थल बहिरको सौन्दर्यीकरण पनि महत्वपूर्ण छ। ती सबै पूर्वाधार आवश्यक छन्।’ पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडदेखि विमानस्थलसम्म ६ लेनको सडक विस्तार, विमानस्थल बाहिर सौन्दर्यीकरण गर्ने काममा प्रदेश सरकारको चासो रहेको उनले बताए।  

‘अहिले पनि सामान्य पर्यटकका लागि समस्या छैन । तर, खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक भित्र्याउनका लागि पनि सकारात्मक सन्देश दिनेगरि हामीले पूर्वाधार बनाउन ध्यान दिनुपर्छ,’ लम्सालले भने, ‘विमानस्थल सञ्चालनमा आएर उडान सुरु हुँदाका दिन पोखरामा भित्रिने पर्यटकका लागि पहुँचमा सुधारको आवश्यकता छ।’ त्यसबाहेक एसियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन सडक बनाउँदै गर्दा त्यही काम मुग्लिनतिरबाट नभई पोखरातिरबाट सुरु गरौं भन्ने चाहेको लम्सालले बताए ।  

पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी पनि निर्माणाधीन विमानस्थल अन्तिम चरणमा पुगेको र उडान सुरु हुँदाका दिनसम्म नयाँ पूर्वाधार तयार नभए आउजाउमा सकस हुनेबारे जानकार छन्। तर, बाहिर सोचेजस्तो तत्कालै नयाँ पूर्वाधार तयार भइहाल्नेमा भने उनी विश्वस्त छैनन् । मेयर जिसी भन्छन्, ‘मुख्य पर्यटकीय क्षेत्र लेकसाइडलाई विमानस्थलसम्म फास्टट्र्याकबाट जोड्ने प्रयास छ । तर, बाहिर सोचे जति सहज छैन। किनकि विकल्पमा तत्काल सहज मार्ग तयार हुने अवस्था छैन।’  

उनले पनि अहिले पृथ्वीचोकबाट अघि बढ्न सहज नभएको बताउँछन् । महानगरले विमास्थलसम्म पुग्नका लागि फास्ट ट्र्याकबारे सोचिरहेको उनले बताए । ‘चोरसाँँघुबाट पेन्सनक्याम्प हुँदै विमानस्थल जाँदा पनि छिटो हुन सक्छ । तर, त्यो पनि उत्ति सहज छैन । त्यसैले महानगरले उपाय खोजिरहेको छ,’ जिसीले भने, ‘पृथ्वीचोकमा अर्काे ठुलो पुल बनेपनि त्यो फास्ट ट्र्याक नहुन सक्छ, किनकि यहाँ अरु पनि आउजाउ गर्छन्। सबैखाले सवारीले पृथ्वीचोकको पुल प्रयोग गर्दा आउजाउ सहज हुने अवस्था रहन्न । त्यसैले विमानस्थल आउजाउ गर्नेले कतै रोकिन नपरोस् भन्ने हामीले चाहेका छौं । त्यसैले महानगरले विमानस्थलसम्म पुग्नेगरी फास्ट ट्र्याक निकालेरै छाड्छ।’

उनका अनुसार अहिले नै फास्टट्र्याक आवश्यक पनि छैन। किनकि सेती वारपार गर्ने थुप्रै विकल्पमा पुल बनिसकेका छन् । तर भइरहेका ती भइरहेका सडक र पुललाई विमानस्थलसम्म कनेक्टिङ गर्न मात्र ढिलाई भएको हो। ‘पूर्वाधार बनाउनै ढिलाई भएको होइन। नयाँ ट्र्याक खोल्न पनि सहज छैन। भएका सडकलाई मात्र कनेक्टिङ गर्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले अहिले भएका सडकलाई जै कसरी विमानस्थलसम्म कनेक्टिङ गर्दै जानुको विकल्पै छैन। विजयपुर पुलपारि फास्ट ट्रयाक विस्तारमा सहज नभएपनि पृथ्वीचोक क्षेत्रमा उत्ति सहज र्हा न।’ उनका अनुसार सेतीले छुट्याएको वारि र पारि पोखरा जोड्ने कतिपय ठाउँमा पुल त बनेका छन्। तर, ती पुलबाट तीव्रगतिमा विमानस्थलसम्म आउजाउ सहज छैन। ‘बोटल नेक’ जस्तो अवस्था छ, सुरुमा फराकिलो, अनि साँघुरो,’ जिसीले भने, ‘साँघुरो भएको ठाउँका घर हटाएर फराकिलो बनाउने भन्नु उत्ति सहज होइन।’

मेयर जिसीका अनुसार विमानस्थल नजिकैको ल्यान्डफिलसाइट हटाउनका लागि नयाँ ठाउँको खोजी गरिरहेको छ। फोहोर व्यवस्थापनका लागि महानगरले जग्गा खोजिरहेको र ल्यान्डफिल साइटका कारण उडानमा अवरोध आउन नदिने गरी महानगरले योजना बनाएको मेयर जिसी बताउँछन्। ‘ल्यान्डफिसाइटका लागि चिन्ता लिइरहनु पर्दैन,’ उनले भने। ढल र पानीको निकासका लागि भने सिँचाइ, सडकलगायत सबै निकाय मिलेर काम गर्नुपर्ने उनले बताए। ल्यान्डफिलसाइटका लागि २/३ ठाउँ जग्गा हेरेको उनले जानकारी दिए। तर ती ठाउँ किटान भइसकेका छैनन्।  

‘अब ल्यान्डफिल साइट होइन, ल्यान्डफिल पार्क बनाउनुपर्छ भन्ने हो। ल्यान्डफिल पार्क भनेको फोहोर थुप्राउने र पुर्ने मात्र होइन, रिसाइक्लिङ गर्नुपर्छ भन्ने हो,’ मेयर जिसी भन्छन्, ‘पोखराको फोहोरमध्ये ६० देखि ७० प्रतिशतलाई ल्यान्डफिल साइटमै लैजानुपर्दैन । त्यसलाई छुट्याएर बहुउपयोगी काममा उपयोग गर्न सकिन्छ।’ भोलि नै विमानस्थल सञ्चालनमा आउँछ भने पनि महानगरको कारणले वा फोहोर नहटाएको कारणले विमान आउन पाएन भन्ने ठाउँमा पुग्न नदिने उनले बताए।

प्रकाशित: ८ वैशाख २०७८ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App